जीवनको बाटो भोग कि योग

नो व नित्यं मधुरं सदैव, दिव्यौ वतां परिपूर्ण रूपम् ।
नित्यं वदान्य वरितं सहितं सदैव, गुरुर्वै प्रणम्यं त्वमेवं प्रणम्यम् ।।
तेजस्वी र क्रान्तिकारी ऋषि विश्वामित्रले यस श्लोकमा आफ्नो तथ्य स्पष्ट गर्दै गुरुसमक्ष प्रश्न राखे, जीवनका केवल चार चिन्तन छन् :
– जीवनको उद्देश्य र लक्ष्य के हो ?
– आफ्नो जीवनलाई कुन प्रकारले अग्रसर गराऊँ, कसरी अगाडि बढाउने ?
– जीवनलाई कसरी दिव्यताबाट ओतप्रोत गर्न सकिन्छ वा स्वयं चेतनायुक्त बनाउन सकिन्छ ?
– जीवनको त्यो क्षण कहिले आउला, जब गुरु हाम्रा सामु होऊन्, प्रवचन गरिरहेका होऊन्, हामी बसेर सुनिरहेका हुनेछौँ, उनी अमृत बर्साइरहेका होऊन्, आफ्ना कान, आँखा, शरीरका अंग–अंगले त्यो अमृत तत्त्व समेट्दै आफ्नो प्राणतत्त्व जागृत गर्नेतिर अग्रसर हुन सकौंँ ?
विश्वामित्रले यसरी आफ्नो जीवनको उद्देश्य र लक्ष्य के हो भनेर सोधेपछि गुरुले भने, ‘जीवन दुई प्रकारले जिउन सकिन्छ– एक जीवन भोगको माध्यमबाट, अर्को जीवन योगको माध्यामबाट । दुईवटा मात्रै बाटा छन्, तेस्रो बाटो छँदै छैन । जीवनको एक पक्ष योग हो भने भोग अर्को पक्ष हो ।
जे–जुन हामी प्राप्त गर्न सक्तैनौँ त्यो भोग हो, तृष्णालाई भोग भनिन्छ । भोगमा इच्छापूर्ति हुनै सक्तैन । भोगको तात्पर्य हो– हामी निरन्तर प्यासी बनिरहौँ, निरन्तर न्यून बनिरहौँ । भोगी व्यक्ति जीवनमा पूर्णता प्राप्त गर्नै सक्तैन, भोगी व्यक्तिको इच्छा जीवनमा पूरा हुनै सक्तैन । जो तनावग्रस्त जीवन बाँच्छ, त्यो भोगी हो । सारा संसार भोगको चिन्तन पद्धतिमा यसकारण बढिरहेको हो कि उसलाई कुनै बाटो मिलिरहेको छैन, उसलाई थाहा छैन– जीवनको लक्ष्य वा उद्देश्य के हो ?
