विसं २०६९ को वार्षिक भविष्यफल..?

काठमाडौं, २९ चैत । विक्रम संवत २०६९ को पूर्वाद्धको तीन महिना अति कष्टकर हुने, रोगहरूको प्रकोप बढ्ने, शासकवर्गद्वारा जनता प्रताडित हुने, ठूलो उथलपुथल, द्वन्द्व र झडप हुने तीव्र सम्भावना रहेको ज्योतिषीहरूले बताएका छन् ।
श्रावण महिनापश्चात् उत्तराद्र्धको अन्तसम्म सकारात्मक र सुखमय हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । यो वर्ष विश्वावसु नाम सम्वत्सर परेको, राजा र मन्त्रीको पद शुक्र रही जगलग्न नेपालकै राशी वृश्चिकमा परेकाले जलवर्षा अत्यधिक हुने, पशु तथा बालीनाली सप्रिने योग रहेको राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष ज्यो. पं तिलकराज पौडेलले बताए ।
अत्यधिक वर्षाका कारण बाढी, पहिरो, भूकम्पीय जोखिम, अग्निभय, आकस्मिक दुर्घटना हुने योग परेकाले आमनागरिकको जनजीवनमा नराम्रो असर पर्ने देखिएको पौडेलको भनाई छ ।
समितिद्वारा आज जारी प्रेस विज्ञप्तिमा जगलग्नको दसौं स्थानमा बसी मङ्गलग्रहले शनिश्चरको राशी कुम्भमा चतुर्थ स्थानलाई पूर्णदृष्टि गर्नाले जनएकता नरहने, आपसमा वैमनश्यता, फूट, अशान्ति आदिबाट राजनीतिकदलबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना हुने योग देखिएको उल्लिखित छ ।
राष्ट्रको शान्ति र अमनचैनका लागि जनस्तरबाटै एकता, मेलमिलाप र समन्वयको भावना अपनाउन नितान्त आवश्यक देखिएको समितिले जनाएको छ ।
समितिले भनेको छ, ‘पार्टीका उच्चस्तरीय नेताहरूले जन आक्रोशका कारण अशान्ति बेहोर्नु पर्ने हुनाले आपसी शान्ति र समन्वय आवश्यक छ ।’ नयाँ वर्ष सस्येश, निरसेश र धनेश चन्द्रमा भएकाले सेतो पदार्थ (मोती, चाँदी, कपास) को उत्पादन एवम् व्यापार राम्रो रहने देखिएको जनाईएको छ ।

प्रतिक्रिया