उत्पादन क्षेत्रमा सवा खर्ब ऋण

काठमाडौं, २६ वैशाख । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकले औद्योगिक उत्पादन क्षेत्रतर्फ अत्यधिक कर्जा प्रवाह गरेका छन् । कुल पाँच खर्ब ७४ अर्ब आठ करोड ३३ लाख कर्जामध्ये औद्योगिक उत्पादनतर्फ एक खर्ब ३१ अर्ब ६६ करोड ७८ लाख रुपियाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्ष भएको लगानीभन्दा १४ दशमलव तीन प्रतिशत बढी हो ।

समीक्षा अवधिमा वाणिज्य बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १६ अर्ब ४८ करोड रुपियाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो क्षेत्रतर्फको कर्जा १९ अर्ब २१ करोड रुपियाँले बढेको थियो । विगत केही वर्षदेखि लगानी मैत्री वातावरणको अभावका कारण उत्पादन क्षेत्रमा कर्जा प्रवाह कम हुँदै गएकामा चालु आवमा भने यस क्षेत्रमा गएको कर्जा वृद्धिले उद्योगी–व्यवसायीमा आत्मविश्वास बढ्न थालेको छ । एक व्यवसायीका अनुसार शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्ने एवं संविधान निर्माण हुने सम्भावना देखिएपछि कर्जा लगानी बढ्न थालेको हो ।
चालु आवको फागुन मसान्तसम्म थोक तथा खुद्रा व्यापारतर्फको कर्जामा पनि सात अर्ब ६५ करोड रुपियाँले वृद्धि भएको छ । यसतर्फ एक सय १६ अर्ब ८५ करोड ८३ लाख रुपियाँ कर्जा गएको राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो वर्षको भन्दा सात प्रतिशतले बढी हो ।
फागुन मसान्तसम्ममा निर्माण क्षेत्रको कर्जा लगानीमा १३ दशमलव दुई प्रतिशतले बढेको छ । चालु आवको पहिलो आठ महिनामा ५८ अर्ब ४० करोड ५८ लाख रुपियाँ ऋण लगानी यो क्षेत्रमा भएको छ । बैंक ब्याजमा आएको गिरावटसँगै आवासीय एवं गैर आवासीय र अन्य पूर्वाधार निर्माणमा समेत वृद्धि भएकाले ऋण लगानी बढेको एक निर्माण व्यवसायीले बताए ।
त्यसैगरी सरकारले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सन् ०११ मा गरेको नेपाल पर्यटन वर्ष ०११ को प्रभाव स्वरूप सेवा क्षेत्रमा समेत लगानी बढेको छ । चालु आवको पहिलो आठ महिनामा ११ दशमलव दुई प्रतिशतले सेवा क्षेत्रमा लगानी वृद्धि भएको छ । सेवा क्षेत्रमा फागुन मसान्तसम्म ४० अर्ब ५८ करोड ८३ लाख रुपियाँ लगानी भएको छ । पर्यटन वर्ष उच्च प्रवद्र्धनका कारण पर्यटकीय गतिविधिमा वृद्धि भई होटल, रेस्टुरेन्टको स्तरोन्नतिमा लागेकाले पनि सेवा क्षेत्रमा ऋणको माग बढेको सम्बद्ध अधिकारीले बताए ।
चालु आवको पहिलो आठ महिनामा कृषि क्षेत्रमा ऋण लगानीको वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढी रह्यो । यस क्षेत्रमा अघिल्लो वर्षको पहिलो आठ महिनाको तुलनामा ३० दशमलव चार प्रतिशतले लगानी वृद्धि भएको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकले कृषि क्षेत्रमा १८ अर्ब ५० करोड ८ लाख रुपियाँ ऋण लगानी गरेका छन् ।
चालु आवको आठ महिनामा ९४ अर्ब रुपियाँले निक्षेप बढेकामा ७३ अर्ब २६ करोड रुपियाँ कर्जा तथा लगानी बढेको छ । बैंक तथा वित्तीय संस्थाले विस्तारै कर्जामा लिने ब्याजदर घटाउँदै लगे पनि ऋण रकम बढाउन सकेका छैनन् । अघिल्लो वर्ष फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ४४ अर्ब ६५ करोड रुपियाँले मात्र निक्षेप बढे पनि कर्जा तथा लगानी भने ७९ अर्ब ६५ करोड रुपियाँले बढेको थियो ।
चालु आर्थिक वर्षको फागुन महिनासम्म वाणिज्य बैंकको १३ दशमलव ६ प्रतिशतले, विकास बैंकको ६ दशमलव आठ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको भने निक्षेप वृद्धि भएन । अघिल्लो वर्ष वाणिज्य बैंकको दुई दशमलव एक प्रतिशत, विकास बैंक १५ दशमलव एक प्रतिशत र वित्त कमपनीको ११ दशमलव दुई प्रतिशतले निक्षेप वृद्धि भएको थियो । कर्जा लगानीतर्फ वाणिज्य बैंकको ११ दशबलव एक प्रतिशतले र विकास बैंकको तीन दशमालव ६ प्रतिशतले मात्र ऋण बढेको छ भने वित्त कम्पनीको कर्जा तथा लगानी भने एक प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया