‘वल्र्ड कप इन नेपाल’ को च्यारिटी


काठमाडौं, २० वैशाख । फुटबलसम्बन्धी पहिलो नेपाली फिचर फिल्म ‘वल्र्डकप इन नेपाल’ को काठमाडौमा पहिलो च्यारिटी शो मंगलबार सम्पन्न भयो । धापाखेल कलाकेन्द्रको सहयोगार्थ आयोजित च्यारिटीमा करिब सात सय मानिस उपस्थित भए । नेचुरल मुभी मेकर्सका लागि निर्माता प्रकाश थापा र राम तामाङले तयार पारेको चलचित्रमा निर्देशक रामशरण पाठकले फुटबलमा आम नेपालीको क्रेजलाई प्रस्टसँग देखाएका छन् ।
फिल्ममा आम नेपाली बालकको फुटबल खेल्ने चाहना, पारिवारिक अवरोध र भौगोलिक विविधताले पार्ने कठिनाइलाई प्रस्टसँग औंल्याइएको छ । नेपाली युवाको फुटबलप्रतिको क्रेज, नेपाली युवाको फुटबल खेल्ने तीव्र चाहना र यसका लागि गर्ने मिहिनेतलाई फिल्मले प्रस्ट पारेको छ । फिल्मको मूल पात्र काठमाडौंको ‘ए’ डिभिजन क्लबबाट बाहिरिएपछि फुटबलप्रति निराश भए पनि कुनै गाउँमा केटाकेटी खेलप्रतिको त्यो लगाबका कारण प्रभावित हुन्छन् ।
फुटबल खेल्नका लागि मोजाको झुत्रोबाट बनाइएको बल खेलेपछि धेरै दर्शकले आफ्नो बाल्यकालको स्मरण गर्छन् । बाल्यकालमा साँझ फुटबल खेल्ने समयमै आम व्यक्तिले गर्ने उपद्रोका दृश्यले हरेकलाई आफ्नो बाल्यकालको सम्झना गराउँछ ।
कामको समयमा दैनिक घरबाट निस्कने र फुटबलमा मात्र चासो दिने र अन्य उपद्रोको कारण वाक्क अभिभावकले आफ्ना बच्चालाई निगरानीमा राख्न थालेपछि गाउँभन्दा टाढा कुने ठाउँमा लुकेर फुटबल खेल्न थालेका हुन्छन् । अभिभावकलाई सहरबाट गाउँ पुगेको त्यही मूल पात्रले सम्झाएपछि सबैले सम्झिन्छन् । नजिकिएको विश्वकप हेर्ने गाउँका सबैको चाहनालाई फिल्ममा प्रस्ट पारिएको छ । विदेसिएका श्रीमान् ६ वर्षसम्म नफर्केपछि यौनकुण्ठा पालेकी महिला फुटबलकै लागि समर्पित त्यही युवाले सम्झाएपछि आफूलाई पूर्णरूपमा परिवर्तन गर्छिन् । सम्झाउने क्रममै त्यही युवाको एउटा संवादले गाउँ नै बदलिदिन्छ, ‘बच्चाको रहर न बुझ्नेले बच्चा जन्माउने रहरचाहिं किन गर्नु ?’
नेपाली युवाको फुटबल खेल्ने चाहनालाई प्रस्ट पारिएको फिल्मका केही दृश्य मन छुनेखालकै छन् । एउटा बालकले बाबुको पिटाइ खाएपछि घरमा झुन्डयाइएको लियोनेल मेसीको फोटो हेर्दै सोध्छ, ‘तँलाई पनि तेरो बाबुले यसैगरी पिट्थे, मेसी ?’ त्यो सोधाइ साँच्चै मार्मिक छ ।
रंगमञ्चको दुनियाँबाट पहिलोपटक फिल्ममा देखिएका गोपाल अर्यालको बेजोड अभिनय रहेको चलचित्रमा सोनु केसीका साथमा एन्फा एकेडेमीका खेलाडीकै मुख्य भूमिका छ । खेलाडी भए पनि जीवन्त अभिनय गर्ने उमेश थापा भनछन्, ‘नेपालमा हरेक कुनामा फुटबलको उत्तिकै क्रेज छ र हरेक ठाउँमा फुटबल खेल्न चाहनेको उत्तिकै भिड छ र लगाब पनि छ भन्ने फिल्मले प्रस्ट पारेको छ ।’
फिल्मका निर्माता प्रकाशका अनुसार फुटबलमा नेपालीको कत्तिको क्रेज छ भन्ने. देखाउनु नै फिल्मको मुख्य उद्देश्य हो । फिल्मको टाइटल गीत ‘गोगो गोल’ आम फुटबल क्षेत्रमा परिचित बनिसकेको छ । साथमा मनोहर गौतमको ‘म त सानो मान्छे एक दिन ठूलो बन्छु होइन र बोलको गीतमा त्यत्तिकै मिठास पनि छ । जुगल श्रेष्ठको संगीत रहेको चलचित्रमा छायांकनको काम पनि सामान्यभन्दा राम्रो छ । फुटबल यानको रूपमा रहेका प्रकाशले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गर्ने यमबहादुर घले (वाइबी घले) को गाउँ गोरखाको वारपाकलाई छायांकनको केन्द्र बनाएका छन् । छायाँकार मनीष पन्तले वारपाकको सुन्दर दृश्यलाई त्यत्तिकै राम्रोसँग क्यामेरामा कैद गरेका छन् ।

प्रतिक्रिया