फेसबुकबाट चरित्र हत्या

काभ्रे, २१ वैशाख ।  असारमा विवाह गर्न टीकाटालो गरेकी एक युवतीको परिवार फेसबुकका
कारण समस्यामा परेको छ । उनको नाममा खोलिएको फेसबुकमा चरित्रमा आँच पुग्ने सामग्री राखिएपछि उनी र टीकाटालो गर्ने केटाको परिवार तनाबमा परेपछि प्रहरीमा निवेदन हालिएको छ । तर, प्रहरीले अहिलेसम्म फेसबुक प्रयोगकर्ता पत्ता लगाउन सकेको छैन ।
कक्षा १० मा परीक्षा फारामका लागि प्रयोग गरेको तस्बिर प्रयोग गरेर उनको नाममा खोलिएको फेसबुकमा चरित्र हत्या हुने सामग्री राखिएका छन् । शिक्षकसँग प्रेम भएको, शारीरिक सम्पर्कपछि बसेको गर्भपतन गराइएको र योनिमा २१ टाँका लगाइएको कपोलकल्पित सामग्री राखिएका कारण दुवै परिवार तनाबमा परेका हुन् ।
केटा र केटी पक्षले खोजी गरे पनि फेसबुक प्रयोगकर्ता फेला परेका छैनन् । प्रहरी महिला
सेलले केटाकेटी, आफन्त र शंका लागेका व्यक्तिसँग अनुसन्धान गरे पनि प्रयोगकर्ता पहिचान हुन
सकेको छैन ।
केटाको परिवारले केटीको चरित्रका बारेमा अध्ययन गर्दा फेसबुकमा भनेजस्तो नपाइएपछि सहमतिमा आएका छन् र दुवै परिवारले अपराधी पत्ता लगाउन अपिल गरेका छन् । महिला सेल प्रमुख असइ कल्पना सापकोटा साइबर अपराधका बारेमा अनुसन्धान भइरहेको बताउँछिन् ।
काभ्रेमा यौन हिंसामा फेसबुकसमेत प्रयोग भएपछि प्रहरीलाई समस्या परेको छ । यस्तै एक साताअघि दाप्चाकी १२ वर्षीया बालिकालाई बसभित्रै यौन दुव्र्यवहार भएको छ ।
काभ्रे दाप्चा छत्रेबाँझका ४३ वर्षीय रामकृष्ण श्रेष्ठले बसको सिटमै स्तन समातिदिँदा बालिका बेहोस नै भएकी थिइन् । धुलिखेल अस्पतालमा बालिकाले स्तन दुख्ने गरी समातेकाले बेहोस भएको बताएकी थिइन् । प्रहरीले श्रेष्ठलाई सार्वजनिक मुद्दा दर्ता गरेर पनि आमाले मिलापत्र गर्नु पर्‍यो भनेपछि अभियुक्तले उन्मुक्ति पाएका छन् । उनले दबाबमा परेर मिलापत्र गरे पनि समाजमा थप यौन हिंसा हुने असइ सापकोटाले बताइन् ।
काभ्रेमा वैशाखमा यौन हिंसा बढेका छन् । १० वैशाखमा श्यामपाटी–३ मा ६३ वर्षीया वृद्धा जबर्जस्तीमा परेकी छन् । स्थानीय अजय लामा मोक्तानले उनलाई बारीमै यौनका कुरा गरेर जबर्जस्ती गरेका हुन् । उनी चिच्याएपछि गाउँलेले मोक्तानलाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन् ।

प्रतिक्रिया