‘उत्तर–दक्षिण मिलाएर संघीयता बनाउनु पर्छ’

जनकपुर, २२ चैत । कांग्रेस सभापति सुशील कोइरालाले जातीयताका आधारमा संघीय राज्य स्वीकार गर्न नसकिने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले उत्तर दक्षिणको सम्बन्ध राम्रो हुने गरि प्रदेश निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘हामीहरुले मधेसबाट मधेसवादी दलहरुलाई समाप्त गर्न भनेको छैन ।’

मधेस र संघीयताका बिषयमा पत्रपत्रिकाले बङगाएर समाचार प्रसारण प्रकाशन गरेको भन्दै सभापति कोइरालाले असन्तुष्टि जनाए । उनले सत्यतथ्य समाचार दिन सुझाव दिएका छन् ।

बरिष्ठ नेता शेरबहादुर देउवाले २०४७ सालको संविधान ल्याउनुपर्छ भन्दै छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालाले त्यो कांग्रेसको आधिकारीक धारणा नभएको बताए ।

चैत मसान्त भित्र शान्ति प्रक्रिया टुङगोमा नपुगे सरकारले राजीनामा दिनुपर्ने सभापति कोइरालाको भनाई छ ।

उनले संघीय लोकतान्त्रिक गणन्तन्त्रात्मक संविधान निर्माणका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

प्रतिक्रिया