रेपिड फिडे रेटिङको उपाधि राजनलाई


काठमाडौं, २४ वैशाख । द हिमालयन चेस क्लबद्वारा सल्लाहकार एवं चेसप्रेमी पुण्यलाल श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो रेपिड फिडेरेटिङ चेस टुर्नामेन्टको उपाधि पिएलए स्पोर्टस क्लबका राजन पुरीले जितेका छन् । स्वीस लिग पाँचचरणको खेलमा शतप्रतिशत नतिजासहित युवा खेलाडी राजन विजेता बनेका हुन् । उनले चौथो खेलमा पूर्वनेपाल च्याम्पियन बद्रिलाल नेपालीलाई र अन्तिम खेलमा सिएम केशव श्रेष्ठलाई पराजित गरे ।
त्यस्तै बद्रिलालले पाँचांै चरणको खेलमा मोरङका पूर्णराज खड्कालाई माथ गरी ४ अंक १३ प्रोग्रेसिवका साथ दोस्रो भए । भेट्रान ओलम्पियाड खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ ४ अंक ११ प्रोग्रेसिवका साथ तेस्रो भए । प्रतियोगितामा १५–१५ मिनेट र प्रत्येक चालका लागि ५ सेकेन्ड थप समय दिइएको थियो । ३ दशमलव पाँच अंक भएका पूर्णराज चौथो र केशव पाँचौं भए ।
एकदिने प्रतियोगितामा फिडेमास्टर मनीष हमाल, विलमलाल श्रेष्ठ, पूर्वनेपाल च्याम्पियन सुरवीर लामा, नवीन तण्डुकार, यु–१९ च्याम्पियन रूपेश जैसवाल र नेपालका पहिलो अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुसहित २५ खेलाडी सहभागी थिए । विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सञ्जीव शिल्पकारले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया