पुणेलाई हराउँदै दिल्ली शीर्षस्थानमा

पुणे, १२ वैशाख । वीरेन्द्र सहवागले विष्फोटक ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्स मंगलबार पुणे वारियर्सलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
सात खेलबाट १० अंक जोड्दै दिल्ली शीर्षस्थानमा पुगेको हो । दिल्लीको भन्दा एक खेल बढी खेल्दै आठ अंक जोडेको कोलकाता नाइट राइडर्स दोस्रो र राजस्थान रोयल्स तेस्रो स्थानमा छन् ।
पुणेको मैदानमा भएको खेलमा १ सय ४७ रनको विजयलक्ष्य दिल्लीले १६ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । विजयी टोलीका लागि सहवागले आकर्षक इनिङ खेल्दै नटआउट ८७ रन जोडे । उनले ४८ बल सामना गर्दै १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै केभिन पिटरसनले २७ र माहेला जयावद्र्धनेले १८ रन जोडे ।
टस जिती पहिला ब्याटिङ गरेको पुणेले मनीष पाण्डे र रोविन उथप्पाको अर्धशतकीय इनिङमा २ विकेट गुमाउँदै १ सय ४६ रन जोडेको थियो । प्रारम्भिक ब्याट्सम्यान मनीषले ८० र उथप्पाले ६० रन जोडे । मनीष र उथप्पाबीच तेस्रो विकेटका लागि १ सय ४५ रनको साझेदारी भएको थियो । जेसी राइडर शून्य र सौरभ गांगुली १ रनमा आउट भए ।
यसअघि सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बंगलोर राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरी सात खेलमा चौथो जित हात पारी अंकतालिकामा छैटौं स्थानमा रहयो । बंगलोरको जितमा ब्याटिङतर्फ तिलकरत्ने दिल्सान र एब डी भिलियर्स तथा बलिङतर्फ केपी अपन्ना चम्किएका हुन् । पहिले ब्याटिङ गर्ने क्रममा बंगलोरले दिल्सानको ७६ र भिलियर्सको ५९ रनको योगदानमा २० ओभर खेल्दै १ सय ८९ रन जोडेको थियो । विशाल लक्ष्य पछयाउने क्रममा राजस्थानले २० ओभर खेले पनि १ सय ४३ रन मात्र जोड्न सक्यो । राजस्थानका आसलाग्दा चार खेलाडीलाई अपन्नाले आउट गरेर प्रतिद्वन्द्वीलाई दबाबमा राखेका थिए । राजस्थानका लागि राहुल द्रविडले सर्वाधिक ५८ रनको इनिङ खेले । चार ओभर बलिङ गर्ने क्रममा अपन्नाले १९ रन मात्र खर्चिएका थिए ।

प्रतिक्रिया