जिल्ला अदालतको फैसला पुनरावेदनले उल्टायो

विराटनगर, १६ वैशाख ।  जिल्ला अदालत मोरङले जन्मकैद फैसला गरेका तीनमध्ये दुईलाई पुनरावेदन अदालतले सफाइ दिएको छ ।
मोरङ, हरैँचा–८ का दिलीपकुमार खवासलाई धारिलो हतियार प्रहार गरी   हत्या गरेको अभियोगमा जन्मकैद सजाय पाएका डंग्राहा–९ का खगेन्द्र गच्छदार र हरैँचा–८ की कौशिल्या खवासले पुनरावेदन अदालत विराटनगरबाट सफाइ पाएका हुन् ।
१८ भदौ ०६८ मा जिल्ला अदालत मोरङले हत्या अभियोगमा मृतक दिलीपकी पत्नी सुमित्रासहित खगेन्द्र र कौशिल्यालाई जन्मकैद सजाय सुनाएको थियो ।
पुनरावेदन अदालतका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र शिवनारायण यादवको इजलासले बारदातमा संलग्न भएको नदेखिएको ठहर गर्दै उनीहरूलाई ६ वैशाखमा सफाइ दिएको हो । सोही मुद्दामा जन्मकैद सजाए सुनाइएकी दिलीपकी पत्नी सुमित्रा भने जिल्लाकै फैसलाको भागिदार भएकी छन् ।
२४ भदौ ०६५ मा घरमै सुतिरहेका अवस्थामा दिलीपको हत्या भएको  थियो ।  हत्यामा संलग्न रहेको अभियोगमा उनीहरूविरुद्व मृतकका भाइ उत्तमकुमारले किटानी जाहेरी दिएका थिए । ‘सुमित्राबाहेक अन्य व्यक्ति घटनास्थलमा पुगी बारदातमा संलग्न भएको नदेखिएको हुँदा सफाइ दिइएको छ,’ पुनरावेदन अदालतको राय किताबमा उल्लेख छ ।
दिलीप हत्या प्रकरणमा प्रतिवादी बनाइएका कृत्यानन्द मण्डल र किशोर खवासलाई जिल्ला अदालतले कसुरदार नरहेको ठहर गरी त्यतिबेलै रिहा गरेको थियो ।
खगेन्द्रसँग पत्नीको अनैतिक सम्बन्ध रहेको दिलीपले थाहा पाएपछि उनको हत्या योजना बनेको हो । तीनजनाले धारिलो हतियार प्रयोग गरी दिलीपको हत्या गरेको प्रहरीले सरकारी वकिलमार्फत अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जिल्ला अदालतका तत्कालीन न्यायाधीश चण्डीराज ढकालको इजलासले तीनैजनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया