हज्जारौं हेक्टर जंगलमा आगलागी

दाङ, १२ वैशाख । दाङका दुई दर्जन बढी स्थानको वन क्षेत्रमा आगलागी भएका छन् । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा गरी करिव २० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
कार्यालयले अनुगमनका क्रममा जिल्लाका दुई दर्जन बढी क्षेत्रमा आगलागी भएको पत्ता लागेको उल्लेख गरेको छ । आगो फैलने क्रम जारी रहेको वन कार्यालयको भनाई छ ।
अहिले सम्म जिल्लाको पुरन्धारा, हाँसिपुर, शीतलापुर, राजपुर, लक्ष्मीपुर, गंगापरस्पुर, बेला, गोल्टाकुरी, हासीपुर, पञ्चकुले लगाएतका गाविसमा रहेका  विभिन्न सामुदायिक वन र राष्ट्रिय वनमा डडेलो लागेको हो ।
आगजनीबाट वन पैदावार, महत्वपूर्ण जरिवुटी, बिरुवा जलेर नष्ट भएका छन् । वनमा लागेको आगो नियन्त्रणका लागि आफ्ना कर्मचारी सहित स्थानीय वन समूहका उपभोक्ताहरुलाई परिचालन गरिएपनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
ठूलो क्षेत्रमा आगलागी भैरहेको हुँदा नियन्त्रणमा समस्या आएको जिल्ला वन कार्यालयका सहायक अधिकृत इश्वरी पौडेलले जनाएका छन् ।
सामुदायिक वन महासंघले जंगल क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न नसक्दा वन नासिदै गएको बताएको छ ।

यसैवीच, काभ्रेको बनेपामा रहेका तीनवटा पसलमा आज दिउँसो आगलागी भएको छ । बनेपा चारदोबाटोमा रहेको मिठाइ, पान तथा मःम पसलमा आगलागी भएको हो ।

बनेपा–पनौती रोडको कृष्णप्रसाद अस्पतालसँगै जोडिएको मिठाई पसलबाट दिउँसो १ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीबाट झण्डै १५ लाख बरावरको क्षति भएको प्रहरी अनुमान छ ।

प्रतिक्रिया