रोनाल्डो इटालियन ‘सेरी ए’ मा खेल्न इच्छुक


म्याड्रिड, १९ वैशाख । इटालीमा ‘नखेल्ने’ आफूले कहिल्यै नभनेको औंल्याउँदै क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्न सक्ने संकेत गरेका छन् । सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियलमा आएका हुन् । रियलका लागि १ सय ४१ पटक खेल्ने क्रममा उनले १ सय ४३ गोल गरिसकेका छन् ।
रोनाल्डोले स्पेनमा खुसी रहेको बताइरहे पनि उनले इटालियन फुटबलमा नजाने कुरा गलत भएको बताउँदै त्यहाँका तीन ठूला क्लबको खुलेर प्रशंसा गरे । ‘इटालियन फुटबललाई म सम्मान गर्छु तर यो इङलिस प्रिमियर लिग र स्पेनिस प्रिमेरा लिगापछि तेस्रोमा पर्ने कुरालाई नकार्न मिल्दैन ।’ उनले भने, ‘तर, त्यहाँ जान्न भनेको छैन किनभने त्यहाँ इन्टरमिलान, युभेन्ट्स र एसी मिलानजस्ता विश्वस्तरीय क्लब छन् ।’
उनले रियलका लागि खेल्ने क्रममा आफूले खुसी अनुभव गरिरहेको पनि बताए । ‘रियलका लागि खेल्नुमा मलाई गर्व छ किनभने मलाई यहाँ खुसी मिलिरहेको छ ।’ उनले भने, ‘जब तपार्इंलाई खुसीको अनुभव हँदैन त्यसपछि मात्र मैले छाड्नुपर्ने बेला भएछ भनेर सोच्नुपर्छ ।’
२७ वर्षीय रोनाल्डोले क्लब प्रशिक्षक जोसे माउरिन्होको पनि खुलेर प्रशंसा गरे । ४९ वर्षीय माउरिन्होबारे उनी भन्छन्, ‘माउरिन्हो विश्वलाई नै अचम्मित बनाउने प्रशिक्षक हुन् किनभने उनले इङल्यान्ड, इटाली र पोर्चुगलमा दिलाएका उपाधिले यसो भन्छ ।’
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिए पनि रियल म्याड्रिड घरेलु लिगको उपाधिनजिक छ । बुधबार एथलेटिको विल्वाओविरुद्ध हुने खेलमा विजयी भए रियल दुई खेलअगावै यस संस्करणको स्पेनिस लिग च्याम्पियन हुनेछ । रोनाल्डोले जारी स्पेनिस लिग संस्करणमा ४३ गोल गरेका छन् । उनीसँगै बार्सिलोनाका लिओनेल मेसीले पनि ४३ गोल गरेका छन् । यसअघिका कुनै पनि संस्करणमा यति धेरै संख्यामा व्यक्तिगत गोल भएको थिएन ।

प्रतिक्रिया