तलव नदिने मिडियाको नविकरण रोक्न महासंघको दबाव

काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पालना नगर्ने तथा नियमित पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सरकारलाई दबाब दिएको छ ।
महासंघले पत्रकारहरुलाई नियमित र न्यूनतम पारिश्रमिक नदिने रेडियो तथा टेलिभिजनहरुको प्रसारण अनुमतिपत्र नविकरण नगर्न सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवको ध्यानाकर्षण गराएको हो ।
सन्चारमन्त्री यादवले सरकारले यस विषयलाई तत्काल कारवाहीमा लैजाने बताएका छन् । उनले आफू सन्चारमन्त्री भए लगत्तै श्रमजीवी पत्रकारको पक्षमा काम गरिरहेको बतादै सरोकारवाला संगठनहरुसँग समन्वय गरेर श्रम शोषण गर्ने मिडियाहाउसमाथि कारवाहीमा जाने बताए । नेपाल पत्रकार महासंघ उपत्यका तथा प्रतिष्ठान शाखाहरुले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष शिव गाउँलेले असार मसान्तभित्र पत्रकारहरुलाई तलब भुक्तानी नगर्ने तथा न्यूनतम पारिश्रमिक लागू नगर्ने रेडियो एवं टेलिभिजनहरुको लाइसेन्स नविकरण नगर्न आग्रह गरेका छन् । उनले अब महासंघ श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न आन्दोलनका साथै कानूनी लडाइमा अघि बढाउने बताए ।
कतिपय टेलिभिजनहरुले ८ महिनासम्म पनि पत्रकारलाई पारिश्रमिक नदिई काम लगाएको भन्दै महासंघ केन्द्रीय सदस्य मात्रिका पौडेलले सरकारले कानून बमोजिम ती मिडिया हाउसलाई कारवाही गर्नुपर्ने बताए । उनले तलव नदिने त्यस्ता संस्थामा ताला लगाउन महासंघ बाध्य हुने चेतावनी समेत दिएका छन् ।
क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, न्यूतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मालगायतले श्रमजीवी पत्रकारको पक्षमा तत्काल काम गरेर देखाउन सन्चारमन्त्री यादवको ध्यानार्षण गराएका थिए ।
कार्यक्रममा महासंघ केन्द्रीय सदस्य एवं उपत्यका समन्वय समितिका सह–संयोजक दामोदर तिम्सिना, केन्द्रीय सदस्य प्रभात चलाउने, प्रतिष्ठान संयोजक बालकृष्ण बस्नेत, पूर्व केन्द्रीय सदस्य उजिर मगर लगायतले पनि पत्रकारलाई समयमा तलव उपलब्ध गराउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया