युभेन्ट्सलाई ‘सेरी ए’ उपाधि

एजेन्सी
मिलान, २६ वैशाख । उपाधि होडको महत्त्वपूर्ण खेलमा एसी मिलान इन्टरमिलानसँग चुकेपछि युभेन्ट्सले एक खेल बाँकी छँदै इटालियन सेरी ए फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनी स्ट्राइकर डिएगो मिलिटोले हयाट्रिक गरेपछि मिलान डर्बीमा इन्टर ४–२ ले विजयी भएको हो ।
पछिल्ला दुई संस्करणका विजेताबीचको भिडन्तमा इन्टरले बाजी मारेको दिन युभेन्ट्सले कागलिओरीलाई २–० ले हरायो । जितसँगै टुरिनको टोलीले एक खेल बाँकी रहँदा दोस्रो स्थानको एसी मिलानलाई ४ अंकले पछि पार्दै २८आंै पटक लिग च्याम्पियन भएको हो । उपाधि निश्चित गर्दासम्म युभेन्ट्सले कुनै खेलमा पनि हार व्यहोरेको छैन ।
युभेन्ट्सको जितमा मिर्को भुसिनिकले एक गोल गरे भने थप गोल माइकल कानिनीले आत्मघाती गरे । युभेन्ट्सले सन् २००३ पछि पहिलोपटक लिग उपाधि जितेको हो । म्याच फिक्सिङको अभियोगपछि सन् २००५ र २००६ मा युभेन्ट्सको लिग उपाधि खोसिएको थियो ।
यो सिजन निकै राम्रो लयमा रहेको युभेन्ट्सले छैटौं मिनेटमा कागलिओरीविरुद्ध अग्रता लिएको थियो । ‘अफसाइड ट्रयाप’ बिट गर्दै भुसिनिकले गोलकिपर माइकल अगाजीको टाङबाट बल छिराएका हुन् । आफ्नै खेलाडीको हेड प्रहारबाट आउट हुन लागेको बललाई क्लियर गर्न खोज्दा कानिनीले बललाई आफ्नै गोलपोस्टभित्र छिराए फलस्वरूप युभेन्ट्सले खेल २–० ले जित्यो ।
मिलान डर्बीमा खेलको मध्यान्तरसम्म १–१ गोलको बराबरी भएको थियो । १५आंै मिनेटमा मिलिटोले पहिलो गोल गरे भने पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ग्लाटन इब्राहमोभिकको विवादास्पद पेनाल्टीमा एसी मिलानले गोल गरेको थियो । दोस्रो हाफको सुरुआतमै इब्राहमोभिकले अर्को गोल गर्दै पहिलोपटक एसी मिलानलाई अग्रता दिलाए । त्यसको लगत्तै मिलिटोले प्राप्त पेनाल्टीलाई उपयोग गरे । रोबिन्होले केही अवसर गुमाएपछि अग्रताबाट वञ्चित एसी मिलानका लागि अन्तिम १० मिनेट झनै खराब रहयो । यसै समयमा अलेजानद्रो नेस्टाले फल गरेपछि प्राप्त पेनाल्टीमा माइकनले गोल गरे भने ब्राजिलियन साइडहाफ माइकनले अन्तिम गोल गरे ।
पछिल्लो केही समयदेखि खराब अवस्थामा गुज्रेको एसी मिलानले युरोपको पायनियर क्लबको रुपमा रहेको छवि पनि गुमाइसकेको छ । कुनै समय ब्राजिलियन स्टार काकाको साथमा युरोपेली महाशक्ति कहलिएको एसी मिलान सन् २००८ देखि क्षेत्रीय प्रतियोगितामा पनि प्रभाव पार्न सकेको छैन । एसी मिलानलाई पराजित गर्दै घरेलु उपाधिको होडबाट बाहिर पठाएको इन्टरले पनि यस सत्र कमजोर प्रदर्शन गरिरहेको छ ।
सन् २००८ मा युरोपेली च्याम्पियन्स लिग जितेर सनसनी मच्चाएको इन्टर मिलान त्यसपछिका वर्षहरुमा भने कमजोर अवस्थामा रहेको छ । ९० को दशकको अन्त्यमा ब्राजिलियन स्टार रोनाल्डोको साथ पाएको इन्टरलाई दुई वर्षअघि युरोपियन च्याम्पिएन बनाउने क्रममा अर्का दक्षिण अमेरिकी स्टार मिलिटोले नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दुवै मिलानको फर्म बिग्रिएपछि युरोपेली फुटबलमा इटालीको प्रभाव पनि कम भएको छ ।

प्रतिक्रिया