हस्तक्षेपको नयाँ रूप

वर्तमान सत्ता समीकरणमा छिमेकी मुलुक भारतको प्रत्यक्ष हस्तक्षेप भएको खुलासा भएको छ । गत बुधबार एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल निवासमा भएको उच्चस्तरीय छलफलमा भारतीय राजदूत जयन्तप्रसादको प्रत्यक्ष सहभागिताले यसको पुष्टि गरेको हो । नेपालमा जब–जब आन्तरिक राजनीतिमा किचलो सुुरु हुन्छ तब–तब भारतीय दबाब र निर्देशन बढ्दो रूपमा मुखरित हुने गरेको छ । अहिले पनि शान्ति र संविधानलाई टुंग्याउन राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सवालमा भारतीय राजदूतको प्रत्यक्ष भूमिका रहेको देखिन्छ । नेपालका राजनीतिक दलका नेताको नालायकी, कमजोर मानसिकता, दास मनोवृत्ति, निर्णय क्षमताको अभाव र लालची स्वभावका कारण नेपाली जनताले भारतीय दबदबा सहनुपरेको हो । भारतको चलखेल र हस्तक्षेपलाई राष्ट्रको स्वाभिमानमाथिको अतिक्रमण भन्दा पनि नेताहरूले सहयोग ठानिदिनाले जहिले पनि नेपाल हेपिने अवस्थमा पुगेको छ ।
भारतीय हस्तक्षेपको चर्को विरोध गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै निवासमा भएको मुलुकमा दूरगामी प्रभाव पार्ने महत्त्वपूर्ण छलफलमा भारतीय राजदूतलाई किन रोहवरमा राखियो भन्ने प्रश्न उठेको छ । के आफ्नो मुलुकको समस्या समाधान गर्न भारतको निर्देशन नभई नहुने अवस्थामा हामी पुगेकै हौँ ? दलका नेताहरूले कुन मुद्दा मिलाउन ती कूटनीतिज्ञको रोहवर आवश्यकता ठाने त्यसको जानकारी नेपाली जनताले पाउनुपर्छ । नेताहरूले दासत्व स्विकारे पनि नेपाली जनता स्वतन्त्र रूपमा स्वाभिमानी नेपाली भएर बाँच्न चाहन्छन् । तसर्थ नेताहरूले नेपालको स्वाधीनता, स्वतन्त्रता र अखण्डतामा आँच आउने काम गर्न मिल्दैन । सामरिक रूपले दक्षिण एसियामै महत्त्वपूर्ण मानिएको नेपालमाथि हस्तक्षेपकारी भूमिका खोज्दै आएको भारतले स्वाभाविक रूपमा आफ्नो उपस्थिति जनाउन चाहन्छ । नेपालका नेताहरूले ‘आफ्नो समस्या आफैँ मिलाउन सक्छौँ’ भन्ने सन्देशसम्म दिन नसक्नु राष्ट्रकै लागि घातक र लज्जाजनक अवस्था हो । नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले बाहिरैबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको थियो । तर, अहिले भने प्रमुख दलका नेताहरू मिलेर भारतलाई प्रत्यक्ष भूमिकाका लागि आमन्त्रण गरे, जसले गर्दा नेपाल राष्ट्र अप्रत्यक्ष रूपमै भए पनि भारतको अधीनस्थ छ भन्ने सन्देश संसारभर फैलियो ।
भारतीय राजदूतले आफ्नो मुलुकको हित खातिर काम गर्नु स्वाभाविक हो । तर, नेपालका नेता पनि उनको त्यो उद्देश्यपूर्तिका लागि औजार बन्नु भने अस्वाभाविक हो । लाजिम्पाट बैठकका क्रममा राजदूत्ले कूटनीतिक मर्यादा उल्लंघन गरेर गल्ती गरे भने नेपाली नेताले राष्ट्रको छविमा दाग लगाउने कार्य गरे । यसको मूल्यांकन इतिहासले नै गर्नेछ ।

प्रतिक्रिया