मधेसतिरै मोडिएको यात्रा

मधेसका समस्याको राजनीतिक सम्बोधन कस्तो होला ? मधेसका समस्या अनि तिनको प्रभावसँग राजनीतिको कस्तो सम्बन्ध स्थापित हुन सक्ला ? राजनीतिमार्फत मधेसी जनताका समस्या समाधान होलान् कि नहोलान् ? यी र यस्ता विषय बुझ्नै नसकिने खालका अप्ठ्यारा थिए, भर्खर बालवयको उत्तरार्धतिर उकालिँदै गरेको एउटा मधेसी केटोलाई । सायद यस्ता कुरा त्यो कालोवर्णको केटाको बालमस्तिष्कले पटक्कै सोचेको थिएन होला त्यति बेला, उसलाई यसको आवश्यकता बोध नै पनि थिएन कि † तैपनि उसलाई समाजमा राम्रो काम गर्नुपर्छ भन्नेचाहिँ लाग्थ्यो रे † सामाजिक कार्यकर्ता बनेर विकृतिहरू अन्त्य गर्न लागिपर्नुपर्छ भन्ने भावनाचाहिँ सानो मुटुको अन्तरकुन्तरमा कतै सलबलाएको रहेछ ।
‘तर, मलाई राजनीतिमै छिरौँला, मन्त्री नै हौँला भन्नेचाहिँ थिएन है †’ उसले भन्यो । तर, आज ऊ त्यति अबोध बालक कहाँ छ र ? प्रत्यक्ष भोगाइ अनि अनुभूतिहरूमार्फत नेपाली राजनीति, अनि मधेसी आन्दोलनका पत्रपत्र छामेर उचित र अनुचित खुट्याउन सक्ने वयष्क राजनीतिज्ञ बनिसकेको छ । मुलुक निर्माणका पक्षमा झुन्डझुन्डबाट निस्कने विचारहरूका भीडमा आफ्नो वैचारिक कुण्डबाट पनि विचारको एउटा महत्त्वपूर्ण धारा प्रक्षेपण गर्न सक्ने भएको छ ।
यो पूरै ‘प्लट’ आएर जोडिन्छ उपेन्द्र यादवसँग, जो अहिले मधेसी जनअधिकार फोरमका अध्यक्ष छन् । अबोध बालवयबाट सोह्रवर्षे किशोरवयतिर उकालिँदै गर्दा वाम राजनीतिको स्पर्शमा परेछन् उनी । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँगको सम्पर्कपछि सोह्र वर्षमा उनको परिचयले एउटा अर्को हाँगो समात्यो– नेकपाको सदस्य । किशोर अवस्थाको एकोहोरो जोसमा कम्युनिस्ट पार्टीको सिद्धान्तको प्रभाव मिसिएपछि थप क्रान्तिकारी बनेछन् उनी । त्यसो त उनी सधैँ एकै ठाउँ बसिरहन सकेनन् वा चाहेनन्, केही समय पुष्पलाल समूहमा बसेपछि माक्र्सवादी, एमाले हुँदै नेकपा (माओवादी) मा लागे । त्यहाँ पनि चित्त नबुझेपछि अहिले मधेस आन्दोलनका नेता भएका छन् ।
यतिखेरचाहिँ उनको व्यस्तता अल्झिएर बसेको संविधान निर्माण र शान्तिप्रक्रियासम्बन्धी विषयहरूले बढाएका रहेछन् । भन्छन्– ‘संविधान बन्न नसकेकामा साह्रै चिन्ता लाग्छ, त्यसैले हिजोआज दिनहुँ यससम्बन्धी बैठकमै समय बितिरहेको छ ।’
पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता राजनीतिक हस्तीसँग काम गरेको लामो अनुभव छ उनीसँग । उनीहरूबाट सिकेको अनि अध्ययन गरेको कुरा आजसम्म काम लागिरहेको सुनाउने उपेन्द्रलाई सधैँभरि सम्मान गर्न लायक नेता पनि यिनै लाग्दा रहेछन् । सम्झिए– ‘पुष्पलालको प्रभावले नै हो, म राजनीतिमा लागेको ।’ जबदेखि राजनीति बुझे, तबदेखि उनलाई मधेस पछाडि परिरहेको अनुभूति हुन थालेको रहेछ । मधेसका मुद्दा उठ्न सकिरहेका छैनन्, पिछडिएका मधेसी जनताका लागि राजनीतिक तबरबाटै केही नगरी हुँदैन भन्ने छटपटीले निकै पोल्थ्यो रे उनको मन । भने– ‘उति बेला एमालेमा छँदा यी कुरा निकै उठाएँ । तर, नेताहरूले सुनी मात्र दिए, कार्यान्वयन गर्ने मामिलामा वास्तै गरेनन्, नेताहरूको यो बानीले दिक्कै लाग्यो ।’ यही कारण उनको राजनीति एमालेबाट मोडिएको रे † त्यो मोडले उनको मधेसी मनलाई वर्गीय आन्दोलनको चर्को नारा उरालिरहेको माओवादीतिर पुर्‍याइदिएछ । त्यहाँ पनि स्थिर हुन सकेनन् । समग्र मधेसको अधिकारलाई यो पार्टीले पनि वास्ता गरेन भन्ने लागेछ । अनि सोचेछन्– ‘मधेसीका अधिकारका लागि दिलोज्यानले लागिपर्ने मधेसी पार्टी नै पो खोल्नुपर्छ कि के हो ?’
राजनीतिक यात्रामा उनले फेरेका यिनै मोडहरूका कारण उनलाई बेलाबखत आरोप पनि लाग्ने गर्छ– ‘पार्टी फेर्दै हिँड्ने अवसरवादी ।’ तर, उनी यो आरोप स्वीकार गर्न तयार छैनन् । भन्छन्– ‘कम्युनिस्ट पार्टीमा रहँदा भएका फुट र जुटसँगै यताउता पर्नु स्वाभाविकै हो तर म एक्लै त कतै पनि गएको छैन ।’ माक्र्सवादको साम्यवादलाई विश्वास गर्नेहरूले नै सबैलाई समान व्यवहार नगरेका घटनाले साह्रै बिझ्थ्यो रे उनको मन । त्यसैले अझै पनि नेपाली कम्युनिस्ट पार्टीमा थुप्रै विभेद देख्दा रहेछन् । भन्छन्– ‘कम्युनिस्ट नेताहरूमा कताकता सामन्ती प्रवृत्तिको प्रतीक देख्छु, उनीहरू सर्वहाराको नाममा पुँजीपति बन्दै गएझैँ लाग्दै छ ।’
नेपाली राजनीतिमा मधेसका मुद्दा १२/१३ सालबाटै उठ्न थालेको उनले सुनाए– ‘त्यति बेला तराई कांग्रेसले उठायो ।  पछि सद्भावनालगायत पार्टीले उठाए । तर, व्यवस्थित लाग्दैनथ्यो ।’ ६२/६३ को आन्दोलनपछि भने आफूहरूले व्यवस्थित रूपमा यी मुद्दालाई अघि बढाएको दाबी उनी गर्छन् ।
त्यसो त नेपाली राजनीतिको कालचक्रभित्र मधेसी राजनीतिले पनि एउटा छुट्टै संरचना र चेतना स्थापित गरिसकेको छ । तर, मधेसी राजनीतिले जन्माएका ‘लाभ’ हरूमा पनि अधिकारबाट वञ्चित वर्गको नभई हुनेखानेहरूको मात्रै वर्चस्व रहेको आवाज उठ्ने गरेको छ । उपेन्द्र पनि यो स्विकार्छन् । भन्छन्– ‘हिजोकै दिनमा जत्ति त होइन, तर केही मात्रामा तिनै हाबी छन् आज पनि । मलाई लाग्छ– यस्तो अवस्था अब धेरै समय नरहला ।’
राजनीतिमा लाग्न परिवारको साथ सहयोग सधैँभरि रहँदै आएको रहेछ । सुनाउँदै थिए– ‘राजनीतिक पृष्ठभूमिकै परिवार भएकाले सजिलो भएको होला ।’ उपेन्द्रलाई सामान्य जीवनशैली मन पर्छ रे † त्यसैले राजनीतिको आवरणमा गलत काम गर्नुपर्ने आवश्यकता छैन रे † भन्छन्– ‘त्यस्तो कहिल्यै सोच्नु पनि नपरोस् ।’
हरेकचोटि हुने सरकार पुनर्गठनको प्रभाव मधेसी दलहरूमा प्रत्यक्ष परिरहेको देखिन्छ । अन्य ठूला दलको नेतृत्वमा हुने संयुक्त सरकारमा जाने कि नजाने भन्ने विवादले मधेसी दलहरू फुटिरहन्छन् । पदको लोलुपताले मधेसी नेताहरूको एकता एकाएक खण्डित हुन पुगिरहेको देखिन्छ । यो दृष्टान्तले आशंका उब्जाउँछन् मधेसीहरू नै पनि– के हाम्रा नेता साँच्चै एक ढिक्का भएर मधेसको दुखाइ कम गर्न भावनात्मक रूपमा तयार छन् त ? उपेन्द्रले नेतृत्व गरेको फोरम पनि दुईचोटि टुक्रिइसक्यो । अरू मधेसवादी दलहरूको हालत पनि इतिहासदेखि उस्तै नै छ । ‘यो देखेर निकै दु:ख लाग्छ, नेपालका पार्टीहरूभित्र द्वन्द्व हुनु नौलो कुरा त होइन तर मधेसवादीहरूमा चाहिँ चाहिने भन्दा बढी भएको हो कि †’ उनले सुनाए– ‘तर हामीभित्र मात्रै विवाद र द्वन्द्व रहेको चाहिँ होइन, अहिले माओवादी, एमाले, कांग्रेसदेखि एक सिट मात्र भएको चुरेभावरलाई हेर्दा पनि त्यस्तै अवस्था छ । हामीलाई मात्रै आरोप लगाउनुचाहिँ हुँदैन ।’ त्यसो त उपेन्द्रलाई मधेसी नेताहरूले नै अहिले आएर फेरि माओवादीतिर ढल्किएको आरोप लगाउँछन् । तर, उनी त्यस्तो आरोप लगाउनेलाई यसरी छेड हान्छन्– ‘माओवादीसँग को नजिक छ भन्ने त अहिले सत्तामा रहेकाहरूलाई हेरेर नै थाहा भइहाल्छ नि †’
मधेसका जनताकेन्द्रित दलको अध्यक्ष भएका कारण उनी क्षेत्रीय राजनीतिमा खुम्चिएको विश्लेषण पनि सुनिन्छ । तर, उनी आफूचाहिँ मूलधारकै राजनीतिमा रहेको दाबी गर्छन् । भन्छन्– ‘मैले कहाँ क्षेत्रीय राजनीति गरेको छु, यो त छालाको रङ हेरेर मूल्यांकन गर्नेहरूको पूर्वाग्रही सोचले ग्रस्त भनाइ मात्र हो ।’ मधेस आन्दोलन र मुद्दालाई गलत ढंगले प्रचार गर्ने कतिपय नेताको शैलीको उपजका रूपमा यस्ता कुरा आउने गरेको उनलाई लाग्छ । देशको सबै क्षेत्रका जनताले समान अधिकार पाउनुपर्ने इच्छा र आकांक्षा बोकेको छ रे उनको राजनीतिक लक्ष्यले । त्यसकै लागि अहिले संघीय प्रणाली, अन्तर्राष्ट्रिय अवस्था र नेपालको वस्तुस्थितिबारे गहिरो चिन्तन र अध्ययनमा डुबिरहने सुनाउँदै थिए उपेन्द्र ।

प्रतिक्रिया