चेल्सीलाई सातौंपटक एफए कप उपाधि

एएफपी
लन्डन, २५ वैशाख । कप्तान जोन टेरी र फर्वार्ड डिडियर ड्रोग्बाले इतिहास रचेको दिन शनिबार राति लिभरपुललाई २–१ ले पराजित गर्दै चेल्सीले पछिल्ला ६ सिजनमा चौथोपटक एफए कप उपाधि जितेको छ ।
वेम्बलीमा भएको फाइनलको पहिलो हाफमा ब्राजिलियन मिडफिल्डर रेमिरेस र दोस्रो हाफको सुरुआतमा आइभरिकोस्टका ड्रोग्वाले गोल गरेपछि २–० ले अगाडि बढेको चेल्सीविरुद्ध लिभरपुलका एन्ड्रयु क्यारोलले सान्त्वना गोल फर्काएका थिए । ६४आंै मिनेटमा क्यारोलको गोलपछि २–१ को स्थितिमा आइपुगेको लिभरपुलले त्यसपछि भने गोल गर्न नसकेको हो ।
सिजनभर राम्रो प्रदर्शन गर्न नसके पनि दोस्रो उपाधि जित्दै जारी सिजनलाई बिदा गर्ने लिभरपुलको सपना पूरा हुन सकेन । यसअघि गत फेब्रुअरीमा सम्पन्न फाइनलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुलले कार्लिङकपको उपाधि जितेको थियो ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फाइनल पुगेको चेल्सीले खेलभर नियन्त्रण राखे पनि जित हात पार्न निकै संघर्ष गर्नुपर्‍यो । ८२औं मिनेटमा क्रसबारको नजिकैबाट जाने गरी क्यारोलले ‘क्लोज रेन्ज’ बाट गरेको हेड प्रहारलाई चेल्सीका गोलरक्षक पिटर चेकले आकर्षक बचाउ गरेपछि अन्तिम समयमा खेललाई बराबरी गर्नबाट लिभरपुललाई चेल्सीले रोकेको थियो ।
गोललाइनबाट बल कटयो भनेर क्यारोल ‘गोल’ भयो भन्दै रमाउन दौडिए पनि रेफ्री फिल डाड तथा लाइन्सम्यानले आफ्नो ठाउँमा हलचल गरेनन् । लिभरपुलका प्रशिक्षक केनी डेलगिसले दोस्रो हाफमा आफ्नो टोलीेले गरेको संघर्षको खुलेर प्रशंसा गरे । ‘अन्तिम ३० मिनेट हामीले निकै राम्रो खेल्यौं,’ खेलपछि डेलगिसको प्रतिक्रिया थियो, ‘हामीबाट धेरै गल्ती भयो, गल्ती गरेपछि जितिन्छ भनेर आस गर्नु बेकार हुन्छ ।’
खेलको सुरुआतबाटै चेल्सीले लिभरपुलविरुद्ध आक्रमणको शृंखला रचेको थियो । पहिलो ३२ सेकेन्डमै ड्रोग्वाले गरेको सुन्दर ‘भली’ क्रसबारको नजिकै भएर टाढियो । सुरुको आक्रमणलगत्तै खेलमा ‘दबाब’ बढाएको चेल्सीले ११औं मिनेटमा अग्रता लिएरै छाडयो । जुआन माटाले मिडफिल्डबाट लिभरपुलका डिफेन्डर जोसे एनरिकका अगाडि उपलब्ध गराएको आकर्षक पासमा रेमिरेसले गोलकिपर पेपे रैनाअगाडि आएको मौका छोप्दै गोल गरेका थिए ।
खेलमा पछि परेलगत्तै लिभरपुलले बराबरीमा फर्कने अवसर पाए पनि चेल्सीका डिफेन्डर ब्रानिस्लाभ इभानोभिक बाधक बनेका थिए । १४औं मिनेटमा क्रेग वेलामीको आकर्षक भली इभानोभिकले गोलपोस्टसम्म पुग्न दिएनन् । दोस्रो हाफमा लिभरपुलले प्रदर्शन सुधार गरे पनि चेल्सीले गोल थप्यो । फ्रयाङ्क लाम्पार्डको पासमा ड्रोग्वाले गोल गरी चेल्सीको जितलाई सहज बनाए भने लिभरपुललाई हारको नजिक पुर्‍याए यद्यपि ६४औं मिनेटमा चेल्सीका डिफेन्डरको गल्तीलाई सदुपयोग गरेर क्यारोलले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि भने चेल्सीले रक्षात्मक प्रदर्शन गरी लिभरपुललाई गोल थप्नबाट रोक्यो ।
केही साताअघि मात्र डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब बार्सिलोनालाई सेमिफाइनलमा हराएर चेल्सीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा फाइनल यात्रा तय गरेको थियो । चेल्सीले उपाधिका लागि रियल म्याड्रिडलाई हराउँदै फाइनल पुगेको बायर्न म्युनिखको सामना गर्नेछ । जारी इङलिस प्रिमियर लिग संस्करणमा ३६ खेलबाट ६१ अंक जोडेको चेल्सी छैटौं स्थानमा छ । त्यस्तै समान खेलबाट ४९ अंक भएको लिभरपुल आठांै स्थानमा छ ।
चेल्सीका पछिल्ला सफलतामा अन्तरिम प्रशिक्षक रोबर्टो डि माटेओको भूमिका महत्त्वपूर्ण छ । आन्द्र भिल्लास बोआस बर्खास्ती भएसँगै गत मार्चको पहिलो साता चेल्सीले जारी सिजनभर आफूलाई सम्हाल्ने जिम्मेवारी माटेओलाई दिएको थियो । चेल्सीलाई युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलसम्म पुर्‍याउन विशेष भूमिका निर्वाह गरेका इटालियन माटेओले यस सफलतापछि आगामी सिजन पनि चेल्सीलाई सम्हाल्न पाउने सम्भावना बढेको छ ।

प्रतिक्रिया