जुनुको पिंकु

‘के पिंकु अब फर्कंदैन ? साँच्चै मरेकै हो त ऊ ?’ बगैँचामा टोलाइरहेकी जुनु एक्कासि चिच्याइन्, ‘हैन, हैन, यो हुन सक्दैन । मेरो पिंकु मर्दै मर्दैन ।’
जुनु गुलाबको फेदमा थचक्क बसिन् । यसअघि नै उनले बिरुवा काँटछाँट गर्न लगेको कैँची फ्यात्त भुईंमा खसिसकेको थियो । साँच्चै झ्यापुल्ले पुच्छर हल्लाउँदै हरबखत अघिपछि गरिरहने पिंकुको यादले भुतुक्कै भएकी छिन् उनी ।
भएको के थियो भने त्यस दिन बिहानैदेखि पिंकु अलि अनौठो व्यवहार देखाउँदै थियो । सायद केही कुरामा चित्त बुझेको थिएन, ऊ एक्लै कुदेर सडकतिर गएको थियो । सडक पार गर्न लागेकै बेला एउटा ट्रक हान्निएर आयो । देख्नेहरू भन्छन्, ‘पिंकु ट्रकमुनि परेको थियो, त्यो मर्‍यो ।’
त्यसपछि जुनुले मात्र होइन, बुबा–आमा, दाइ र छिमेकी सबैले खोज्नुसम्म खोजे पिंकुलाई । तर, केही अत्तोपत्तो लागेन । ट्रकले किचेकै भए पनि मरेको पिंकु त्यहीँ हुनुपर्ने अथवा उसलाई लछारेको डोब त हुनुपर्ने नि । तर, केही संकेत छैन । निक्कै वरपरसम्म पनि कुनै नामोनिसाना छैन ।
जे आफूसँग छैन, त्यसैको याद बढी हुन्छ । जुनुका आँखावरिपरि भने पिंकु नै नाचिरहेथ्यो, मनभरि खेलिरहेथ्यो । जुनुका लागि पिंकु मामुली कुकुर होइन, घनिष्ठ साथी बनिसकेको थियो । सधैँ नुहाइदिनुपथ्र्यो । कुनै दिन ननुहाइदिने संकेत देख्यो कि कुईंकुईं गर्दै बाल्टिनको बिटमा अगाडिका दुवै खुट्टाले टेकेर मान्छेझैँ उभिँदै जुनुलाई हेरिरहन्थ्यो । नुहाइसकेपछि पानी पुछिदिने सुरसार देखेन भने रुमाल वा अरू कपडा भए पनि मुखले च्यापेर ल्याएर जुनुका अगाडि उभिइरहन्थ्यो ।
कसैले हेपेर कुकुर भनेर बोलाउँदा वास्तै गर्दैनथ्यो । पिंकु भनेर बोलाउँदाचाहिँ पुच्छर हल्लाउँदै खुसी प्रकट गथ्र्यो । जुनु पढिरहँदा टुक्रुक्क नजिकै बसेर साथ दिन्थ्यो । उनी फुर्सद हुँदा उफ्रदै टाउकोसम्म पनि पुग्थ्यो । बुबाले पूजा गरिरहँदा पूजाकोठाको ढोकामा ध्यानी बनेर बस्थ्यो । पूजा सकेर बुबाले रोटीको नैबेध दिएपछि खुसीले बुरुक्क उफ्रन्थ्यो । जुनु स्कुुलबाट आएपछि सँगै खेल्न निस्कन्थ्यो । बल हराउँदा झाडीभित्र पसेर भए पनि खोजेरै ल्याउँथ्यो ।  उसको यस्तो रमाइलो व्यवहारले जुनुको परिवार मात्र होइन, छिमेकी पनि छक्क पर्थे ।
यस्तो अचम्मको कुकुर देखेर कतिले किनेर लान पनि खोजे । तर, जुनु किन मान्थिन् र † उनले निकै ढिपी गरेपछि आमाले जन्मदिनको उपहारका रूपमा पिंकु ल्याइदिएकी थिइन् । त्यति बेला ऊ निकै सानो थियो, जुनुको हातमै अटाउँथ्यो । उसको शरीरभरि सेता र मुलायम भुत्ला थिए, कलिलो पिंकु निकै चम्किलो देखिन्थ्यो । जुनु उसलाई माया गरेर मुसारिरहन्थिन् । पिंकु पनि जुनु भनेपछि कम मरिहत्ते गर्दैनथ्यो, हरहमेसा जुनुकै साथमा बस्थ्यो । उनी नहुँदा खानै मन गर्दैनथ्यो । जुनु स्कुलबाट नफर्किउन्जेल मुस्किलले समय कटाउँथ्यो । उसलाई न्यास्रिएको देखेर त कतिपल्ट स्कुलै लिएर गएकी छन् जुनुले ।
त्यस्तो साथी आज साथमा नहुँदा किन पिर नपरोस् त ? उनलाई आमा–बुबाले निकै सम्झाइसके । छिमेकी र साथीहरू पनि पिर नगर्न भन्दै छन् । तर, जुनुको मन मान्दैमान्दैन । आँखामा आँसु पिलपिलाउन थालिहाल्छ । पिंकुको यादले छातीमा गाँठो पर्न थाल्छ ।
बिहान चाँडै उठेकाले बगैँचाको न्यानो घाममा जुनु झकाइन् । गुलाबको फेदमै पुर्लुक्क पल्टिन् । आमा घरधन्दामा हुनुहुन्थ्यो । बेलाबेलामा छोरी जुनुको उदास अनुहार हेर्दै पिरोलिनु हुन्थ्यो । ‘कसरी शान्त पार्नु यसको मन ?’ आमा मनमनै चिन्ता गरिरहनु भएको थियो, ‘यो केटी फेरि यति हठी छे, आफूले चाहेको नगरी छाड्ने होइन ।’
दिन ढल्ने बेलाको घाम पश्चिमी आकाशमा लम्कँदै थियो । जुनु अर्ध निद्रामा थिइन् । त्यहीबेला उनको मुखमा केही तातो हावा आयो । नाकले कुनै परिचित गन्धको आभास पायो । केही चिजले हल्का स्पर्श गरेझैँ लाग्यो । बिस्तारै उनका आँखा खुले– माया मारिसकेको पिंकु त उनको मुख सुँघ्दै उभिइरहेको रहेछ । उसको शरीरभरि हिलैहिलो लागेको थियो । ‘पिंकु तँ.. .. †’ जुनु चिच्याइन् । उनका आँखामा हर्षका आँसु छचल्किए । पिंकुको आँखामा पनि आँसु टिल्पिलाइरहेको देखिन्थ्यो ।
जुनुको स्वर सुनेर आमा पनि बगैँचामा आउनु भयो । पिंकु देखेर उहाँ पनि छक्क पर्नुभयो । ‘कहाँ हरा’को थिस् ? ट्रकले अचार बनायो भनेर हामीले त माया मारिसकेका, कति पिर पार्न सकेको तैँले,’ आमाले माया गरेर पिंकुलाई हल्का थप्पड लगाउनुभयो ।
‘यसलाई नपिट्नुस् आमा † धन्य, जिउँदै रहेछ,’ खुसीले रमाएकी जुनु बोलिन् । उनले तुरुन्तै मन तातो पानीले नुहाइदिएर पिंकुलाई सफा र सुकिलो बनाइन् । ट्रकमुनि परेर बेतोडले हुत्तिँदै नालीमा डुबेको र दिनभर संघर्ष गरी फर्केको पिंकुको कथा जुनुलाई थाहै थिएन । उनले धेरैबेरसम्म पिंकुलाई अँगालोमा च्यापिरहिन् । अनि भनिन्– अब मलाई छाडर नजा है †

प्रतिक्रिया