सेयर बजारमा तीव्र उतार–चढाव

काठमाडौं, २४ वैशाख । संक्रमणकालीन राजनीतिक अवस्थाको प्रभाव गत साता सेयरबजारमा व्यापक पर्‍यो । चार दिन भएको काराबारमध्ये दुई दिन सर्किट ब्रेकर लागेर सेयर बजार घट्यो भने अन्तिम दिन सर्किट ब्रेकर लागेर नै सेयरबजार बढ्यो । गत हप्ता सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने समाचारसँगै गिरावट आएको सेयरबजारले पुन: सहमतिको सरकार बन्ने सार्वजनिक भएपछि एकाएक वृद्धि भएको थियो । अन्तिम दिनमा सेयरबजारमा तीव्र वृद्धि भए पनि साताभरिमा नेप्से परिसूचकले १८ दशमलव ७५ विन्दुले र्‍हास आयो । गत साता सेयरबजार परिसूचक नेप्से चार सय चार दशमलव २५ अंकमा स्थिर रह्यो ।
गत साता कुल एक सय १४ कम्पनीको चार हजार आठ सय ३१ कारोबारमा ३२ करोड ९४ लाख ९७ हजार रुपियाँ बराबरका नौ लाख ३१ हजार १९ कित्ता सेयर कारोबार भएको थियो । अघिल्लो साता एक सय ६ कम्पनीको ६ हजार पाँच सय २३ कारोबारबाट ४८ करोड ७१ लाख ४४ हजार रुपियाँ बरारबका १४ लाख २४ हजार ६ सय ७८ कित्ता सेयरको कारोबार भएको थियो । लगातार तीन दिन सर्किट ब्रेकरका कारण पूरा समय कारोबार हुन नपाएका कारण गत साता कारोबार रकममा कमी आएको एक्सचेन्जले जनाएको छ । कारोबार रकममा अघिल्लो साताको तुलनामा गत साता ३२ दशमलव ३६ प्रतिशतले र्‍हास आएको छ । कुल कारोबारमा ‘क’ वर्गका कम्पनीहरूको हिस्सा ७५ प्रतिशत रहेको छ ।
गत साता वाणिज्य बैंक उपसमूह १५ दशमलव ९२ अंकले, जलविद्युत् समूह २१ दशमलव २४ अंकले र्‍हास भयो भने नेपाल टेलिकम सूचीकृत अन्य समूह ७१ दशमलव ६५ अंकले झरेको थियो । नेपालको सेयरबजारमा वित्तीय संस्थाका सूचीकृत कम्पनीको सेयर मूल्यले समग्र नेप्से परिसूचकमा असर पर्ने गर्दछ ।
कारोबार रकमका आधारमा गत साता बैंक अफ काठमाडौं अग्रस्थानमा रह्यो । उक्त बैंकको पाँच करोड ७७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । रकमका आधारमा एभरेस्ट बैंक, चिलिमे हाइड्रोपावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक उत्कृष्ट कम्पनीमा रहे । वार्षिक साधारणसभा हुने भएपछि गत साता नेसनल हाइड्रोपावर कम्पनीको अत्यधिक कित्ताको सेयर कारोबार भयो । गत साता उक्त कम्पनीको एक लाख ४३ हजार दुई सय ६३ कित्ता सेयरको कारोबार भएको थियो । त्यसैगरी सबैभन्दा धेरै पाँच सय १५ वटा कारोबार बैंक अफ काठमाडौंको भएको थियो ।
गत साता एक्सचेन्जमा चार कम्पनीको बोनस सेयर सूचीकृत भए । प्राइम लाइफ इन्स्योरन्सको सात लाख २० हजार कित्ता, चिलिमे हाइड्रोपावरको ३८ लाख ३४ हजार ८० कित्ता, नेपाल एसबिआई बैंकको २३ लाख २३ हजार आठ सय ४३ कित्ता र नपाल एक्सप्रेस फाइनान्स फाइनान्सका एक लाख २९ हजार तीन सय सात कित्ता बोनस सेयर गत साता सूचीकृत भएका हुन् । त्यस्तै नेपाल एसबिआई बैंकको चार लाख थान ऋणपत्र पनि एक्सचेन्जमा सूचीकृत गरिएका छन् ।

प्रतिक्रिया