बन्दले जनजीवन अस्तव्यस्त


कैलाली, १८ वैशाख । लगातार चार दिनदेखिको बन्दका कारण सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका कारण अत्यावश्यकीय
सामान, औषधिको अभाव भएपछि सर्वसाधारणलाई निकै गाह्रो भएको छ । यात्रुहरू गन्तव्यमा जान पाएका छैनन् ।
राज्य पुन:संरचना प्रस्तावमा सुदूरपश्चिमको मौजुदा संरचना कायम गरिनुपर्ने भन्दै गरिएको अनिश्चितकालीन बन्दले दैनिक ज्यालामजदुरी गरेर खाने समुदायका मानिस मारमा परेका छन् । बन्दपछि कैलालीको धनगढी, अत्तरिया, महेन्द्रनगर बसपार्कलगायत क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण बिचल्लीमा परेका छन् ।
भारत पञ्जाबबाट छोरीको विवाहका लागि घर फर्केका डोटीका उदय लोहारले विवाहका लागि ल्याएको पैसा होटलमा खाँदा र बस्दा सकिएको बताए । उनले बन्दका कारण छोरीको विवाह रोकिएको र मजदुरी गरेर ल्याएको पैसा पनि सकिएको बताए । यस्तै, ऋण गरेर भारतमा उपचार गरी फर्किएका विक्रम शाहीले होटलमा बस्दा ऋण थपिएको बताए । यात्रुहरूले स्थानीय प्रहरी प्रशासनलाई स्कर्टिङ गरेर घर पठाइदिन आग्रह गरेका छन् ।
कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय पनि आइतबारदेखि बन्द गरिएको छ । चार दिनदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था ठप्प छन् । बन्दकर्ता बिहानैदेखि लठ्ठीसहित सडकमा अखण्ड सुदूरपश्चिमको माग गर्दै नाराबाजीमा उत्रिएका छन् । बन्दका कारण लोकसेवा आयोग, कक्षा १२ तथा स्नातक तह प्रथम वर्षका परीक्षार्थी पनि परीक्षाबाट वञ्चित भएका छन् ।
एकीकृत नेकपा (माओवादी)ले ल्याएको जातीय पहिचानसहित १० प्रदेशको प्रस्तावमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई टुक्रयाएको भन्दै आन्दोलनमा उत्रेकाले अनिश्चित आमहडतालमा सेवा दिएको भन्दै बुद्ध र यती एयरलाइन्सका उडान पनि बन्द गराएका छन् । बन्दकर्ताले एयरलाइन्सको कार्यालय तथा गेटा विमानस्थलमा गएर उडान बन्द गराएका हुन् । ४७ सिट क्षमताको बुद्ध एयर र ३० सिट क्षमताको यतीको सेवा काठमाडौं–धनगढी–काठमाडौं बन्द भएपछि एक सातासम्मको टिकट बुक भए पनि सेवाग्राहीको यात्रा रोकिएको छ ।
यसैबीच, कैलालीका २१ संगठन आइतबारबाट कैलाली, कञ्चनपुरसहितको अखण्ड थरुहटको पक्षमा आन्दोलन गर्न गाउँ पसेका छन् । आइतबार धनगढीमा बसेको आदिवासी संगठनको बैठकले गाउँ पसेर आन्दोलन गर्ने निर्णय गरेको हो ।
उनीहरूले २१ वटै संगठनका प्रतिनिधि राखेर थारू कल्याणकारिणी सभाको नेतृत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । गाउँ आन्दोलनका क्रममा जनजातिलाई थरुहटको पक्षमा आन्दोलित हुन आग्रह गर्ने, थारुवान वा थरुहटको पक्षमा प्रचारप्रसार, पम्पप्लेटिङ गर्ने, जनपरिचालन गर्ने, जनजागरण गर्ने निर्णय भएको थारू कल्याणकारिणी सभाका सचिव माधव चौधरीले बताएका छन् । उनले  २० वैशाखमा धनगढीमा सभा तथा २९ वैशाखमा जनप्रदर्शन गर्ने तयारी भएको बताए ।
फिर्ता लिन आग्रह
लगातार चार दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राखेर भएको बन्दले जनजीवन प्रभावित भएपछि विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै बन्द फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै बन्द फिर्ता लिन आग्रह गरेका हुन् । धनगढीस्थित राष्ट्रिय मानवअधिकार आयोगका निमित्त प्रमुख पवनकुमार भट्ट, इन्सेकका खड्कराज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संयोजक कर्ण शाह, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हेमन्त पौडेल, लोकतन्त्र र शान्तिका लागि नागरिक समाज कैलालीका अध्यक्ष धर्मराज पाठकलगायतले बन्द फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया