रियल “ला लिगा” उपाधिनजिक

म्याड्रिड, १८ वैशाख । गत साता युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइलनबाट बाहिरिएको रियल म्याड्रिड आइतबार राति सेभिलालाई ३–० ले पराजित गर्दै स्पेनिस प्रिमेरा लिगाको उपाधिनजिक पुगेको छ ।
दोस्रो स्थानको बार्सिलोनाविरुद्ध १० अंकको अग्रता लिएको रियलका लागि सेभिलाविरुद्ध करिम बेन्जिमाले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डोले थप गोल गरेका थिए । रोनाल्डोले जारी लिगमा व्यक्तिगत गोल संख्यालाई कीर्तिमानी ४३ पुर्‍याए । उनीभन्दा पछि रहेका बार्सिलोनाका लिओनेल मेसीले ४१ गोल गरेका छन् ।
लिगमा आफ्ना तीन खेल बाँकी छँदा रियलको ९१ अंक छ । रियलको भन्दा एक खेल कम खेलेको बार्सिलोनाको ८१ अंक छ । उत्कृष्ट सुरुआत गरेको रियलले १९आंै मिनेटमा अग्रता लिएको थियो । बेन्जिमाले डिबक्सको बायाँ साइडमा निकालिदिएको बललाई दायाँ खुट्टाले प्रहार गरी रोनाल्डोले रियललाई सुरुआती अग्रता दिलाएका हुन् । ४९ र ५२आंै मिनेटमा गरी दुई गोल बेन्जिमाले थपेका थिए । एन्जेल डि मारियाको पासमा पहिलो गोल गरेका बेन्जिमाको थप गोलमा सर्जिओ रामोसले सहयोग पुर्‍याएका थिए । सेभिलाको प्रदर्शन त्यति कमजोर भने थिएन । पहिलो हाफमा चार मिनेटको अन्तरमा सेभिलाले तीन अवसर खेर फालेको थियो ।
मध्यान्तरपछि पनि सेभिलाले राम्रा तीन अवसर गुमायो । जोसे एन्टोनिओ रायेसले ६५आंै मिनेटमा उपलब्ध सुन्दर अवसरमा रियलका गोलकिपर इकेर कासियासलाई कटाउन सकेनन् । जिसस नाभास र अल्भारो नाग्रेडोले वनभर्सेस वन अवसर खेल फालेका हुन् ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सेमिफाइनलमा टाइब्रेकरमा जर्मन क्लब बायर्न म्युनिकसँग पराजित हुँदै रियल बाहिरिएको थियो । त्यसअघि पहिलो लेगमा २–१ ले पराजित भएको रियल दोस्रो लेगमा निर्धारित तथा अतिरिक्त समयमा २–१ ले विजयी भएको थियो ।

टोरेजको हयाट्रिक
फर्नान्डो टोरेजले हयाट्रिक गरेपछि इलिस प्रिमियर लिग फुटबलमा आइतबार राति चेल्सीले क्विन्सपार्क रेन्जर्स (क्युपिआर) लाई ४–१ ले पराजित गरेको छ । गत साता मात्र युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल पुगेर उत्साहित भएको चेल्सीका लागि पहिलो हयाट्रिक गर्ने क्रममा स्पेनिस फर्वार्ड टोरेजले १९, २५ र ६४औं मिनेटमा गोल गरेका थिए । थप गोल डानिएल स्टुरिड्ज, जोन टेरी र फ्लोरेन्ट मालौडाले गरे । गत साता च्याम्पियन्स लिग सेमिफाइनलमा बार्सिलोनाविरुद्ध दोस्रो लेगमा भिडेको चेल्सीका लागि टोरेजले नै बराबरी गोल फर्काएका थिए । लामो समयपछि टोरेज लयमा फर्किएका हुन् । जितपछि ३५ खेलबाट ६१ अंक जोड्दै चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगको आगामी संस्करण छनोट हुन कम्तीमा शीर्ष चार स्थानमा पर्नुपर्नेछ । चौथो स्थानमा रहेको न्युकासल चेल्सीभन्दा एक अंक मात्र अगाडि छ ।

युभेन्ट्सको अग्रता कायमै
नोभारालाई आइतबार ४–० ले हराउँदै इटालियन सेरी ए फुटबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको युभेन्ट्स उपाधितर्फ लम्किएको छ ।
लिगमा आफ्ना चार खेल बाँकी छँदा युुभेन्ट्सले समान खेल खेलेको एसी मिलानलाई ६ अंकले पछि पार्‍यो । युभेन्ट्सको अर्को प्रभावशाली जितमा मिर्को भुसिनिकले दुई गोल गरे भने थप गोल मार्को बुरिएल्लो र अर्तुरो भिदालले गरे । यसअघि आइतबार नै भएको अर्को खेलमा एसी मिलानले सिएनालाई ४–१ ले हरायो । साविक विजेता एसी मिलानको जितमा जिलाटान इब्राहिमोभिकले दुई गोल गरे भने थप गोल एन्टोनिओ कासानो र एन्टोनिओ नोसेरिनोको नाममा रहयो । एपी

प्रतिक्रिया