पुस्तकको मूल्यमा स्टिकर लगाउने कार्य रोक्न आग्रह

काठमाडौं, २० चैत । मूल्य छापिएको ठाउँमा कालो पोती आफूखुसी नयाँ मूल्य राखेर बजारमा पाठ्यपुस्तक बिक्री वितरण गर्ने कार्य रोक्न र त्यस्ता कार्यमा संलग्न प्रकाशक तथा व्यवसायीमाथि कारबाही गर्न सरोकारवालाले माग गरेका छन् ।

शिक्षा विभागले पाठ्यपुस्तकको मूल्यमा स्टिकर नलगाउन यसअघि नै सूचना प्रकाशन गरेको भए पनि केही प्रकाशक तथा व्यवसायीबाट त्यसको उल्लङ्घन भएको पाइएको छ ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले यस विषयमा अनुगमन गरी तत्काल आवश्यक कारबाही हुनुपर्ने बताए । उनले शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई यस विषयमा ध्यानाकर्षण गराइएको र चाँडै नै अनुगमन गर्ने समझदारी भएको जानकारी दिए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको उपत्यकास्तरीय अनुगमन समितिले एकता प्रकाशनको नामै तोकेर पुस्तकको मूल्यमा कालो पोतेर बिक्री वितरण गरिएको प्रमाण सार्वजनिक गरिसकेको छ ।

समितिका संयोजक प्रवीण निरौलाले सरकारी निकायले माग गरेमा आफूहरूसँग भएको प्रमाण उपलब्ध गराउन तयार रहेको बताए । उनले आफ्नै महासङ्घका कोही सदस्यबाट त्यस्तो कार्य गरे भएको भए पनि उनीहरूमाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रतिक्रिया