‘टिम्स’ कार्डको अवैध कारोबार

काठमाडौं, १८ वैशाख । ट्रेकिङमा जाने विदेशी पर्यटकका लागि लागू गरिएको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) अवैध रूपमा बिक्री भएको भेटिएको छ । १० अमेरिकी डलरमा खरिद गरेर कम्पनीहरूले ४० डलरसम्म कार्ड बेच्ने गरेको पाइएको हो ।
व्यक्तिगत रूपमा ट्रेकिङमा जाने पर्यटकले २० डलर र कम्पनीमार्फत जानेले १० डलर तिर्नुपर्ने प्रावधान छ । तर, पर्यटकले बढी रकम तिर्नुपरेको गुनासो गरेका छन् । अनधिकृत रूपमा टिम्स कार्ड बचेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आधा दर्जन ट्रेकिङ कम्पनीसँग स्पष्टीकरण गरेको छ ।
टानका महासचिव मोहन लम्सालले केही कम्पनीले बदमासी गरेकाले कारबाहीस्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिए । टिम्स प्रणालीलाई पारदर्शी बनाउन अनलाइन गर्ने तयारी पूरा भइसके पनि पर्यटन बोर्डले सहमति नदिएका कारण लागू गर्न नसकिएको उनले बताए । ‘सºटवेयरलगायत सबै पूर्वाधार तयार भइसकेको छ, बोर्ड कार्यकारी प्रमुख नहुँदा लागू गर्न सकिएको छैन,’ लम्सालले भने ।
ट्रेकिङमा जाने थुप्रै पर्यटकले टिम्स कार्डबारे ‘कम्प्लेन’ गरेका छन् । टानको बेसीसहर चेकपोस्टमा मात्र एक दर्जन बढी पर्यटकले ‘कम्प्लेन’ गरेको ट्रेकिङ गाइडहरूले बताएका छन् । फ्रान्सेली पर्यटक स्टिन जर्जेन्सनले आफूसँग कम्पनीले टिम्स कार्डबापत बढी रकम लिएको गुनासो गरेकी छन् । अनलाइन र चिठीमार्फत नै दर्जनौँ पर्यटकले टिम्सबारे ‘कम्प्लेन’ गरेको बताइएको छ ।
१ अप्रिल २०१० देखि लागू भएको टिम्सप्रणालीबाट हालसम्म करिब २१ करोड रुपियाँ संकलन भएको बताइएको छ । यसमध्ये ३३ प्रतिशत बोर्डले खर्च गर्न पाउँछ भने ३३ प्रतिशत बोर्ड, पर्यटन मन्त्रालय र टानको संयुक्त खातामा जम्मा गर्नुपर्ने प्रावधान छ । बाँकी ३३ प्रतिशत टानको मातहतमा ट्रेकिङ मजदुरको हकहितका लागि खर्चगर्ने सहमति बोर्ड र टानबीच भएको छ । निश्चित मापदण्ड र कार्यविधिको अभावमा टिम्सबाट उठेको रकम खर्च गर्न समस्या भइरहेको टान महासचिव लम्सालले बताए ।
पर्यटन बोर्डले कार्डको विस्तृत विवरण टानलाई उपलब्ध गराउनुपर्ने र टिम्स कार्ड बाँड्ने काउन्टर ठमेल सारिनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । एक्लै ट्रेकिङमा जाने पर्यटकले धेरै फोहोर गरेको भन्दै व्यक्तिगत टिम्स कार्ड दिन हँदैन भन्ने आवाज पनि उठिरहेको छ । बोर्डमा कार्यकारी प्रमुख नभएकाले टिम्सको नीतिगत काम हुन नसकिरहेको टान अधिकारीहरूको भनाइ छ ।
टिम्स कार्ड चेक गर्न लुक्ला, धुन्चे, जोमसोम, म्याग्दीको तातोपानी, कास्कीका पोथाना र बिरेठाटीलगायत ठाउँमा चेकपोस्ट स्थापना गरिएको छ तर कतिपय चेकपोस्टमा टिम्स कार्ड नै नहँदा पर्यटक त्यत्तिकै ट्रेकिङमा जाने गरेका छन् ।
पर्याप्त गृहकार्य नगरी लागू गर्दा टिम्स प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् । लागू भएको दुई वर्ष बितिसक्दा पनि धेरै पर्यटकलाई टिम्स कार्ड लिनुपर्छ भन्ने जानकारीसमेत छैन । पर्यटन बोर्डकै भवनमा रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को त्यहाँबाट अनुमति लिँदा टिम्स कार्ड पनि लिनुपर्छ भनेर मात्र भनिदिने हो भने पनि टिम्स प्रभावकारी हुने ट्रेकिङ व्यवसायीहरू बताउँछन् । ‘एक्यापले असहयोग गरेको छ,’ टानका एक अधिकारीले भने । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये करिब ३० प्रतिशत पदयात्रामा जाने गरेको तथ्यांक छ ।

प्रतिक्रिया