तर, तिमीले त पूर्ण भोगका साथ पनि जीवन बिताउन पाइरहेका छैनौ । बितेका पच्चीस हजार वर्षमा केवल कृष्ण नै यस्ता व्यक्तित्व भए जो स्वयंमा पूर्ण भोगी बने । लोकले के भन्छ, के भन्दैन सोचेर के काम । किनभने लोकले त भन्छ, भन्छ । केही गरे पनि भन्छ, केही नगरे पनि भन्छ । तिम्रो समाजले तिमीलाई गाली गर्नुबाहेक अरू के गर्न सक्छ र † प्रशंसा गर्न सक्तैन तिम्रो । समाजको निर्माण नै यसैका लागि भएको हो । तिमीहरू जुन समाजमा बाँचिरहेका छौ, त्यो समाजमा आलोचनाबाहेक केही छँदै छैन । कृष्णलाई लाग्यो, भोगमा जीवन व्यतीत गर्ने हो भने पूर्णताका साथ बिताउने हो । त्यसमा ‘इफ, एन्ड, बट’ हुँदैन, त्यसमा सोच्नु, विचार गर्नुपर्दैन । जब आलोचना नै खप्नुपर्ने हो भने इतिहासमा पूरातरहले आलोचना नै होस्, लोकले याद राख्न सकोस् कि कुनै व्यक्ति थियो । घिसिपिटी जीवनको कुनै अर्थ छैन । यदि बदनाम नै भयो भने पनि इतिहासमा नाम लेखियोस् । इतिहासमा यदि नाम लेखिएन, लोकको जिब्रोमा नाम छैन भने यस्तो जीवनको कुनै उद्देश्य र लक्ष्य छैन ।
म यो भनिरहेको छैन कि भोगी नबन, म भन्छु– योगी बन तर पूर्ण आनन्दका साथ योगी बन । हरक्षण डराएर र रोएर प्रेम गर्न सकिँदैन । प्रेममा दुर्गन्ध हुँदैन, त्यो त दिल खोलेर गर्ने चिज हो । तिम्रो प्रेम स्वयंमा ज्यादै दुर्गन्धी र घटिया शब्द हो । परन्तु प्रेमको वर्णन वेदमा पनि छ । ऋग्वेदमा पनि भनिएको छ– जहाँ प्रेम छैन त्यहाँ सरसता छैन, जीवन कलकल बग्ने पानी बन्न सक्दैन । हजारौँ व्यक्ति यस्तो जीवन बाँच्छन्, जो प्रेमको परिभाषा बुझ्दैनन्, मात्र वासना ठान्छन् । हरक्षण दबिएर र त्रसित भएर भोगमा पूर्णताका साथ लाग्न सकिँदैन । नदीको कलकल गर्ने पानी जीवन हो । तिम्रो जीवन एक ठाउँमा अडिएको छ– एउटा परिवेशमा तिमी छौ, तिम्री पत्नी छिन्, दुई छोरा छन्, दुई छोरी छन्, भाइबहिनी छन् । बस, यिनैका वरिपरि घुमिरहेका छौ । छिमेकमा कोही बाँचिरहेको छ, कोही मरिरहेको छ, तिमीलाई चिन्ता छैन । तिमी र तिम्रो समाजले जीवन देखेको छैन ।
तर, विश्वामित्र यस्तो पहिलो व्यक्तित्व थिए जसले पूर्ण सन्यास लिएर पनि विवाह गरे । लोकले करायो– ‘यो के गरेको हो ?’ उनले भने– ‘के अप्ठ्यारो पर्‍यो, यसमा के गडबड भयो ?’ लोकले भन्यो– ‘तिमी यसरी अप्सरालाई नचाउन सक्तैनौ ।’ विश्वामित्रले भने– ‘म जरूर मेनकासँग नृत्य गराउँला, म यसै गर्नेछु । किनभने, जहाँ विद्रोह छैन, जहाँ च्यालेन्ज छैन, जहाँ प्राणमा तागत छैन, क्षमता छैन, त्यसले जीवनमा केही पनि गर्न सक्तैन । डरपोक व्यक्तिले केही गर्न सक्तैन । जो रोइरहेको छ उसबाट आशा के गर्ने †’ जसले यो रोगी समाजका बीचमा उभिएर विद्रोह गर्न सक्तछ, ऊ मेरो शिष्य बन्न सक्तछ । जो खडा हुन सक्छ च्यालेन्जका साथ, क्षमताका साथ, जो बगावत गर्न सक्छ ऊ मेरो शिष्य बन्न सक्तछ । तर, बगावत जो रुढिवादका विरुद्ध होस्, सत्य र धर्मका लागि होस्, आमजनको विकासका लागि होस् न कि बगावत आफ्नो स्वहित, स्वार्थ र लोलुपताका लागि ।
विश्वामित्रले जीवनको हरक्षणमा च्यालेन्ज उठाए । जो समाजले भन्यो– ‘यस्तो गर्नु हुँदैन ।’ उनले भने– ‘म यस्तै गरेर देखाउनेछु ।’ कृष्णले पनि विश्वामित्र भन्दा दुई हजार वर्षपछाडि त्यस्तै रूप अपनाए ।
कृष्ण बिलकुल मस्तीका साथ यमुनाको किनारामा बंसी बजाइरहन्थे । उनलाई यसको कुनै परवाह थिएन, को के गरिरहेको छ भन्ने मतलब थिएन । घर जाँदा नन्द र यशोदाले हप्काउँथे तिमीले यो के गरेको ? यो ठीक छैन । किनभने जब कृष्णले बाँसुरी बजाउँथे, गाउँका युवती, महिला दौडँदै त्यहीँ पुग्थे, उनीहरूको होस नै हुँदैनथ्यो, थाम्नै सक्दैनथे आफूलाई । परन्तु यदि तिमी भोगमय हुने हो भने के तिमीभित्र कृष्णको जस्तै आकर्षण क्षमता आउन सक्छ त ? आउन सक्तैन । त्यो आकर्षण शक्तिका लागि पनि प्राणतत्त्व चाहियो । भोगी तिमी बन्नै सक्तैनौ किनभने जसको प्राणतत्त्व जागृत छ, त्यसले नै प्रेम गर्न सक्तछ । तिमी प्रेम गर्नै सक्तैनौ, तिमी वासना गर्न सक्तछौ । तिमीले वासना गरेका छौ, वासनाको फल केवल सन्तान हुन्छ ।
जान्यो भने भोग स्वयंमा आनन्ददायक चीज हो । प्रत्येक क्षणलाई भोग गरौँ, प्रत्येक वस्तुलाई भोगौँ । संसारमा प्रभुले यति धेरै भोग छरिदिएका छन्, हामीले त्यसलाई बुझ्नै सकेनौँ । हामीले भोगको चिन्तनलाई घटिया शब्दमा बाँधिदियौँ । कृष्ण हड्बडाएनन्, उनलाई कुनै भय रहेन, जब गोपीहरूसँग छुट्टिएर मथुरा गए, त्यहाँ पनि कुब्जासँग प्रेम गरे । उनले भने म विनाप्रेम बस्नै सक्तिनँ किनभने प्रेम नै जीवनको आधार हो । कृष्णको जीवन भोगमय भन्न सकिएला तर भोगमय हुँदाहुँदै पनि कृष्णलाई योगेश्वर भनियो । यदि तिम्रो प्रणातत्त्व जागृत छ भने तिमी बिल्कुल विरक्त भएर भोगको आनन्द लिन सक्छौ । तिमीले जीवनको चिन्तनलाई बुझ्नै सकेनौ । यसर्थ, तिमीले आफूलाई भोगी पनि भन्न सक्तैनौ । तिमी रोगी जरूर छौ ।
विश्वामित्रले यही प्रश्न गरे कि जीवनको मर्म के हो र जीवनलाई कसरी व्यतीत गर्ने ? त्यतिबेला उनका गुरु ब्रम्हाले भनेनन् कि तिमी भोग नगर । उनले त भने– तिमी भोगमय बन, तिमी भोग गर तर दृष्टा बनेर गर, त्यसमा लीप्त नहोऊ । तिमीलाई भोगको परिभाषा नै थाहा छैन । मैले जीवनलाई बहुत निकटबाट हेरेको छु– त्यो सन्यासलाई पनि र गृहस्थलाई पनि । यसर्थ, जीवनलाई भोगमय जिउने हो भने प्राणका साथ जिउने, शरीरका साथ होइन । किनभने, प्रेम शरीरका साथ हुन सक्दैन तर प्राणका साथ हुन सक्छ । शरीरका साथ त वासना मात्र हुन सक्छ ।

अनुवाद : शिव ढकाल
‘नारायण मन्त्र साधना विज्ञान’बाट

प्रतिक्रिया