राजनीतिक विकासक्रमले सेयर बजार उकासियो

काठमाडौं, २२ वैशाख । राजनीतिक तरलताको प्रभाव विगत हप्तादेखि सेयर बजारमा देखिन थालेको छ । वर्तमान सरकारलाई अविश्वासको प्रस्ताव हाल्ने समाचार प्रकाशित भएपछि तीनपटक सर्किट ब्रेकर लागेर घटेको सेयरबजार बिहीबार सहमतिको सरकार बन्ने समाचारसँगै तीनपटकको सर्किट ब्रेकर लागेर उकालो लागेको छ । संविधानसभामा रहेका प्रमुख तीन दलसहित मधेशवादी पार्टीहरूको सहमतिको सरकार बन्ने सार्वजनिक भएपछि बिहीबार सेयरबजारको मापक नेप्से परिसूचक १९ दशमलव ८६ विन्दुले बढेको छ ।

बिहीबार १२ बजे खुलेको बजार करिब १५ मिनेट चलेर १५ मिनेटका लागि साढे १२ बजेसम्म स्थगित गरिएको थियो । त्यसपछि करिब तनि मिनेटका दौरान चार प्रतिशतभन्दा बढीले सेयर मूल्यका आधारमा तय हुने नेप्से परिसूचकमा वृद्धि भएपछि आधा घन्टाका लागि पुन: कारोबार स्थगित गरियो । एक बजेतिर बजार खुल्दा पनि सेयर मूल्य बढ्ने क्रम नरोकिएपछि पाँच प्रतिशतले सेयरबजार बढेपछि बिहीबारको लागि नै बजार कारोबार बन्द भयो । पटकपटक गरेर करिब एक बजेसम्म चालु रहेको कारोबारमा ६३ कम्पनीको चार करोड ५८ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । ६३ कम्पनीमा अरुण हाइड्रोपावर, सानिमा विकास बैंक (संस्थापक सेयर) र एस डेभलपमेन्ट बैंक गरी तीन कम्पनीको मात्र सेयर मूल्यमा गिरावट आएको थियो भने बाँकी ६० वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो ।
‘क’ वर्गका कम्पनीमात्र सामेल रहेको सेन्सिटिभ परिसूचक पाँच दशमलव ६ विन्दुले वृद्धि भएको छ । समूहगत रूपमा सबैभन्दा बढी बैकिङ समूहको परिसूचकमा ३० दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा जलविद्युत् समूहको परिसूचक १२ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । बिमा कम्पनी परिसूचक सात दशमलव दुई विन्दु, नेपाल टेलिकम संलग्न रहेको अन्य परिसूचक १० दशमलव ५७ विन्दु र वित्त कम्पनी परिसूचक एक दशमलव चार विन्दुले बढेको छ । बिहीबार चार सय २७ कारोबारमा एक लाख २१ हजार चार सय ५१ कित्ता सेयरको कारोबार भएको थियो ।
सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेजका अध्यक्ष एवं सेयर विश्लेषक रवीन्द्र भट्टराईले राजनीतिक परिवर्तनका नाममा गरिएको उच्च सट्टेबाजीले बजार बढाएको विश्लेषण गरे । उनले भने, ‘सुरुमा १०/२० कित्ता सेयरको कारोबार गरेर बजार बढाएको देखिएको छ । यो दीर्घकालीन वृद्धि होइन ।’
उच्च तरलता र ऋणमा वृद्धि नहुँदा बैंक तथा वित्तीय कम्पनीको नाफामा र्‍हास आइरहेको समयमा यस्तो वृद्धिलाई स्वाभाविक भने मान्न सकिंदैन । ‘वाणिज्य बैंकको नाफाले पनि अहिलेको उच्च वृद्धिलाई थेग्न सक्दैन,’ उनले भने । अहिलेको अवस्थामा चार सयको वरिपरि नेप्से परिसूचक रहनु पर्ने उनको विश्लेषण रहेको छ ।

जनता बैंकमा ७० करोडको निवेदन
काठमाडौं : सेयरबजार न्यून विन्दुमा रहेका समयमा पनि जनता बैंकको सम्पूर्ण सेयर बिक्री भएको छ । बैंकको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमध्येका एक सिभिल क्यापिटलले करिब ७० करोड रुपियाँ बराबरको सेयर बिक्री भएको बताए । जनता बैंकले ६० लाख कित्ता बराबरको ६० करोड रुपियाँको सेयर निष्काशन गरेको थियो । निरन्तर सेयरबजार घटेर हकप्रद सेयर र अन्य वित्तीय संस्थाका कम्पनीहरूको प्राथमिक सेयर निष्काशनमा पनि पर्याप्त निवेदन नपरेका अवस्थामा पनि बैंकको सेयर भने पूर्ण रूपमा बिक्री भएको सिभिलले बताए । बिहीबार बैंकको सेयर निवेदन दिने अन्तिम दिन हो ।

प्रतिक्रिया