नेपाली पत्रकारितामा सुरथको एक्का


नेपाली छापा पत्रकारिताको सुपरिचित अनुहार राम प्रधानले ७३ वर्षको उमेरमा चीर विश्राम लिएका छन् । साथी सहकर्मीहरूका माझ अजातशत्रुझैँ प्रिय प्रधान अंग्रेजी भाषामा पत्रकारिता गर्ने उत्साही युवायुवतीका लागि दशकको सीमासम्म आदरणीय राम सर थिए भने हामीजस्ता उनीसँग काम गर्ने मौका पाइसकेकाहरूका लागि हँसिलो, रसिलो र सदैव सकारात्मक बाटो देखाइरहने अग्रज रामदाइ । वैचारिक र लेखनीको स्तरको निरन्तरतालाई भंग हुन नदिई उनले ३५ वर्षभन्दा बढी समय नेपाली पत्रकारिता क्षेत्रमा काम गरेका थिए, जसले उनलाई त्यस चुनौतीपूर्ण पेसामा लागेको कुनै पनि नेपालीभन्दा ‘ठूलो’ बनाइदिएको थियो । नेपालको अंग्रेजी भाषाको पत्रकारितामा राम प्रधान सुरथको एक्का नै थिए ।
रामनारायण प्रधानको एउटा सफल सञ्चारकर्मीको अवतारको यो यात्रा सुगम भने पटक्कै थिएन । उनका पिताजी नेपालको पहाडी इलाकाको एउटा गरिब नेवारका छोरा थिए र काम र मामको खोजीमा मुग्लान भासिएका थिए । उनका छोरा राम उच्च शिक्षा हासिल गरेर अंग्रेजी भाषामा साधिकार लेख्न सक्ने भई पितृभूमि फर्कंदा लगभग अनेपाली भइसकेका थिए । उनले आफ्नो पहिचान बनाउन जीवनभर गर्नुपरेको संघर्षको त्यो पहिलो खुड्किलो थियो । उनले छिट्टै नागरिकता प्रमाणपत्र त पाए तर सरकारी समाचार एजेन्सी राससमा काम गर्न थालेको धेरै वर्षसम्म पनि उनी सहकर्मीहरूको नजरमा ‘प्रवासी’ नै थिए । तर, आफ्नो विलक्षण मेधा, व्यावसायिक सोच, उदार जीवनदृष्टि र सहकर्मीहरूप्रतिको सकारात्मक दृष्टिकोणका बलमा रामनारायण प्रधान खाँटी काठमाण्डूवासी भए केही वर्षभित्रै । उनलाई दार्जिलिंगे ठान्नेहरू आफैँ लज्जित हुन पुगे ।
राम प्रधानको एउटा मात्र पहिचान थियो–पत्रकारको । उनी मनसा, वचसा र कर्मणा पत्रकार थिए, त्यसबाहेक अरू केही पनि होइन । उनका कतिपय सहकर्मी र साथीहरू पत्रकारितालाई त्यतिबेलाको एकमात्र शक्तिकेन्द्र नारायणहिटी राजदरबारसम्म पहुँच पुर्‍याउने छोटो बाटोका रूपमा प्रयोग गर्न खोज्दथे र कतिजनाले त्यसमा सफलता पनि हासिल गरे । तर, राम प्रधानका लागि पत्रकारितालाई कुनै व्यक्ति वा संस्थासम्म चाकरी पुर्‍याउने माध्यम बनाउने कुरा मान्य थिएन । उनको पेसागत निष्ठाको शपथ खान सकिन्थ्यो ।
