निगमको मासिक घाटामा कमी

काठमाडौं, २६ वैशाख । नेपाल आयल निगमको मासिक घाटा घटेको छ । अघिल्लो महिनाका तुलनामा आपूर्ति कम भएकाले यो महिना मासिक घाटा कम भएको हो ।
नेपाल आयल निगमले मे १ को नयाँ मूल्य सूचीअनुसार मासिक घाटा एक अर्ब १४ करोड ४७ लाखमा झरेको जनाएको छ । अघिल्लो महिना निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो । निगमका अनुसार यो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ९८ रुपियाँ ३४ पैसा घाटा छ । अघिल्लो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, मे महिनामा डिजेलमा प्रतिलिटर १० रुपियाँ ६० पैसा घाटा छ । अघिल्लो महिना भने डिजलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा घाटा थियो । नयाँ मूल्य सूचीअनुसार अहिले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ ७१ पैसा, मट्टीतेलमा तीन रुपियाँ २ पैसा, आन्तरिक हवाई इन्धनमा १४ रुपियाँ ३९ पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १९ रुपियाँ ७३ पैसा नाफा रहेको निगमले जनाएको छ ।
अहिले डिजेलमा ६८ करोड ९२ लाख र एलपी ग्यासमा ७१ करोड ८० लाख कुल घाटा रहेको पनि निगमले जनाएको छ । यस्तै, निगमका अनुसार पेट्रोलमा ६ करोड ३१ लाख, मट्टीतेलमा एक करोड ८१ लाख, अन्तर्राष्ट्रिय हवाई इन्धनमा १३ करोड ८१ लाख र आन्तरिक हवाई इन्धनमा चार करोड ३२ लाख रुपियाँ कुल नाफा रहेको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नै निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको भए पनि आपूर्ति घटेको समयमा घाटा कम हुने निगम प्रवक्ता मुकुन्द ढुंगेलले बताए । अहिले रकम अभाव भएको भन्दै निगमले बजार मागअनुसार पेट्रोलियम आपूर्ति गरेको छैन । यसले बजारमा अभावसमेत चर्कंदै गएको छ ।
निगमका अनुसार भारतीय आयल निगम (आइओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढी भएकाले मागअनुसार आपूर्ति गर्न नसकेपछि राजधानीलगायत मुलुकका प्रमुख सहरमा सोमबारदेखि नै पेट्रोलियम पदार्थको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भने अब करिब एक अर्ब रुपियाँ बक्यौता तिर्न बाँकी छ ।
निगमका अनुसार उपत्यकामा दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र तीन सय किलोलिटर डिजेल खपत हुने गरेको छ । यो परिमाणमा नआए बजारमा अभाव देखिन सुरु गर्ने भएकाले निगमले १४ जेठसम्म आपूर्ति सहज गर्न अर्थ मन्त्रालयसँग यसअघि नै चार अर्ब रुपियाँ अनुदान माग गरेको छ । तर, तेल आपूर्तिका लागि निगमले लिएको ऋणको भार २३ अर्ब १७ करोड रुपियाँ पुगेको छ ।

प्रतिक्रिया