एचआइभी दबाएर हाँसिरहेका अनुहार

कसैका बा छैन कसैका मा छैन !
एचआइभी भएछ मलाई था छैन !
हाम्रो दु:ख सरकारलाई था छैन !!
माथिको शब्द गीतको शैलीमा भनिरहँदा दर्ना ४–अछामकी गंगा विक (४०) हाँस्दै थिइन् । मानौँ, उनको शरीरमा रोग नामको कुनै वस्तु प्रवेशै भएको छैन । तर, उनको छेउमै बसेर उनका पीडा कैद गर्नेलाई भने कताकता असजिलो महसुस भएको थियो ।
शंका त उनलाई थियो नै श्रीमान्सँंग । बम्बैबाट आउनेबित्तिकै तर पुरुषप्रधान  समाजमा उनलाई श्रीमान्प्रति शंका गर्ने अधिकार पनि रहेन । ‘मलाई शंका गर्ने ?, अन्त कहाँ गइस्’ भनेर उल्टै भकुरेछन् श्रीमान्ले । तेह्र वर्ष भयो पतिले उनलाई छाडेर गएको । अनि गंगालाई एचआइभी भएको पनि तेह्रै वर्ष भयो ।
अछाममा गंगाजस्ता धेरै महिला छन्  पतिले दिएको मृत्युको उपहार बोकेर बाँचेका । उनीहरूको अगाडि छन् त केवल संघर्ष र चुनौती । छैन केही अरू । गंगा आफू सामाजिक संस्थामा पनि क्रियाशील छिन्, बाँचुन्जेल आफू र आफूजस्तै दु:खीहरूका लागि केही गर्नुपर्छ  भन्ने पवित्र भावना लिएर । गंगोत्री नामक संथाले नवजीवन दिएको बताउँछिन् ।
नातिनातिना खेलाएर बस्ने उमेरकी कलु विक (४५) को कथा पनि गंगाभन्दा फरक छैन ।  चाउरिएका गाला अनि शरीरमा रोगको पीडा । मलिन अनुहारले भनेझँ लाग्छ– मेरा श्रीमान्ले मलाई बैमानी नगरेको भए आज म भारी बोकेर वा कोदालो खनेर आनन्दले बाँच्थे हुँला । कलुले भनिन्– के गर्ने हजुर, औषधिसँग सिस्नोले बाँच्नुपरेको छ । कापीकलम नपाएर बच्चा स्कुल जान नपाउँदा आँखाबाट आँसु बग्छ । पत्रकार आउँछन्, लेख्छन्, जान्छन्, हाम्रो समस्या जहाँको त्यहीँ, कति पोख्नु पीडा †’  एघार वर्ष भयो उनका श्रीमान् बितेको । त्यति बेला के रोग थियो, थाहा थिएन उनलाई । आठ वर्षअघि उनै गंगाले शंका लागी जँचाउन लाँदा देखियो, उनको रगतमा एचआइभी पोजिटिभ ।
अछामका घरमा गरिबी र अभावले चुलो बल्न न छाडेको भए किन जाँदा हुन् उनका श्रीमान्हरू, छोराछोरी र श्रीमतीको भोको पेट भर्न र खाली आङ टाल्न बम्बैको गल्ली । भारी मनले अभिभावक बिदा गर्दा उज्ज्वल दिन कल्पेको थियो परिवारले । बेरोजगारी र गरिबीले बम्बै पुग्ने अछामका धेरैले घरमा केटाकेटीका लागि नाना र खानासँगै प्राणघातक रोग एचआइभी पनि ल्याए ।
पद्मा विक उमेरले साठी पुगिन् । उनलाई श्रीमान्ले छाडेर गएको पनि पाँच वर्ष भयो । अरूले जस्तै उनले पनि पति बाँचुन्जेल पत्तै पाइनन् के रोग थियो भनेर । सोझी र इमानदार उनलाई कोठीमा पति गएको र प्राणघातक रोग ल्याएको के पत्तो ? भनिन्, ‘हामीलाई आज औषधि खान सहयोग गर्ने यही गंगा हो । एक बढाले छाडिगए, अब यही गंगा हो हाम्रा बढा †’
गंगालाई सामाजिक संस्थाले हिम्मत दिएको छ । उनी सार्वजनिक रूपमा भन्छिन्– मलाई एचआइभी छ ।’ सबैसँंग आफ्नो दु:ख बाँड्दै सचेत हुन आग्रह गर्छिन् । ‘मलाई केको डर, अन्त गएर रोग लागेको भए पो डराउनु, आफ्नै श्रीमान्बाट सरेको हो’ –समाजमा ढुक्कसंँग भन्छिन् । रोग लुकाउने कारणले पनि समस्या बढेको उनको भनाइ छ– ‘मेरा बढा सचेत र होसियार भएको भए आज मैले दु:ख पाउने थिइनँ ।’
अछाममा कमी छैन गैरसरकारी संस्था र स्वास्थ्यमा काम गर्ने सरकारी कार्यालयको । तर, एचआइभीपीडित र उनीहरूका पीडा भने जहाँको त्यहीँ छ । एकल महिला र केटाकेटीको अनुहारमा हाँसो, मनमा पीडा अनि नसामा रोगसहित बगेको रगत छ । गरिखाने माटो देखिने पाटो भएका भए नजाँदा हुन् बम्बैको गल्ली चाहार्न । दामका लागि गएको ज्यानले मन, भावना र आवेगलाई नियन्त्रण गर्न सकेको भएको आज अछामका घरहरूमा एचआइभीले प्रवेश पाउने थिएन होला । पति र बाबुहरू परिवार अनि आफूप्रति इमानदार बन्न नसक्दा अभिभावककै कारण टुहुरा भएका मात्र होइन, मृत्यु कुर्दै छन् अछामी महिला र केटाकेटी । नत्र सबैभन्दा बढी एचआइभी भएको जिल्ला भनेर अछाम चिनिँदैनथ्यो ।
अछाममा नियमित औषधि सेवन गर्ने केटाकेटीसहित एक हजार दुई सय १० जना यसबाट प्रभावित छन् । तर, यो संख्या तीन हजारको हाराहारीमा भएको अनुमान छ त्यहॉ क्रियाशील संस्थाको । एचआइभीबाट मर्नेको संख्या ४२ पुगेको छ– जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक । ‘आज पनि रोग लुकाउने र स्वास्थ्यसंस्थामा सम्पर्क नगरी मर्नेको संख्या धेरै होला’ –अभियानकर्ता भन्छन् ।

प्रतिक्रिया