राम प्रधानको पत्रकारिताको लेखन र सम्पादनको कौशल अद्वितीय थियो । राससमा धेरै वर्ष सँगै काम गरेका अर्का वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्देलका दृष्टिमा प्रधान सरल तर कस्सिएको भाषामा विचार वा समाचार जेलाई पनि सहज सम्प्रेषणीय बनाएर प्रस्तुत गर्न सक्दथे । सत्यतथ्यप्रतिको उनको निष्ठा अप्रतिम थियो र पत्रकारिता पेसामा उनको निरन्तरता अद्भुत । मानिसहरू पत्रकारिताजस्तो दु:खी तर कम कमाउने पेसाबाट छिट्टै अघाउँछन् र बढी लाभदायक इलाकातिर घुस्न चाहन्छन् । तर, राम प्रधानको जिन्दगीको धागो फगत यसै क्षेत्रसँग जोडिएको थियो ।
दिवंगत प्रधान खुबै सक्षम टोली नेता पनि थिए । सहकर्मीहरूलाई अझ बढी राम्रो लेख्न प्रेरणा दिनु, उनीहरूको विश्वास जित्नु र पत्रकारिता क्षेत्रमा त्याज्य हुने कुराबाट उनीहरूलाई टाढै राख्न सक्नु उनको नेतृत्व क्षमताका विशेषता थिए । प्रधान नेराघेरामा देखापरेका प्रतिभाहरूको पहिचान गर्न र तिनलाई आफ्नो साथमा राख्न पनि खप्पिस थिए । दी इन्डेपेन्डेन्टको सम्पादक हुँदा उनले मौका दिएका सीके लाल, अच्युत वाग्ले, सगुन लावती, रम्यता लिम्बू, रमा पराजुली आदि अहिले सञ्चार क्षेत्रमा नामी भइसकेका छन् । प्रधान आफूले सम्पादन गरेको पत्रिकालाई एउटा खुला तर मौलिक आदर्शबाट विरत नभएको माध्यमका रूपमा प्रतिष्ठापित भएको देख्न चाहन्थे । त्यसैले उनले दी इन्डेपेन्डेन्ट र पछि गएर दी हिमालयन टाइम्सको अभिमत पृष्ठ र अन्य विचार स्तम्भहरूमा सबै प्रकारका मानिसलाई ठाउँँ दिने गरेका थिए ।
सधैँ सफासुग्घर र फेसनदार पहिरनमा ठाँटिएर कार्यालय आउने राम प्रधान कुनै अभिजातवर्गीय मानिसजस्तै देखिन्थे । तर, उनमा कुनै प्रकारको ठस्सा, अहंकार र पाखण्डको लेस मात्र पनि हुँदैनथ्यो । छिट्टै रिसाउँथे तर एकैछिनमा शान्त पनि भइहाल्दथे र त्यस दिन तयार गर्नुपर्ने सामग्रीका बारेमा छलफल गर्न सुरु गर्दथे । प्रधानले आफूलाई सर्वज्ञजस्तो देखाउने चेष्टा गरेको कहिल्यै अनुभव गर्नुपरेन । धेरैजसो राज्यनियन्त्रित माध्यममा काम गरेको र नेपाली राजनीतिकर्मीहरूका बारेमा भित्री कुरा जान्ने मौका नपाएका उनी कहिलेकाहीँ नेपाली कम्युनिस्टहरूका अनगिन्ती घटक र उपघटकका बारेमा छेउटुप्पो पत्ता नलागेर विचलितझैँ हुन्थे र मसँग भन्थे, ‘अहिले सक्रिय भएका सबै कम्युनिस्ट पार्टीको सहीसही नाम र नेताको विवरण ल्याइदिनुभो भने म तपाईंलाई घर–ए–कबाबमा लगेर स्कच ख्वाउँछु ।’ नभन्दै मैले उनको चुनौती स्वीकारेको थिएँ र लोककृष्ण भट्टराई र बोर्णबहादुर कार्कीको सहयोगमा नेपालमा कम्युनिस्ट पार्टीहरूको पञ्जिका बनाएर उनलाई दिएको थिएँ । अपशोच † रामदाइसँग घर–ए–कबाबमा जाने अवसर भने कहिल्यै जुरेन ।
