बस दुर्घटनामा दुईको मृत्यु, २९ घाइते

कैलाली, २३ वैशाख । कञ्चनपुरको भीमदत्तनगरबाट बझाङतर्फ जाँदै गरेको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको भाँसी भन्ने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख ४३९४ नम्बरको यात्रुवाहक बस गएराति दुर्घटना हुँदा २९ यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा भीमदत्तनगरपालिका–३ आनन्दटोलका बसका मालिक ४० वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय बसका सहचालक सुरेन्द्र चन्द रहेको प्रहरी निरीक्षक बलराम विष्टले बताए ।
बसमा सवार २९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विष्टको भनाई छ ।
गएराति ११ बजे प्रहरी स्कर्टिङमा सवारीसाधन सञ्चालन भइरहेका बेला अर्को गाडीलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया