वैदेशिक रोजगारीका कामदारलाई भलाइ कोष

काठमाडौं, १८ वैशाख । वैदेशिक रोजगार व्यवसायी संघले कामदारको हकहित र संरक्षणका लागि भलाइ कोष स्थापना गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएका कामदार विभिन्न कारणले घाइते वा मृत्यु भएमा उनका परिवारलाई राहत तथा क्षतिपूर्तीको व्यवस्था गर्न तथा कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन कोष स्थापनाको तयारी गरिएको हो ।
विभिन्न समयमा रोजगारीमा गएका कामदार जोखिममा पर्ने, अंगभंग तथा मृत्यु हुने भएकाले उनका परिवारलाई राहतउपलब्ध गराउन र चेतनामूलक कार्यक्रम सञ्चालन गर्न भलाइ कोष स्थापनाको तयारी भइरहेको संघकी सचिव सुवर्णा श्रेष्ठले जनाइन् । उनका अनुसार अहिले संघले पञ्चवर्षीय रणनीतिक योजना बनाइरहेकाले त्यसभित्र कोष स्थापनाको कार्यक्रमसमेत समावेश छ ।
कोषमा वैदेशिक रोजगारमा जाने कामदारबाट प्रतिव्यक्ति तीन सय रुपियाँ राखिने तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषमा कामदारले बुझाउने एक हजार रुपियाँबाट दुई सय रुपियाँ माग गरिने उनले बताइन् । सो रकम नितान्त कामदारका हितमा खर्च गरिने पनि उनले बताइन् । अहिले बोर्डअन्तर्गत कोषमा ठूलो रकम भए पनि कामदारका हितमा न्यून मात्र खर्च भइरहेको छ ।
यस्तै, संघले बनाउने रणनीतिक योजनामा विभिन्न क्षेत्रका सरोकारवाला पक्षसँग छलफल गरी वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन आवश्यक कार्यक्रम तय भइरहेको श्रेष्ठको भनाइ छ । अहिले वैदेशिक रोजगारीमा व्यक्तिगत श्रम स्वीकृति बढ्दै गएको तथा विभिन्न मुलुकमा रोजगारीमा गएका कामदार करारअवधि नसकिँदै रोजगारीबाट निकालिँदै आएकाले यी विषयलाई समेत पञ्चवर्षीय योजनामा समेटिने उनको भनाइ छ ।

प्रतिक्रिया