मूल्यवृद्धि सात प्रतिशत

काठमाडौं , १७ वैशाख । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठमहिने देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनमा मूल्यवृद्धि सात प्रतिशतमा झरेको देखाइएको छ ।
राष्ट्र बैंकको सातमहिने विवरणमा पनि मूल्यवृद्धि सात प्रतिशत नै रहेको देखाइएको थियो । आठौँ महिनामा अर्थात् फागुन मसान्तसम्मको विवरणमा पनि सोही तथ्यांक देखाइएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि १०.७ प्रतिशत थियो । समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक ४.२ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ९.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांकको वृद्धिदर क्रमश: १७.३ प्रतिशत र ५.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहमा पर्ने वस्तुमध्ये दुग्ध पदार्थ तथा अन्डा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् १७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांक १०.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा ३.१ प्रतिशतले वृद्धि भएको घ्यू तथा तेलको मूल्य सूचकांक समीक्षा अवधिमा १३.३ प्रतिशतले वृद्धि भएको छ ।
गैरखाद्यवस्तु तथा सेवा समूहका वस्तुमध्ये यातायात उपसमूहको मूल्य सूचकांक १७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकांक ११.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा लत्ताकपडा, जुत्ताचप्पल र फर्निसिङ तथा घरायसी उपभोगका सामान उपसमूहहरूको मूल्य सूचकांक क्रमश: १५.२ प्रतिशत र १३.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित दुवै उपसमूहको मूल्य सूचकांक क्रमश: १३.७ प्रतिशत र ७.३ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी पहाडमा ८.६ प्रतिशत, तराईमा ७.१ र काठमाडौं उपत्यकामा ५.६ प्रतिशतले मूल्य सूचकांक वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती क्षेत्रमा मूल्य सूचकांकको वृद्धिदर क्रमश: ११.६ प्रतिशत, ७.९ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो ।
त्यसैगरी, आव ०६८/६९ को आठ महिनामा सरकारी बजेट १७ अर्ब ४८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ६ अर्ब २९ करोड रहेको थियो । स्रोत परिचालनको तुलनामा कुल सरकारी खर्च न्यून रहेका कारण सरकारी बजेट बचतमा रहेको हो ।
वैदेशिक व्यापार
आठमहिने अवधिमा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.१ प्रतिशतले वृद्धि भई ४८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ५.९ प्रतिशतले वृद्धि भई ४२ अर्ब ५४ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा चालु आर्थिक वर्षको फागुन महिनामा कुल वस्तु निर्यातमा माघ महिनाको तुलनामा १०.४ प्रतिशतले गिरावट आएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षा अवधिमा १४.५ प्रतिशतले वृद्धि भएको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा १०.१ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १.७ प्रतिशतले घटेकामा समीक्षा अवधिमा १३.५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको २.१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ५.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २० करोड ४४ लाख पुगेको छ ।
भारततर्फ मुख्यतया लत्ताकपडा, पोलिस्टर धागो, जिआई पाइप, ढुंगा तथा बालुवा र अलैँचीलगायतको निर्यात बढेका कारण त्यसतर्फको निर्यातमा वृद्धि हुन गएको हो । त्यस्तै, अन्य मुलुकतर्फ विशेषगरी ऊनी गलैँचा, तयारी पोसाक, पस्मिना, नेपाली कागज र त्यसका सामान र छालालगायत निर्यातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १६.६ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले वृद्धि भई दुई सय ५३ अर्ब १३ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा फागुन महिनामा कुल वस्तु आयात माघ महिनाको तुलनामा ५.३ प्रतिशतले वृद्धि भएको छ ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको आठ महिनासम्म २४.७ प्रतिशतले वृद्धि भएकामा समीक्षा अवधिमा १२.० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको २७.२ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा २६.३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको २४.७ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा १६.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर एक अर्ब ३२ करोड ५१ लाख पुगेको छ । भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, कोइला, रासायनिक मल, तयारी पोसाक र कृषि उपकरण तथा पार्टस्लगायतको आयात बढेको छ । अन्य मुलुकबाट विशेष गरी सुन, भटमासको कच्चा तेल, चाँदी, खाने तेल र अन्य मेसिनरी तथा पार्टस्लगायतको आयातमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको आठ महिनासम्म कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले वृद्धि भई दुई सय ४६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ०.३ प्रतिशतले वृद्धि भएको थियो ।
शोधनान्तर स्थिति
शोधनान्तर स्थिति हालसम्मकै उच्च रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार ७९ अर्ब ९० करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब २९ करोडले शोधनान्तर घाटामा रहेको थियो । फागुन महिनामा चालु खाता ३७ अर्ब ५१ करोड रुपियाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता आठ अर्ब ७९ करोड रुपियाँ घाटामा रहेको थियो । खासगरी, विप्रेषण आय र अनुदानमा भएको उल्लेख्य वृद्धि एवं सेवा खातामा भएको सुधारका कारण चालु खातामा सुधार भएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत एक अर्ब एक करोड ७५ लाख डलर पुगेको छ भने चालु खाता बचत ४६ करोड ९७ लाख डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा १५ करोड २४ लाख डलर पुगेको थियो भने चालु खाता घाटा ११ करोड ९२ लाख डलर पुगेको थियो ।

प्रतिक्रिया