कमजोर छैनन् पुलिसका प्रतिद्वन्द्वी

काठमाडौं, २२ वैशाख । एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगितामा यसपटक नेपाल पुलिस क्लबले पहिलो चरणमा सामना गर्ने तीन टोलीमध्ये किर्गिजिस्तानको डोरडोई बिस्केक बलियो मानिएको छ तर अन्य तीन क्लब पनि कमजोर भने छैनन् । आफैले चलाएका युथ प्रोजेक्ट, विदेशी प्रशिक्षक र राष्ट्रिय टोलीका अधिक खेलाडीको उपस्थितिका कारण ती टोली बलियो रहेका छन् ।
समूह ‘बी’मा रहेको नेपाल पुलिसले आफ्नो पहिलो खेल शनिबार किर्गिजिस्तानको डोरडोई बिस्केकविरुद्ध खेल्दै छ । नेपाल पुलिसको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।
पहिलो चरणमा नेपालले सामना गर्ने भुटानको एडजिन फुटबल क्लब पुलिस क्लबले कमजोर आँके पनि यसको उन्नतिको यात्रा र प्रतियोगिताका लागि गरेको तयारीलाई आधार मान्दा कमजोर भने पक्कै छैन । भरत खवास अनुपस्थित रहने र जुमानु राई खेल्ने कुरामा अन्योल रहेको समयमा प्रभावकारी रक्षक पेमा रिन्चेनको नेतृत्वमा रहेको रक्षापंक्ति पार गर्न पुलिस क्लबका लागि त्यति सहज भने हुनेछैन । भुटानको सबै उमेरसमूहका राष्ट्रिय टोलीमा अटाउँदै सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएका २२ वर्षीय रिम्चेनले सन् २००८, २०१० र २०११ को एएफसी च्यालेन्जकप छनोटमा उत्तिकै स्तरीय प्रदर्शन गरिसकेका छन् ।
मिडफिल्डर चेन्चो भुटानका त्यत्तिकै प्रभावकारी मिडफिल्डर हुन् । आफ्नो वास्तविक क्षमता उनले भारतको क्लब रोयल वाहिंगटनका लागि खेलेर देखाइसकेका छन् । गोलको अवसर सृजना गर्न मात्र होइन गोल गर्न पनि माहिर चेन्चोले २०११ को फेडेरेसनकपको पहिलो खेलमा मोहन बागानविरुद्ध दुई गोल गरेर आफ्नो क्षमता देखाइसकेका छन् ।
सन् २००२ मा स्थापित एडजिनले ग्रासरुट तहमै युथ प्रोजेक्ट सञ्चालन गर्दै गत सिजनमा १ सय खेलाडीलाई साथमा राखेको थियो । क्लबको आर्थिक अवस्थामा केही कठिनाइ उत्पन्न भएपछि यस सिजनमा ५० प्रतिभाशाली खेलाडी क्लबले राखेको छ । ६ पटक प्रेसिडेन्टकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर दुईपटक उपाधि जितेको डोरडोई बिस्केक किर्गिजिस्तानको चर्चित व्यापारिक संस्था डोरडोई एसोसिएसनले सञ्चालन गरेको हो । सुरुमा डोरडोई डाइनामोको नामले परिचित यो क्लबले २०१० मा नाम परिवर्तन गरेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक भ्लाडिस्लाभ भोल्कोभ र मासिम जिन्चेन्कोको साथै रक्षक भालेरी किचिन, टयालेन्ट सामिसालेभ, क्युमुजान सारिपोभ र फारुक अबिटोभल डोरडोईका तर्फबाट प्रेसिडेन्टकप खेल्न तयार रहेका छन् ।
यसैगरी ब्राजिलियन मिडफिल्डर जियन कार्लोस मोरेरा र एन्डरसन फ्रान्कोको कारण डोरडोई विगतको भन्दा बलियो रहेको छ । सन् २०११ मा रुसी नागरिकता लिएका भार्डिम हार्चेन्को अर्का प्रभावशाली मिडफिल्डर हुनेछन् । चार अन्तर्राष्ट्रिय गोल गरेका मुर्लान मुजारेभ डोरडोईका आक्रमणको मुख्य भर हुनेछन् । उनले २०१० मा दशरथ रंगशालामा नेपालसँग भएको एएफसी च्यालेन्जकपको छनोट खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । क्यामरुनका क्लाउडियो माका कुमको तेज गति डोरडोईको थप हतियार हुनेछन् ।
नोम्पेन्ह क्राउन एफसी युथ फुटबल प्रोजेक्टलाई विकास गर्ने सोचका साथ आफैले उत्पादन गरेका खेलाडीको उपस्थितिमा प्रसिडेन्टकप खेल्ने तयारीमा रहेको छ । चार विदेशी खेलाडी समावेश गरेको नोम्पेन्हले राष्ट्रिय टोलीका रक्षक रंग टाइनी प्रभावशाली खेलाडीको रूपमा रहेका छन् ।
नेपाली च्याम्पियनको हैसियतले प्रेसिडेन्टकपमा सहभागिता जनाउने पुलिस क्लबमा नेपालबाहिरका कुनै खेलाडी समावेश छैनन् । नेपाली राष्ट्रिय टोलीका रितेश थापा, रविन श्रेष्ठ र भोला सिलवाल नै पुलिसको मुख्य आशा बनेका छन् । आत्मबलका साथ खेल्न सक्ने र दबाबमा सामना गर्ने खुबी नै पुलिस क्लबको सफलताको मुख्य आधार बन्दै आएको छ । दबाबको सामना गर्न सक्ने यसै खुबीले पुलिस क्लबको यात्रा कहाँसम्म पुर्‍याउनेछ, प्रतीक्षाकै विषय हो ।

प्रतिक्रिया