स्मृतिभरि द्वन्द्वका तीतामीठा

किशोरावस्थामा छँदा मूलधारको राजनीतिमा लागौँला, मुलुकको चल्तापुर्जा नेता बनुँला भन्ने छेकछन्दै रहेनछ हरिबोल गजुरेललाई । तर, २२ वर्षे युवा जोसमा पुग्दा भने एकाएक उनको यात्राले राजनीतिको लहरो समातिसकेको थियो, कम्युनिस्ट पार्टीको सदस्यका रूपमा । अहिले एनेकपा (माओवादी) मा पोलिटब्युरो सदस्य छन् । ‘समय र संघर्षले यो अवस्थामा ल्याइपुर्‍याएछ,’ उनले यात्राको जोडघटाउ गरे । एकाएक केले प्रेरित गर्‍यो त उनलाई राजनीतिमा लाग्न ? ‘बाल्यकालमा देखेका विभेदकारी व्यवहार ।’ सिन्धुलीको मध्यमवर्गीय परिवारमा हुर्कंदा वरिपरि थुप्रै श्रमजीवी देखेछन्, जो गरिबी र अभावसँग पौँठेजोरी खेल्दै तरर पसिना चुहाउँदा पनि जीविका धान्नै तड्पिइरहनुपर्ने अवस्थामा थिए । हाँसो र पीडा हुनेखाने परिवारको मात्रै ‘पेवा’ जस्तो थियो । श्रमजीवीको त्यही पीडा उनको हृदयमा गढेछ । सोचेछन्– ‘यिनीहरूलाई यो अवस्थाबाट मुक्त गराउन पाए †’ यही मेसोमा पाइला चाल्दै गर्दा राजनीतितिर पुगेका रहेछन् । परिवारका सबै जना वामपन्थी विचारप्रति झुकाब राख्ने भएकाले ‘जनताको मुक्तिकामी’ उनको हृदय पनि त्यतैतिर तानिएछ आफसे आफ ।
कलेजको युवा जोसमा छँदा पाठयक्रमका किताबमा मात्रै केन्द्रित रहेनन् उनी । अरू पनि थुप्रै कुरा पढ्नुपर्छ भन्ने थियो । यही मेसोमा गान्धीको विचारले गतिलैसँग डेरा जमाएछ उनीभित्र । अन्य ज्ञानविज्ञान र दर्शनका किताबमा पनि घोटिन्थे रे † त्यो अध्ययनले उनलाई निष्कर्षमा पुर्‍याएछ– समाजवादले मात्र सर्वहाराको जीवन परिवर्तन सम्भव छ । त्यसपछि त के थियो, कम्युनिस्ट किताबहरूको रटानमा तीव्रता आइहाल्यो । खाजाको पैसाले त्यस्तै किताब किनेर भोक मेट्न थाले । यसबीच उनलाई सहिद आजाद (ऋषि देवकोटा) को त्याग, समर्पण र बलिदानी भावनाले गहिरो छाप पारिदिएछ । उनी आफ्नो आदर्श तिनै आजादलाई मान्दा रहेछन् ।
‘जनताको मुक्ति’ का लागि भन्दै माओवादी पार्टीको दसवर्षे सशस्त्र द्वन्द्वमा सक्रिय रहे उनी । त्यो क्रममा आन्तरिक कारबाही पनि भोगेछन्, सांस्कृतिक विचलनको आरोपमा । उनीसँगै यस्तो कारबाही भोग्ने अहिलेका एनेकपा माओवादी महासचिव सिपी गजुरेल पनि थिए रे † सजायस्वरूप पार्टीका विभिन्न श्रम शिविरमा एक वर्षभन्दा बढी बिताएछन् । भारतको चेन्नईस्थित छाला कारखानामा काम गरेछन् । सजाय भोगेको कुरा सुनाउन कुनै हिचकिचाहट छैन उनलाई । भन्छन्, ‘हामी पनि यही समाजबाट आएका हौँ । कतिपय सामाजिक संस्कारले पछ्याइरहेकै हुन्छन् । त्यसैले त्यो सामान्य नै हो ।’ परिवारबाट टाढा भएर बस्नुपर्दा र तनाबका कारणले त्यस्तो भएको उनलाई लाग्छ ।
त्यति बेलाका तीतामीठा घटना फिल्मको रिलझैँ उनको स्मृतिमा सलबलाइरहन्छन् । भन्छन्, ‘जनयुद्ध सरल होला भन्ने सोच त सुरु गर्दा नै पनि थिएन । गोर्खामा बसेको केन्द्रीय कमिटीे बैठकले युद्धको घोषणा गर्दा सामूहिक फोटो खिचायौँ, चिनोस्वरूप । युद्धमा तीमध्ये धेरै जीवित रहँदैनौँ भन्ने थियो । त्यो बैठकमा उन्नाईस जना थिए  । अहिले सत्र जना छौँ ।’
सुरुका दिनमा पार्टीभित्रै निकै अन्तरसंघर्ष रहेको सुनाउँछन् । त्यसले केही अप्ठयारो पनि पारेछ । तर, युद्धमा गइसकेपछि भने त्यो सबै सम्हालिएको उनलाई लाग्छ । भन्छन्, ‘तर पनि पार्टीभित्रका समस्यामा म निराश भने कहिल्यै भइनँ । सधैँ जित्नुपर्छ भन्ने विजयी भावनाले गाइड गथ्र्यो । घरपरिवारलाई सम्झन भ्याइँदैनथ्यो । त्यता सोचिएको भए युद्धमा समर्पित भइरहन पनि कहाँ सकिन्थ्यो र ?’
दसवर्षे सशस्त्र द्वन्द्वमा जानुअघि सवा दुई वर्ष नेपालका जेलमा बिताएछन् उनले, राजनीति गरेबापत । पछि भारतमा पनि पक्राउ परे, तर दुई–चार दिनमै छुटिहाले । बन्दुक बोके पनि आफ्नै हातबाट कसैको हत्या भने नगरेको सुनाउँछन् । यद्यपि उनको आदेशमा केही ‘सफाया’ नभएको भने होइन । ‘तर कारबाहीका क्रममा राम्रोसँग नापतौल गरेर मात्र अगाडि बढ्ने भएकाले अनावश्यक क्षति भने कतै भएको छैन,’ उनले दाबी गरे । युद्धको कमान्ड गर्दा खुब सचेत हुन्थे रे उनी, ‘प्राय: जे अनुमान लगाउँथेँ त्यो हुन्थ्यो नै, मैले थाहा नपाईकन कुनै पनि दुर्घटना भएको छैन ।’
युद्धकालका दु:खद कहानी पनि छन्, जुन उनीभित्र अहिले पनि बिझिरहन्छ । घोडेटारको फौजी कारबाही असफल भएपछि फर्किए उनीहरू । केही सुरक्षित ठाउँमै आइपुगिसकेका थिए । एक्कासि आकाशमा जासुसी जहाज देखियो । उनले साथीहरूलाई अब केहीबेरमै हेलिकोप्टर आउँछ, सतर्क हुन भनेछन्  । तर, थाकेर आएका उनीहरूले खासै वास्ता गरेनन् । नभन्दै एकैछिनमा हेलिकोप्टर आएर गोली बर्साई पनि हाल्यो । ‘मैले भनेकै बेला सचेत हुन सकेको भए ठूलो दुर्घटनाबाट बच्ने थिए साथीहरू । फेरि युद्धमा जितेर कमान्ड गर्न जति सजिलो हुन्छ हारेर फर्किंदा त्यति नै कठिन हुँदो रहेछ । वास्तवमा जित्दा मात्र होइन, हार्दा पनि कमान्ड सशक्त बनाइराख्नुपर्ने रहेछ । मैले ‘रिस्क’ मोलेर साथीहरूलाई बरु एक झापड हानेरै सतर्क हुन लगाएको भए त्यत्तिको क्षति हुँदैनथ्यो भनेर पीडाबोध हुन्छ आज पनि । त्यो घटनामा अनाहकमा दस जनाले ज्यान गुमाए ।’
अहिले पार्टी मूल धारको राजनीतिमा आइसक्यो । त्यो युद्ध अनि गुमेका साथी सबै स्मृति बनिसके । राजनीतिमा आएपछि प्राय: सबैमा पद र प्रतिष्ठाको लोभ जागेको देखिन्छ । उनी आफूचाहिँ पद र प्रतिष्ठाको पछि कहिल्यै नलागेको र अब पनि नलाग्ने दाबी गर्छन् । ‘मलाई यही नभई हुँदैन भन्ने संस्कार’ बाट मुक्त रहेको सुनाउँछन् । भन्छन्, ‘त्यस्तो भएको भए म अहिले पोलिटब्युरो सदस्यमै सीमित हुन्नथेँ, मभन्दा धेरै जुनियरहरूले स्थायी समिति र अन्य महत्त्वपूर्ण पद पड्काइसकेका छन् ।’ पद जहाँ भए पनि जनताको पक्षमा आफूले राम्रो भूमिका निर्वाह गरिरहेको मान्ने उनी ‘आफ्ना लागि आफैँले बोल्ने दिन नआओस् जस्तो लाग्छ’ भन्छन् । विश्वास देखाउँछन्, ‘मेरो पहिचानलाई पार्टीले सही मूल्यांकन गरी नै हाल्ला नि †’
सशस्त्र द्वन्द्व किनारतिर लम्कँदै गर्दाका दिनतिर फर्कंदै छन् उनी । तत्कालीन राजा ज्ञानेन्द्र शाहले माघ १९ मा ‘कु’ नगरेको भए उनैसँग सहकार्य गर्ने योजनामा थियो रे माओवादी पार्टी । राष्ट्रियताको मुद्दामा केन्द्रित भई ‘राजाका मान्छे’सँग कुरा गर्न माघ २४ गतेको समयसमेत तय भएको उनले बताए । भन्छन्, ‘त्यति बेलै पार्टीले डा. बाबुराम भट्टराई, रवीन्द्रहरूलाई कारबाही गर्‍यो, राजालाई माओवादी अब कमजोर भएछ, किन सहकार्य गर्ने भन्ने लागेछ क्यारे † उनीभित्रको यही कुनियतले माघ १९ को कदम चाल्यो ।’ त्यसपछि आएर नै माओवादी दलहरूसँग बाह्रबुँदे सहमति गर्न तयार भएको उनले सुनाए ।
अहिले माओवादीभित्र पनि संस्थापन पक्षको ‘दह्रो’ नेता मानिन्छन् गजुरेल । पार्टीभित्रको आन्तरिक कलह चुलीमा पुगेको छ । उपाध्यक्ष मोहन वैद्य पक्षधरहरू संस्थापन पक्षविरुद्ध सडक तताउन थालेका छन् । यो कलह जेठ १४ सम्म मात्र रहने दाबी गर्छन् गजुरेल । अध्यक्ष प्रचण्डले केही न केही गर्नेमा विश्वस्त छन् । त्यसो त नेपालका कम्युनिस्टहरू टुक्रिनुमा विचारका आधारमा नभएर निजी स्वार्थ कारण रहेको उनलाई लाग्छ । भन्छन्, ‘विचारका आधारमा हुन्थ्यो भने त नेपालमा जम्मा दुइटा मात्रै कम्युनिस्ट पार्टी हुनुपर्ने नि † एउटा सुधारवादी अनि अर्को क्रान्तिकारी । यति धेरै कम्युनिस्ट पार्टीको आवश्यकता किन ?’

प्रतिक्रिया