आलस सुपरस्टार फुड

आलसका बारेमा त हामी सबैलाई थाहा छ । यसको तेल निकै प्रख्यात छ । अचारमा पनि यसको प्रयोग हुन्छ । आलसलाई बहुगुणी मानिन्छ । यसको नियमित सेवनले उच्च रक्तचाप ठीक पार्छ, शक्ति र उत्साहको प्रसार गर्छ । विश्व स्वास्थ्य संगठनले यसलाई ‘सुपरस्टार फुड’ कै संज्ञा दिएको छ । आयुर्वेदमा ‘दैविक भोजन’का रूपमा चित्रण गरिएको छ । शैशवावस्थादेखि वृद्धावस्थासम्मका हरेक दिन यो मानव स्वास्थ्यका लागि उपयोगी साथी बन्न सक्छ । यसमा पाइने मुख्य पौष्टिक तत्त्व ओमेगा ३, फ्याटी एसिड, एल्फा लिनोलेनिक एसिड, लिगनेन, प्रोटिन, फाइबर आदि हुन् । यसको प्रति १ सय ग्राममा ५ सय ३४ क्यालोरी हुन्छ । प्रोटिन र कार्बोहाइड्रेटको मात्रा पनि राम्रो हुन्छ । भिटामिन ‘बी’ ५, ‘बी’ १२ र ‘बी’ १७ को मात्रा पनि छुट्दैन । फोलेस र भिटामिन ‘सी’ पनि हुन्छ । त्यसबाहेक खनिज र एन्टी अक्सिडेन्ट तत्त्वको पनि धनी छ आलस ।
यसमा पाइने अल्फा लेनोलेनिक एसिडले शरीरलाई निकै फाइदा पुर्‍याउँछ । भ्रूणको विकास गराउनुका साथै छाला, केश तथा नङलाई स्वस्थ राख्न सघाउँछ । यसबाहेक रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा सहयोगी हुने भएकाले यसको सहयोग जीवनमा आवश्यक परिरहन्छ । आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ । कब्जियत, पाइल्स, फिस्टुलाका बिरामीलाई फाइदा गर्छ । छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने आदि हटाउँछ । यसमा रहेको ओमेगा ३ ले केशलाई स्वस्थ र चम्किलो बनाउँछ । छालालाई नरम र सुन्दर बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाइरहेको हुन्छ । आलसमा हुने फाइबरका कारण यसको सेवनपछि लामो समयसम्म भोक लाग्दैन । शरीरको बोसो घटाएर स्फूर्त बनाउन यो उपयोगी छ ।

प्रतिक्रिया