कुखुराको मासुको अचार

प्रायजसो हामी विभिन्न सब्जीजन्य पदार्थबाट बनेका अचार मात्र खाइरहेका हुन्छौं– आलु, काँक्रो, लप्सी, टमाटरलगायतका  । तर, मासुको अचार पनि कम्ती स्वादिलो हुँदैन । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ । यसका लागि निम्न सामग्री जोरजाम गर्नुपर्ने हुन्छ ।
आवश्यक सामग्री
–कुखुराको मासु : ५ सय ग्राम
–सुकेको लसुन : १ पाउ
–अदुवा : आधा पाउ
–तेल : आधा माना
–जिराको धुलो : २ चम्चा
–टिम्मुरको धुलो : १ चम्चा
–मेथी, रायो, मुलाको बिउको
धुलो : केही
–खुर्सानीको धुलो : २ चम्चा
–चुक अमिलो : १ चम्चा
बनाउने विधि
सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने । एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने । बफ्याइसकेको मासु मसिनो टुक्रा पारेर काट्ने । लसुन छोडाएर केस्रा पारी काट्ने, एक पोटी लसुनचाहिँ पिस्ने । अदुवा पनि त्यसै गर्ने, केहीलाई केस्रा बनाएर काट्ने अनि केहीलाई पिस्ने । सबै सामग्री तयार भएपछि कराहीमा आधा माना तेल तताउने । तातेको तेलमा टुक्रा पारेर राखिएको मासु ओइरिने । मासुलाई खैरो पारेर भुटिसकेपछि मसला हालेर आगोमा केहीबेर राख्ने अनि मोल्ने । अब कुखुराको मासुको अचार तयार भयो, खाना या खाजासँग मिलाएर खान सकिन्छ ।

प्रतिक्रिया