नक्कली सम्झौतामा बिदेसिनेलाई कडाइ

काठमाडौं, १७ वैशाख । वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले नक्कली सम्झौतामा विदेश जानेलाई कडाइ गर्ने भएको छ । नक्कली श्रम सम्झौतामा विदेश जाने र करार अवधि नसकिँदै थुप्रै प्रकारका जोखिममा कामदार पर्ने भएकाले यसलाई नियन्त्रण गर्न श्रम स्वीकृति लिने प्रक्रियामा कडाइ गर्ने भएको हो । यसका लागि वैदेशिक रोजगार विभागले अन्तिम तथा पूर्वस्वीकृतिको विवरण वेबसाइटमा राख्ने जनाएको छ । वेबसाइटमा भएअनसारको कागजात कामदारसँग नभए उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै फर्काइने विभागले जनाएको छ । वैदेशिक रोजगारीका नाममा हुने ठगी विगत वर्षभन्दा बढेको भन्दै विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले यस्ता गतिविधि रोक्न प्रयास भइरहेको बताए । ठगिनेमा अधिकांश कामदार नक्कली र झुटा कागजात लिएर विदेश गएका पाइएकाले त्यसलाई नियन्त्रण गर्न खोजिएको उनको भनाइ छ ।
नक्कली कागजात लिएर विदेशमा गएका कामदारले सम्झौताअनुसार काम नपाउने र जोखिममा पर्ने भएकाले सकेसम्म उनीहरूलाई नेपालमै रोक्न खोजिएको उनले बताए । श्रम तथा यातायत व्यवस्थामन्त्री मालवरसिंह थापाले विभागका कर्मचारीलाई कुनै पनि फर्जी कागजातमा कामदार जान नदिन तथा त्यस्ता समस्या आए तत्काल समाधान खोज्न निर्देशनसमेत दिएको बताए ।
समयअनुसार यसलाई व्यवस्थित र मर्यादित बनाउन मातहतका कर्मचारी र वैदेशिक रोजगार व्यवसायीसँग पनि मन्त्रीले छलफल गरेको मन्त्रालयका एक कर्मचारीले बताए । व्यवसायीलाई समेत मन्त्रीले सबै प्रक्रिया पूरा गरी कागजात विभागमा पेस गर्न आग्रह गरेका छन् । यस्तै, अनुमति नलिई मुलुकका विभिन्न क्षेत्रमा कार्यरत गैरनेपालीको अनुमगन गरी आवश्यक कारबाही गर्ने श्रम विभागले जनाएको छ । निर्देशक काशीनाथ मरासिनीले त्यस्ता कामदारको अहिले विभागले अनुगमन सुरु गरेको जनाए । ठूलो संख्यामा गैरकामदार श्रमस्वीकृति नलिई कार्यरत रहेको भेटिएकाले यसलाई नियन्त्रण गर्न थालिएको उनी बताउँछन् । अहिले नेपालमा कार्यरत गैरनेपाली कामदारमध्ये ६ हजारले मात्र विभागको श्रमस्वीकृति लिएका छन् । करिब ५० हजार अवैध गैरनेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया