नेपालको लगातार दोस्रो जित


काठमाडौं, २५ वैशाख । प्रारम्भिक ब्याट्सम्यानद्वय दीपेन्द्र चन्द र नुरध्वज सेनले कीर्तिमानी साझेदारी गरेपछि साविक उपविजेता नेपालले मलेसियामा जारी दोस्रो एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ एलिट कपमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार समूहको दोस्रो खेलमा बहराइनविरुद्ध भिड्ने क्रममा आठ विकेटले विजयी नेपालले सेमिफाइनल प्रवेशको सम्भावना सहज बनाएको छ ।
टस जिती पहिला ब्याटिङ गरेको बहराइनलाई एक बल बाँकी छँदा १ सय ४१ रनमा सीमित गरेको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय दीपेन्द्र र नुरध्वजले शतकीय साझेदारी गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । दीपेन्द्र र नुरध्वजबीच पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी भयो र नेपाल २१.२ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो ।
यसअघि यस उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि विकेटका लागि नेपालको तर्फबाट यति धेरै रनको साझेदारी भएको थिएन । सन् २०१० मा नेपालमा भएको पहिलो संस्करणको एसिसी यु–१६ एलिट कपमा प्रारम्भिक ब्याट्सम्यानद्वय निश्चल पाण्डे (७४) र शरद खड्का (२६) ले ८६ रनको साझेदारी गरी कुनै पनि विकेटका लागि सर्वाधिक रनको कीर्तिमान बनाएका थिए । समूहचरणको तेस्रो खेलमा बहराइनविरुद्ध उनीहरूले सो उपलब्धि हात पारेका थिए । त्यसबेला पनि निश्चल (५८) र शरद (३३) ले एक खेलअघि मात्रै कुवेतविरुद्ध ७० रनको साझेदारीको आफ्नै नामको कीर्तिमान तोडेका थिए ।
दीपेन्द्रले ७५ र नुरध्वजले ४१ रनको योगदान गरे । २१आंै ओभरको अन्तिम बलमा क्याचआउट हुने क्रममा दीपेन्द्रले ६९ बल खेल्दै १२ चौका प्रहार गरे । त्यस्तै २२औं ओभरको पहिलो बलमा बोल्ड हुनुअघि नुुरध्वजले ५८ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । यसअघि पहिलो खेलमा कुवेतविरुद्ध नुरध्वजले ४७ रन जोडेका थिए । आसिफ शेख शून्य
(०) र अदिल खान ४ रनमा अविजित रहे । ब्याटिङमा आएलगत्तै पहिलो बल सामना गर्दै अदिलले विजयी चौका प्रहार गरेका थिए ।
नेपालको कसिलो बलिङसामु बहराइनका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गरेको बहराइनका लागि आनन्ध कृष्णनले सर्वाधिक २८ रनको योगदान गरे । बहराइनका चार खेलाडी मात्र दोहोरो अंकमा रन जोड्न सफल भए । बलिङतर्फ नेपालका आकाश विष्टले तीन तथा कालीचरण यादव र रूपेश वास्तोलाले दुई–दुई विकेट लिए । नेपालले ३१ अतिरिक्त रन दिएको थियो । पहिलो खेलमा चार विकेट लिएका कालीचरणले बहराइनविरुद्ध दोस्रो विकेटका रूपमा एल्विन म्याथ्यु (२३) लाई आउट गरे भने मध्यक्रमका एक ब्याट्सम्यानलाई बोल्ड गरे ।
जितसँगै नेपाल दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को दोस्रो स्थानमा छ । दुई खेलबाट चार अंक जोडेको मलेसिया रनरेटमा नेपालभन्दा अगाडि रहँदै शीर्षस्थानमा छ । नेपालले समूहको तेस्रो खेलमा मंगलबार इरानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया