मनोविज्ञान सुधार्ने अभिभारा

देशलाई दर्जन वर्ष द्वन्द्वले गाँज्यो । मानिसका महत्त्वाकांक्षा अकासिँदै गए । राजनीतिक अस्थिरताले मुलुकको वातावरण ढुलमुल अवस्थामै छ । यी सबै परिस्थितिले कसलाई कहाँ फरक पार्‍यो त ? नेपालकै पहिलो प्रयोगवादी मनोविज्ञ डा. गंगा पाठक भन्छिन्, ‘यसले समाजका हरेकखाले संस्कार भताभुंग भए । विसंगति निम्तियो । व्यक्ति, परिवार र समाजमा दुर्घटना बढे ।’ उनले थपिन्, ‘यसैका कारण मनोवैज्ञानिक समस्या बढ्दै गए ।’
२०१७ सालमा चितवनको रत्ननगर, टाँडीमा जन्मिएकी डा. पाठकको आफ्नै बाल्यकाल भने त्यति उत्साहजनक थिएन । ६ दाजुभाइ र तीन दिदीबहिनीका बीच जन्मिएकी उनी कुलप्रसाद पाठक र इन्दु पाठककी कान्छी छोरी हुन् । चार वर्षकी पुग्दानपुग्दै बुबाको देहावसान भएको मधुरो सम्झना छ उनलाई । ‘हाम्रो परिवार ठूलो थियो, दाजुहरू यतै काठमाडौंमा पढ्नुहुन्थ्यो’ उनले भनिन्, ‘बुबाको स्वर्गे भएपछि म पनि पढ्न राजधानीतिरै आएँ ।’ कहिले दाजुकामा त कहिले मामाघरमा बसेर उनले पद्मकन्या क्याम्पसबाट मनोविज्ञानमै बिए पास गरिन् । खैरहनी माध्यमिक विद्यालयबाट १३ वर्षमै प्रवेशिका पास गरेकी पाठक २०३८ सालमा मनोविज्ञानमै स्नातकोत्तर गर्ने आँटले त्रिचन्द्र क्याम्पसमा भर्ना भइन् । ‘२०४० सालमा पास गरेँ,’ डा. पाठकले भनिन्, ‘सन्जोग होला, म मनोविज्ञानमा स्नातकोत्तर गर्ने पहिलो ब्याचको विद्यार्थीमा परेँ ।’
एमए पढ्दै गर्दा रत्नराज्यलक्ष्मी क्याम्पसको इभिनिङ सिफ्टमा अध्यापनसमेत गराउन थालेकी डा. पाठकको स्मृतिमा एउटा रमाइलो अनुभूति रहेछ । ‘म २१ वर्षकी कलिली ठिटी, भर्खरै जागिर खाएकी, जसलाई देखे पनि ‘नमस्कार’ गर्नैपर्ने’, उनले भनिन्, ‘म्याचुअर देखिने आफ्नै विद्यार्थीलाई पो कतिपटक नमस्कार गरिछु ।’ दिउँसो जागिर गरेर बेलुकी पढ्न आउनेहरू पाका उमेरका हुँदा रहेछन् । त्यो कुरा उनलाई त्यति बेला थाहा हुँदो रहेछ जति बेला उनले नमस्कार गरेका तिनै मानिस विद्यार्थीको बेन्चमा बसिरहेका हुन्थे । ‘पछि मैले नमस्कार गर्नै छोडिदिएँ,’ पाठकले भनिन् ।
मनोविज्ञान विषयको सैद्धान्तिक अध्ययनमा परिपक्व बन्दै गएकी पाठक २०४९ सालमा स्वत: स्थायी भएकी मात्र होइनन्, उनलाई बढुवा गरेर त्रिचन्द्र क्याम्पसको साइकोलोजी डिपार्टमेन्ट चिफमा नियुक्ति दिइयो । तर, रत्नराज्यमा ७०/८० जना विद्यार्थी पढाएकी प्रोफेसर पाठकलाई त्रिचन्द्रका पाँच जना विद्यार्थी पढाउनु कि छोड्नुको अवस्था आइलागेछ । उनले भनिन्, ‘म त असरल्ल भएँ । विद्यार्थी आकर्षित गर्न भाषण नै दिन थालेँ ।’ उनले एक वर्ष पुग्दा नपुग्दै त्रिचन्द्रमा मनोविज्ञान पढ्ने विद्यार्थीको संख्या ५०/६० जना पुर्‍याइछन् ।
२०६० सालसम्म धानेको साइकोलोजी डिपार्टमेन्टको जिम्मेवारीमा त्यसपछि भने केही समयका लागि पूर्णविराम लगाइछन् । ‘राजनीति त्यस्तै हुन थाल्यो, पढाइको वातावरण पनि गतिलो हुन छाड्यो, हरेक विद्यार्थी संगठनले चाहिनेभन्दा बढी हस्तक्षेप गर्न थाले’ डा. पाठकले भनिन्, ‘त्यसैले त्यसरी अल्झिइरहनुभन्दा आफ्नो ज्ञानको दायरा फराकिलो बनाउनु उचित ठानेँ ।’ उनी त्रिभुवन विश्वविद्यालयको छात्रवृत्तिमा भारतको बनारसमा रहेको बनारस हिन्दु विश्वविद्यालयमा ‘काउन्सिलिङ’ मा पिएचडी गर्न हिँडिछन् । पाँच वर्षमा पिएचडी सकेपछि एउटा अर्को संयोग उनको जीवनमा जोडिएछ– काउन्सिलिङमा पिएचडी गर्ने नेपालकै पहिलो व्यक्तिका रूपमा ।
डाक्टर बनेर फर्किएपछि उनले फेरि पोस्टग्य्राजुएट इन साइकोलोजी काउन्सिलिङ डिपार्टमेन्टमा चिफ भएर अध्यापन गर्न थालिन् । अहिले त्रिचन्द्रमा प्राध्यापनको जिम्मेवारीमा मात्रै छिन् । तर, त्योभन्दा ठूलो चुनौतीपूर्ण सामाजिक जिम्मेवारी पनि सम्हालिरहेकी छिन्, ‘नेपालकै पहिलो प्रयोगवादी काउन्सिलर’ बनेर । अध्यापनको उनको २८ वर्षे यात्रा जति रमाइलो रह्यो त्यत्तिकै चुनौतीपूर्ण पनि । उनले विद्यार्थीको उत्साह र लगावमा सधँै रमाइलो महसुस गरिन् । तर, विद्यार्थी युनियन र त्रिभुवन विश्वविद्यालयको ‘सिस्टम’ तथा सेवासुविधा देखेर खिन्नता महसुस गरिन् । भनिन्, ‘बनारस हिन्दू विश्वविद्यालयमा पढ्न जाँदा त्यहाँका भिसीले विश्वविद्यालयलाई जोखिम मोलेर ‘युनियन फ्री’ बनाएका रहेछन् । त्यही कारण बनारस विश्वविद्यालय आज विश्वकै आकर्षण केन्द्र बनेको छ ।’ त्रिभुवन विश्वविद्यालय कमजोर हुनुमा उनी एउटै कमजोरी देख्छिन्, ‘सुपरभिजन र मोनिटरिङ छँदै छैन ।’
बनारस हिन्दू विश्वविद्यालयमा पढाउने प्राध्यापक र यहाँका प्राध्यापकको हैसियत समान भए पनि सेवासुविधामा यहाँको भन्दा त्यहाँ पाँच गुणा माथि भइदिनु लाजमर्दो भएको उनलाई लाग्छ  । ‘त्यही कारणले हो, नेपाली प्रोफेसर ‘हेल्मेट टिचर’ बन्न बाध्य भएका,’ डा. पाठकले भनिन्, ‘सुविधा राम्रो दिने हो भने शिक्षाको गुणस्तर पनि राम्रो हुन सक्छ ।’
पेसाप्रति इमानदार र चुनौती स्विकार्ने स्वभावकै कारण डा. पाठकचाहिँ ‘हेल्मेट टिचर’ हुन चाहिनछन्  । उनले १६ वर्षपहिला सन् १९९७ मा नेपालमै पहिलो नेसनल इन्स्टिच्युट अफ साइकोलोजी स्थापना गरेर जोखिमपूर्ण सेवाको सुरुआत गरिन् । उनले पढाएका विद्यार्थी नेपालका आर्मी, पुलिस, होटेल–बैंकका कर्मचारी, विदेशी नागरिकसमेत छन् । उनीहरू भेटिँदा पाइने ‘नमस्कार’ले भन्दा अहिलेको काउन्सिलिङले दिएको आत्मसन्तुष्टि जीवनमा अतुलनीय मान्छिन् उनी । योसँगै उनले नेपाली समाजको एउटा डरलाग्दो तस्बिर फेला पारेकी छिन् । ‘टिचिङ गर्दा जानेको कुरा सिकाएर फर्किए हुन्छ,’ डा. पाठकले भनिन्, ‘तर, पढाउन जति सजिलो मनोपरामर्शलाई व्यवहारमा उतार्दाको क्षण हुँदैन ।’ काउन्सिलिङ गर्दागर्दै उनी आफैँ पनि सुरुका दिनमा टोलाएकी छिन्, बेसुरे भएर घर हिँडेकी मान्छे अन्त कतै पुगेकी छिन् । त्यो अवस्था छाडेर अरू नै पेसा गर्न उनका श्रीमान् ज्ञानेन्द्र रिमालले सुझाब पनि दिएछन् । डा. पाठकले भनिन्, ‘मैले त्यो अनुभूतिलाई पनि चुनौतीका रूपमा हेरेँ ।’
अहिले ‘हरेक घरमा कुनै न कुनै मनोवैज्ञानिक र मानसिक समस्या भएको’ दाबी गर्दै डा. पाठकले भनिन्, ‘आज नेपालको कुनै परिवार त्यस्तो छैन, जहाँ कुनै न कुनै मानसिक समस्या नभएको होस् ।’ यसो हुनाको प्रमुख कारण, सामाजिक, राजनीतिक र वातावरणीय प्रभाव नै दोषी रहेको ठम्याइ उनको छ । ‘हरेक मानिस व्यक्तिवादी बन्दै गएको छ । अवसर छैन । राजनीतिज्ञहरू उदार छैनन्,’ डा. पाठकले भनिन्, ‘फेसनको नाममा नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको छ । संस्कार छाडा बनिरहेको छ । त्यसैले मनोवैज्ञानिक रूपमा असर गरिरहेको हुन्छ ।’
यस्तै मानसिक समस्याले ग्रस्त भएका सेवाग्राही आउँदा सुरुका दिनमा डा. पाठकको आफ्नै आङ सिरिंग हुन्थ्यो रे † आँखामा नाचिरहने उनीहरूका समस्याले छटपटी हुन्थ्यो रे । ‘अहिले त त्यस्ता समस्यालाई कति चाँडो समाधान गरौँ भन्ने उग्रता जागेर आउँछ,’ पाठकले भनिन्, ‘मकहाँ सेवाग्राहीहरू धामी, झाँक्री, जोतिषी, डाक्टर, वैद्य, मनोचिकित्सक सबैकामा धाइसकेर अन्तिममा आउँछन् ।’ आफूकहाँ आउने कुनै व्यक्ति निको नभई फर्किएको इतिहास नरहेको सुनाउँदै थिइन् उनी । ‘१५ वर्षदेखि डिप्रेसनले चेतनाशून्य बनेकी अञ्जना अहिले होटेलमा कर्मचारी छिन् भने त्यस्तै समस्याले पीडित अविला बैंकमा काम गर्छिन्,’ उनले भनिन्, ‘यी मेरो जीवनका ठूला उपलब्धि हुन् ।’ डा. पाठककहाँ काउन्सिलिङका लागि आउनेहरूमा विद्यार्थी, बालबालिका, बैंकर्स, नेता, सांसद, व्यापारी, महिला, एनजिओकर्मी र डाक्टरसम्म हुँदा रहेछन् । कति पत्रकारले त परामर्शबाट मानसिक लाभ मात्र लिएनन्, प्रभावित भएपछि रेडियो, टिभीमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम नै सञ्चालन गरिरहेका छन् रे ।
आजको समाजमा स–साना विद्यार्थी सबैभन्दा बढी मनोवैज्ञानिक समस्यामा पर्दै गएको जानकारी राखेकी पाठकले भनिन्, ‘बच्चालाई दबाबमा कुनै काम गराउनु अभिशाप बन्न सक्छ ।’ १०/१२ वर्षकै बच्चा मनोवैज्ञानिक समस्याले आक्रान्त भएर आउने र उनीहरू परिवारकै कारण त्यस्तो समस्यामा परेको पाइएको उनी सुनाउँछिन्, ‘आफ्नो बच्चाको कमजोरी अर्काको बच्चाको सफलतासँग तुलना गर्नु परिवारको कमजोरी हो । कतिपय बच्चा पढाइसम्बन्धी समस्याले मनोवैज्ञानिक समस्यामा पुगेका हुन्छन् ।’ उनको सुझाब– ‘इच्छाविपरीत बच्चालाई पढाइमा दबाब दिनु, एकल परिवारमा बस्नु, साँघुरो कोठाको जिन्दगी बिताउनु र उनीहरूका समस्या नसुनिदिनु पनि मानसिक समस्यामा धकेल्ने प्रमुख कारण हुन् ।’ मानसिक समस्याको जरो परिवार नै भएको दाबी गर्ने डा. पाठक भन्छिन्, ‘बच्चाहरू पढाइसम्बन्धी समस्या ‘डिस्लेक्सिया’मा परेका छन्, किशोर अवस्थाकाहरू लभ इफेक्सनमा पर्ने गरेका छन्, यसलाई अभिभावकले समयमै पहिचान नगर्ने हो भने त्यही पछि गएर फ्रस्टेसन र डिप्रेसनका रूपमा देखिन्छ ।’
मनोवैज्ञानिक रूपले घर, समाज र देशलाई स्वस्थ बनाउने हो भने परिवारमा स्वस्थ सम्बन्ध बनाउनुपर्ने राय उनको छ । यही स्वस्थता प्रदान गर्न डा. पाठक काउन्सिलिङ मात्र गर्दिनन्, म्युजिक थेरापी, डान्सथेरापी र योगा थेरापीको समेत सहारा लिन्छिन् । आफैँ पनि गर्छिन् । यही यात्रामा हिँड्नका लागि उनले कान्छी छोरी रेटिनालाई पढ्न अस्ट्रेलिया पठाएकी छन् भने जेठी छोरी गुञ्जन डाक्टर नै भइसकिन् । जीवनको एउटै लक्ष्य ‘समाजलाई मानसिक रूपमा स्वस्थ बनाउने’ बोकेकी डा. पाठक ‘कानुन बलियो बनाएर छाडा प्रवृत्तिलाई रोक्ने हो भने आधा समस्या त्यसै समाधान हुने देख्छिन् ।

प्रतिक्रिया