राम प्रधान भित्र र बाहिर दुवैतिरबाट हेर्दा सम्भ्रान्त पुरुष थिए, जसको स्वभावमा क्षुद्रतालाई कुनै ठाउँ थिएन । मुलुकका अब्बल दर्जाका व्यावसायिक रूपले दक्ष मानिससँग उनको संगत थियो । डा. हर्क गुरुङ, नरेन्द्रराज पाण्डे, निर्मल लामा, उदय गुरुङ, बरुण शमशेर, विनोद चौधरी, रिन्चेन योञ्जन, हेमन्तराज मिश्र, डा. भेषबहादुर थापा आदि उनको समाचार संकलनका स्थायी स्रोत थिए । काठमाडौंका विदेशी नियोगहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूमा पनि उनको सहज पहुँच थियो । वसन्त चौधरीले निकालेको अंग्रेजी साप्ताहिक दी इन्डेपेन्डेन्टको मुख्य ध्येय पनि सम्भवत: त्यो औद्योगिक घरानाको जनसम्पर्क मजबुत बनाउनु नै थियो । तर, मनोरञ्जन जोशीको टिम हटेर राम प्रधानले पत्रिकाको कमान सम्हालेपछि त्यो पत्रिका आफ्नो समयको एक मात्र गम्भीर राजनीतिक आर्थिक अन्तर्दृष्टि भएको अंग्रेजी साप्ताहिक बन्न पुगेको थियो ।
राम प्रधानसँग दी इन्डेपेन्डेन्टमा प्रत्यक्ष रूपले र अन्नपूर्ण पोस्टमा अलि टाढा रहेर केही समय काम गर्न पाएकामा म अहिले पनि गर्वको अनुभूति गर्दछु । आप्का गृहले गोविन्दप्रसाद प्रधानसँग अन्नपूर्ण पोस्ट किनेर नेपाली भाषामा अर्को ब्रोडसिट दैनिक पत्रको प्रकाशन सुरु गर्न थाल्ने क्रममा राम प्रधानकै सल्लाहमा त्यो प्रकाशन गृहले मलाई न्युजपुल सम्पादक भन्ने पदवी दिएर सेवामा लिएको थियो । प्रधानको त्यो सल्लाह हामी दुवैथरीका लागि फाइदाको विषय बन्यो । अन्नपूर्ण पोस्टले मेरो माध्यमबाट पत्रिका चलाउन आवश्यक जनशक्तिको अधिकांश भाग जुटाउन सफलता पायो भने मैले एउटा नयाँ छापा माध्यमलाई दह्रोसँग खुट्टा टेकाउने प्रक्रियामा योगदान गर्न सकेको सन्तुष्टि पाएँ ।
प्रतिभाशाली र निष्ठावान् पत्रकार राम प्रधानको पारिवारिक जीवन भने चरम निराशाजनक रह्यो । पहिली पत्नीको देहान्त, छोरामा उत्पन्न गम्भीर मनोविकार र छोरीलाई भएको क्यान्सरजस्तो असाध्य रोगले प्रधान दु:खै–दु:खको बोझमुनि दबिएका व्यक्ति थिए । तर, थिए उनी लगभग स्थितप्रज्ञ । घरको पीर बोकेर उनी अड्डा आएको भान उनका सहकर्मीहरूलाई कहिल्यै भएन । उनी साँचो अर्थमा कर्मवीर थिए । अव्यावसायिक टापटिपेहरूको जगजगी बढ्दै गएको बेलामा राम प्रधानजस्तो आस्था र निष्ठाको प्रतिमूर्तिको अवसान हुनु नेपाली समाज थप कंगाल हुनु पनि हो ।
(साहित्यकार अधिकारीको भर्खरै प्रकाशित निबन्धसंग्रह ‘६० वर्षपछि’ बाट  । निबन्धसंग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।)

प्रतिक्रिया