‘भन्सार छल्नेद्वारा भारुको कालोबजारी’

विराटनगर, १७ वैशाख । कम मूल्य देखाएर भन्सार छली गर्ने समूहले भारुको कालोबजारी बढाउने गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंक विराटनगर शाखाका मुख्य व्यवस्थापक नरबहादुर थापाले सीमा क्षेत्रमा बसेर सानोतिनो व्यापार तथा राजस्व छली गर्ने कार्यले पुँजी पलायनको समस्यासँगै भारु अभाव भएको दाबी गरे ।
बैंकले औपचारिक व्यापार र कामका लागि पर्याप्त भारतीय रुपियाँ (भारु) दिइरहेको दाबी गरेको छ । थापाले भने, ‘राष्ट्र बैंकमा ९० अर्ब भारतीय रुपियाँ सञ्चिती छ, अवैध कारोबार गर्नेलाई मात्र भारु अभाव भइरहेको हो ।’ उनले औपचारिक कारोबार गर्ने र शिक्षा, स्वास्थ्य र धार्मिक तीर्थमा जानेलाई आवश्यक कागजपत्र पेस गरेअनुसार भारु उपलब्ध गराउने बताए ।
आवश्यक कागजात लिएर आउनेले २५ हजार भारु सहजै पाउनेगरेको बैंकको दाबी छ । ‘२५ हजारभन्दा माथि लान चाहनेलाई वाणिज्य बैंकबाट डिमान्ड ड्राफ्ट बनाएर दिने गरिएको छ,’ व्यवस्थापक थापाले भने ।
उपभोक्तावादी संस्था पब्लिक फोरम विराटनगरले राष्ट्र बैंकले अनुगमन नगरेका कारण बजारमा भारुको अवैध कारोबार बढी उपभोक्ता ठगीमा परेको भन्दै नियमन गर्न ज्ञापनपत्र बुझाएको थियो ।
राष्ट्र बैंकले एक सय भारु सटही गर्दा ४० पैसा कमिसन तोकेको छ । तर, बजारमा सटही काउन्टर र व्यापारीले १० रुपियाँसम्म कमिसन लिई कालोबजारी गरिरहेको पब्लिक फोरमका सचिव लव ताम्राकारले बताए । उनले राष्ट्र बैंकले नियमन गर्नुपर्नेमा त्यसो नगरी भारुको अवैध चलखेललाई प्रोत्साहन दिएको आरोप लगाए । राष्ट्र बैंक विराटनगर शाखाले दैनिक तीन लाख रुपियाँ भारु दिइरहेको जनाएको छ । मनिचेन्जरलाई भने अवैध कारोबार बढाएको भन्दै भारु दिन बन्द गरेको छ ।
विराटनगर मात्र होइन, मोरङ र सुनसरीका विभिन्न बजारमा दैनिक भारतबाट लाखौँको उपभोग्य वस्तु ल्याएर बेचबिखन गर्नेलाई भारुको समस्याले सताउने गरेको छ, जसमा तरकारी, मासु, माछाको कारोबार गर्ने बढी छन् ।

प्रतिक्रिया