अस्तित्वमा छैनन् आधा दर्जन विमान कम्पनी

काठमाडौं, २४ वैशाख । अन्तर्राष्ट्रिय उडानका लागि एक दर्जन बढी नेपाली वायुसेवा कम्पनीले इजाजत लिए पनि कुनै कम्पनीले सफलतापूर्वक उडान सञ्चालन गर्न सकेका छैनन् । दुई दशकअघि सरकारले लिएको उदार हवाई नीतिका कारण निजी कम्पनीले धमाधम अन्तर्राष्ट्रिय उडान अनुमति लिए पनि कुनै कम्पनी लामो समय टिक्न सकेनन् । लामो समयसम्म एकछत्र राज गरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई चुनौती दिंदै अगाडि आएका यस्ता कम्पनीको अहिले नामोनिसान छैन ।
उदार हवाई नीतिपछि निजी वायुसेवा कम्पनी थपिने क्रम बढ्यो । दक्षिण एसिया, मध्यपूर्व, एसिया र यूरोपसम्म उडान गर्ने निगमको एकाधिकार तोड्ने प्रतिस्पर्धा नै चल्यो तर सियोल, जर्मनी तथा लन्डनसम्म सेवासञ्चालन अनुमति लिएका कुनै पनि निजी कम्पनी टिक्न सकेनन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेका कस्मिक एयर, नेकोन एयर, एयर नेपाल इन्टरनेसनल, फ्लाई यती डटकमजस्ता कम्पनीले केही समयमै उडान बन्द गरे ।
सरकारले बजार मूल्यांकन नै नगरी सजिलोसँग लाइसेन्स दिने गरेकाले विमान कम्पनी टिक्न नसकेको विज्ञहरू बताउँछन् । ‘अनुमति लिन सजिलो छ तर प्रतिस्पर्धी बजारमा टिक्न सजिलो छैन,’ नेपाल वायुसेवा निगमका पूर्वकार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार भन्छन् । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टिक्न नसक्नुमा कमजोर व्यवस्थापन नै प्रमुख कारण रहेको उनको ठहर छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पटकपटक एयर अपरेसन सर्टिफिकेट (एओसी) नवीकरणको सार्वजनिक सूचना जारी गर्दासमेत कम्पनीहरूले कुनै चासो देखाएका छैनन् । प्राधिकरणले कस्मिक, यती इन्टरनेसनल, नेपाल एयरवेज, एयर नेपाल इन्टरनेसनल, नेकोन एयर, अल्पाइन एयरलगायतका आधा दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको एओसी रद्द गरिसकेको छ । प्राधिकरणबाट हालसम्म ५७ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति लिएकामा १२ वटा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने रहेको तथ्यांक छ ।
सन् १९९८ मा लाइसेन्स पाएको अल्पाइन एयरले अहिलेसम्म उडान सुरु नै गरेको छैन । उसको एओसी रद्द भइसके पनि लाइसेन्सको म्याद आगामी असोजसम्मका लागि थपिएको छ । अल्पाइनले भारत, थाइल्यान्ड र बंगलादेशका लागि अनुमति लिएको थियो । एकपटक अनुमति दिइसकेपछि विभिन्न अप्ठ्यारो देखाउँदै नवीकरणका लागि आग्रह गर्ने गरेकाले रद्द गर्न गाह्रो हुने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सन् ००३ मा एओसी लिएको कस्मिकले दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, लखनऊ, बनारस, कोलम्बो, पारो, ढाका, यांगुन र बैंकक उडान गर्ने बताएको थियो । त्यस्तै, सन् ००७ मा लाइसेन्स लिएको यति एयरलाइन्स इन्टरनेसनलले बैंकक, ल्हासा, सियोल, पारो, सांघाई, आबधाबी, दुवई, सिंगापुर, दिल्ली, दोहा, हङकङ, रियाद, क्वलालम्पुर र बहाराइनसम्म उडान गर्ने बताएको थियो । एयर नेपाल इन्टरनसनलले भने युएई, मलेसिया, कतार, थाइल्यान्ड, भुटान, चीन, जर्मनी र बेलायतसम्म उडान गर्ने घोषणा गरेको थियो । तर, यी कुनै कम्पनीले तोकिएका सबै गन्तव्यमा उडान गर्न सकेनन् । एओसीका लागि प्रतिसेक्टर पाँच लाख रुपियाँ प्राधिकरणलाई तिर्नुपर्ने प्रावधान छ ।
दुई वर्षअघि अन्तर्राष्ट्रिय उडान अनुमति पाएका बुद्ध एयर, श्री एयरलाइन्स, डायनामिक एयर र युनिटी एयरलाइन्समध्ये बुद्ध एयरले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । बुद्धले भुटानको पारो तथा भारतको बनारस, लखनऊ, कोलकाता र पटनाका लागि उडान अनुमति लिएकामा बनारसमा नियमित उडान गरिहेको छ । श्री एयरलाइन्सले उडान सुरु गरेको छैन भने र युनिटी र डायनामिकको अनुमति पत्र रद्द भइसकेको छ ।
निजी कम्पनीको अन्तर्राष्ट्रिय उडान सफल नभए पनि लाइसेन्स लिने क्रम भने रोकिएको छैन । भारत, मलेसिया, थाइल्यान्ड तथा जापानसम्म उडान गर्ने गरी हालै बिबिएयरवेजले मन्त्रालयबाट लाइसेन्स र प्राधिकरणबाट एओसी पाइसकेको छ । सेप्टेम्बरबाट उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।
नेपालले निजी क्षेत्रका लागि हवाईसेवा खुला गरेपछि सबैभन्दा पहिले ०४८ सालमा नेपाल एयरवेजले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो । त्यसपछि अल्पाइन, कस्मिकलगायतले अनुमति लिए । मन्त्रालयले लाइसेन्स दिएपछि त्यसको ६ महिनाभित्र प्राधिकरणबाट एओसी लिनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालनका लागि ५० करोड रपियाँ चुक्ता पुँजी आवश्यक हुन्छ । हवाई नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाईसेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।
नेपाली कम्पनी सफल नभएपछि विदेशी कम्पनीको नेपाल आउने क्रम बढेको छ । अहिले २८ वटा विदेशी विमान कम्पनीले नेपालमा उडान गरिरहेका छन् । सन् २००० मा एइओसी पाएको निगमले कुनै बेला भारतका विभिन्न सहर तथा दुवई, क्वलालम्पुर, हङकङ, बैंकक, सिंगापुर, साङघाई, ओसाका, लन्डन, पेरिस र फ्रयांकफर्टसम्म उडन गथ्ए । अहिले निगम ६ वटा नजिकका गन्तव्यमा सीमित छ ।

प्रतिक्रिया