नेपाल आज इरानविरुद्ध खेल्दै

काठमाडौं : मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ प्रतियोगिताअन्तर्गत समूहचरणको तेस्रो खेलमा नेपाल मंगलबार इरानविरुद्ध खेल्दै छ । अघिल्ला दुवै खेलमा जित हात पारेको साविक उपविजेता नेपाल इरानविरुद्ध विजयी भए सेमिफाइनल पुग्नेछ ।
यसअघि नेपालले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । इरानले कुवेतलाई पराजित गरी एक जित हात पारेको छ । इरान पनि अघिल्लो चरण प्रवेशको होडमा छ । इरानविरुद्ध यस उमेरसमूहमा अहिलेसम्म नेपालले प्रतिस्पर्धा गरेको छैन तर अघिल्ला दुवै खेलमा प्राप्त सानदार जितले उत्साहित भएको नेपाली टोली इरानविरुद्ध भारी हुनेछ ।
सन्तुलित प्रदर्शन गरिरहेको नेपालले अघिल्ला दुवै खेलमा सानदार ब्याटिङ गरेको थियो । दीपेन्द्र चन्दले बहराइनविरुद्ध ७५ रन बनाउँदै सानदार इनिङ खेलेका छन् भने नुरध्वज सेनले पहिलो खेलमा ४७ र दोस्रो खेलमा ४२ रनको योगदान गरेका थिए । बहराइनविरुद्ध पहिलो विकेटका लागि नेपालले १ सय ३८ रनको साझेदारी गरेको थियो ।
कुवेतविरुद्ध ७८ रनले विजयी भएको नेपालले बहराइनलाई आठ विकेटले पराजित गरेको थियो । यता मलेसियाविरुद्ध १ सय ८८ रनको लक्ष्य पछयाउने क्रममा ५२ रनमा सीमित इरानले कुवेतबाट प्राप्त १ सय २९ रनको लक्ष्य पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । समूह ‘बी’ मा तीन खेलबाट ६ अंक भएको मलेसिया शीर्षस्थानमा छ । दुई खेलबाट नेपाल चार अंक जोड्दै दोस्रोमा छ । नेपालभन्दा पछि रहेको इरानको दुई अंक छ भने कुवेतले खाता खोल्न सकेको छैन । (सौस)

प्रतिक्रिया