हडतालहरुले मोडिएको मन

सायद उनी ‘इन्टरनल’ परीक्षाको उत्तरपुस्तिका जाँच्दै थिइन् । मेरो उपस्थितिको केही क्षणसम्म पनि उनको ध्यान मोडिएन । सोच्दै थिएँ- यी मान्छे खुल्दिनन् होली । शिक्षासेवी गीता राणाले एकाएक आफूछेवैको सोफा देखाउँदै भनिहालिन्- ‘यतै बस्नुस् न ।’ मैले उनको बाल्यकालबारे कोट्याएँ, उनले कापीकलम थन्क्याइन् । विसं. २०१० भदौ ३ गते जन्मिएकी शिक्षासेवी राणालाई जन्ममिति कण्ठ रहेनछ । उनले छेवैको ब्यागबाट नागरिकता निकालिन् । भनिन्- ‘म क्षत्री हुँ । विवाहपछि राणा भएकी ।’
बुबा फकिरसिंह क्षत्री र आमा मायादेवीका कोखबाट काठमाडौंको ठमेलमा जन्मिएकी राणाले विवाहका बारेमा केही बोल्न चाहिनन् । भनिन्- ‘मेरा पाँच छोरी, एक छोरा छन् । विवाहका बारेमा नखुलौँ ।’ तीन दाजु र पाँच दिदीबहिनीका बीचमा हुर्किएकी गीताले सानो छँदा ‘यस्तै बन्छु’ भन्ने सोच पालेकी थिइनन् रे । घरमा पनि कुनै जिद्दी गर्ने अवस्था हुँदैनथ्यो । व्यापारी बुबा र गृहिणी आमाले जे दिए, त्यसैमा चित्त बुझाउनुपर्ने हुन्थ्यो ।
त्यस बेला महाराजगन्जमा रहेको प्रचण्ड मेमोरियल स्कुलमा आठ कक्षासम्म पढेकी राणाको उच्चशिक्षा भारतमा पूरा भयो । सानैदेखि शान्त र जिज्ञासु स्वभावकी उनले देहरादुनबाट सन् १९७६ मा एमएस्सी प्रथम श्रेणीमा पास गरिन् । त्यस बेला साइन्स पढ्ने छोरी मान्छे कमै हुन्थे । हाल ग्यालेक्सी पब्लिक स्कुलकी पि्रन्सिपल राणाले भनिन्, ‘देहरादुनमा पढ्दा नेपाली केटी त नगण्य नै थिए ।’ अहिले एनेकपा -माओवादी)को राजनीतिमा रहेका सुरेश आलेमगर र जेलमा रहेका पूर्वआइजिपी हेमबहादुर गुरुङ उति बेलाका सहपाठी रहेको उनी सम्झन्छिन् ।
निजी विद्यालय स्थापनाको इतिहासमा छुट्टै पहिचान बनाएकी राणा यो स्थानमा पुग्छु भनेरै लागेकी भने होइन रहिछन् । ‘म काममा रमाउने मान्छे । मैले कहिल्यै यो बन्छु भनेर योजना बनाइनँ’, भनिन्, ‘म सानै हुँदा पनि आफूले जानेका कुरा छिमेकी भाइबहिनी बटुलेर पढाउँथेँ ।’ आफ्नो शिक्षा पूरा भएलगत्तै झन्डै ३६ वर्षअघि राणाले जावलाखेलको आदर्श विद्यामन्दिरमा सरकारी नियुक्तिमा शिक्षण पेसा थालिन् । ‘त्यहाँ अढाई वर्ष पढाएँ । एक दिन शिक्षकहरूले हडताल गरे’, उनले स्मरण गरिन्, ‘त्यसपछि वातावरण नै बिगि्रयो । मैले स्कुल नै छाडेँ ।’
शिक्षासेवा गरेबापत ‘बेस्ट स्कुल पि्रन्सिपल’ अवार्ड १९९४, गोरखा दक्षिणबाहु दुईपटक, वर्ष महिला २०००, वीरेन्द्र-ऐश्वर्य सेवा पदक २००२, त्रिशक्ति पट्ट २००३ लगायत दर्जनौँ सम्मान र पुरस्कार हात पारिसकेकी राणाको यो यात्रा कम्ती रोचक भने छैन ।
सेन्टमेरिज स्कुलमा ६-७ वर्ष अध्यापन गरेकी राणाले २०३७ सालतिर शिक्षक आन्दोलनकै कारण त्यहाँबाट पनि छाड्नुपर्‍यो । त्यसपछि उनी मोडर्न इन्डियन स्कुलमा पढाउन पुगिन् । ‘पढाउन थालेको एक वर्ष हुँदै थियो । त्यहाँ पनि आन्दोलनको बतास चल्यो’, शिक्षासेवी राणाले भनिन्, ‘दिक्क लागेर २०४० सालतिर कोचिङ कक्षा सुरु गरेँ । मकहाँ पढ्न आउने विद्यार्थीको जग नै कमजोर पाएँ ।’ त्यही जग बलियो बनाउने उत्कट चाहनाले गीतालाई आजकी सफल शिक्षासेवी बनाइदियो । ‘मैले सोचेँ, विद्यार्थीको आधार नै कमजोर छ । यसलाई सुधार्न त आफ्नै विद्यालय खोल्नुपर्छ’ उनले भनिन्, ‘पचास हजारको जोहो गरेँ । ग्यालेक्सी नाम जुराएँ । २०४२ मा स्कुल नै खोलेँ ।’
नौजना विद्यार्थी बटुलेर सुरु गरिएको राणाको स्कुलमा आज दुई हजार विद्यार्थी अध्ययन गर्छन् । २५ वर्षे यात्रामा आफ्नो शैक्षिक संस्थाले २०५० सालयता चारपटक एसएलसीमा ‘बोर्डफस्ट’ विद्यार्थी उत्पादन गरिसकेको दाबी उनी गर्छिन् । ‘महिलाहरू पुरुषजस्तो हुँदैनन्, समान पनि हुँदैनन्’ भन्ने मान्यता बोकेकी राणाको भनाइ छ- ‘प्राकृतिक रूपले नै पुरुष र महिलाको रूप, गुण, स्वभाव, शरीर र सोच फरक हुन्छ ।’ महिलालाई अधिकारभन्दा दक्षताको खाँचो देख्ने उनले दाबी गरेका चारै बोर्ड फस्र्ट विद्यार्थी छात्रा नै हुन् । अहिले ‘पुरुषसरह महिला हुनुपर्ने’ नाराको खण्डन गर्दै उनले भनिन्- ‘यो कसरी सम्भव हुन्छ ? पुरुषले जे गर्‍यो या गर्न सक्छ, त्यही महिलाले गर्नुपर्छ भन्ने के छ र ? फरक पनि त गर्न सक्छन् ।’ यसको उदाहरण गीता आफैँ हुन् । नारीका तर्फबाट निजी क्षेत्रमा पहिलो विद्यालय खोल्ने ‘रेकर्ड’ उनैले बनाएकी छिन् ।
महिलालाई सीप, क्षमता, दक्षता वृद्धि गर्नबाहेक अन्य कुरामा आरक्षण दिँदा उनीहरू झन् कमजोर हुने धारणा भएकी शिक्षासेवी राणाले प्रस्ट्याइन्, ‘महिलालाई सीप, शिक्षा, क्षमता र छात्रवृत्तिमा आरक्षण दिनुपर्छ । राजनीति, जागिर आदिमा पनि आरक्षण दिनु भनेको उनीहरूको प्रतिस्पर्धी क्षमता सिध्याउनु हो ।’ आरक्षणले क्षमताविकासमा बाधा पुर्‍याउने विश्लेषण गर्दै उनले ‘यसले कसैलाई माथि नपुर्‍याउने’ बताइन् ।
सैद्धान्तिक विचार र सोच मात्रै भएको भए राणा सायदै शिक्षाक्षेत्रमा मुलुकको अग्रणी महिला हुन्थिन् होली । व्यवहारमा पनि अब्बल मानिने उनले महिलाको नेतृत्वमा स्कुल मात्र खोलिनन्, निजी क्षेत्रलाई संस्थागत गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल -एन प्याब्सन) को अगुवाइ गरिन् । २०५४ मा त्यसलाई वैधानिकता दिलाइन् । केही वर्ष विश्राम लिएर २०६१ देखि फेरि हालसम्म उनी त्यसको अध्यक्षको भूमिकामा छिन् । राणाले शिक्षण मात्र गरिनन्, निजी लगानीमा पनि स्कुल चलाउन सकिन्छ भन्ने अवधारणा गाउँगाउँमा स्थापित गरिदिइन् । बालबालिकाका लागि सर्वसुलभ शिक्षा र शुल्क निर्धारण प्रक्रिया सुरु गराइन् । शिक्षक, कर्मचारीमा मासिक शुल्कको ६० प्रतिशत खर्च गर्ने नीति ल्याइन् । शुल्कको १० प्रतिशत छात्रवृत्तिमा खर्चने अवधारणा लागू गराइन् । व्यवस्थापन समितिमा शिक्षक, अभिभावकको सहभागिता, शिक्षकलाई तालिमको व्यवस्थाको सोच व्यवहारमा उतार्न भूमिका निर्वाह गरिन् ।
यो सबै गर्न शिक्षासेवी राणालाई कम चुनौती भने आएन । ‘चुनौती आए’, राणाले भनिन्, ‘चुनौतीलाई मैले सिकाइको अवसरका रूपमा लिएँ ।’ दस वर्षे द्वन्द्वकालमा ग्यालेक्सी स्कुलमा बम पड्काइयो, स्कुल बसमा आगो लगाइयो । यो सबै घटनाबाट उनले केही न केही सिकेको र सुधारेको बताइन् । मुलुक बन्न व्यक्तिविकास हुन जरुरी देख्ने राणाको धारणा छ, ‘व्यक्तिको विकास भयो भने राष्ट्रको आफैँ विकास हुन्छ । व्यक्ति कमजोर भएको राष्ट्र सबल हुँदैन ।’
मानिसले ‘धर्म’ भुल्न नहुने आदर्श सँगालेकी राणाले सुझाइन्, ‘हरेक व्यक्तिले आमा-बाबुलाई मान्नुपर्छ । शिवशिवा आमा-बाबु नै हुन् ।’ सन्ततिप्रतिको कर्तव्य पूरा गर्न पनि उत्तिकै जरुरी ठान्छिन् । आमाबाबुको श्रद्धा र सन्तानको जिम्मेवारी सबैले पूरा गर्ने देशमा वैमनस्य नरहने उनले देखेकी छन् । कुनै समय आफूले ‘गर्दै नगरेको’ कुराको भागीदार बनाएकामा चित्त दुखेको बताउने राणा भन्छिन्, ‘सफल हुने मान्छेले आफूमा भएको गल्ती खोज्ने र सच्याउने हो । प्रतिकार गर्नमा शक्ति खर्च गर्नु हुँदैन ।’

प्रतिक्रिया