सानासँग मिलेर वैद्यको आमसभा

झापा, १६ वैशाख । एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यपक्षधरले माओवादीविरोधी साना दलसँग मिलेर आमसभा गरेको छ । सभामा माओवादी छाडेर नयाँ पार्टी बनाएका विभिन्न पार्टीका नेताहरू वैद्यपक्षका नेतासँगै उपस्थित भएर माओवादीकै खेदो खनेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा
(माओवादी)का सचिव सिपी गजुरेलले एकीकृत नेकपा
(माओवादी) ट्याक्सी, म्याक्सी र रक्सीले बिग्रिएको बताए । उनले माओवादी पार्टीप्रति व्यंग्य गर्दै यी तीनविना माओवादी भइन्न जस्तै गरेर नेताहरूले माओवादको बदनाम गरेको बताए ।
उनले २८ चैतमा शिविरका जनसेनालाई सेनाको जिम्मा लगाएर आफ्नै पार्टीको सरकारले जनयुद्धप्रति गद्दारी गरेको आरोप लगाए ।
कार्यक्रममा १३ पार्टीको घटक संघर्ष समितिका सदस्य तथा संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले लिम्बुवानविनाको संघीयता मान्य नहुने चेतावनी दिए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका दल लिम्बुवानविनाको संघीयता ल्याउने प्रपञ्चमा लागेको आरोप लगाए ।
सभामा आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले १४ जेठभित्र संविधान नबनाउने कसरतमा दलहरू लागेको र संविधान नबने आदिवासीले हतियार उठाउने बताए । कार्यक्रममा नेकपा
(माओवादी)का संयोजक मातृका यादवले सरकार भारतीय विस्तारवादलाई प्रश्रय दिन सक्रिय रहेको बताए । उनले भ्रष्टाचार र कुशासनमा भट्टराई कहिल्यै दोस्रो नभएको विचार व्यक्त गरे ।

प्रतिक्रिया