हिमालयन सेमिफाइनलमा


काठमाडौं, ११ वैशाख । यति हिमालयन शेर्पा क्लब राजधानीमा जारी ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयनले सोमबार भएको प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्‍यो । म्याचको ७८आ मिनेटमा दिनेश कार्कीले गोल गरे । मच्छिन्द्रका रक्षकले सहज बल पनि क्लियर गर्न नसकेपछि जसबहादुर राईले पाएको बल दिनेशलाई दिएका थिए । दिनेशले सहजै गोल गर्दै हिमालयनलाई जित दिलाए । राई त्यसको १४ औं मिनेटअघि मात्र गणेश खड्कालाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेका थिए ।
पछिल्लो सत्र आकर्षक फुटबल खेलेका जाउलाखेलका अधिक खेलाडी भित्र्याए पनि मच्छिन्द्रले हिमालयनसँगको खेलमा त्यसअनुसारको प्रदर्शन गर्न सकेन । दीपक राई र विशाल राई ‘ए’ को आक्रामक जोडी खासै प्रभावकारी देखिन सकेन । खेलको दौरान एकपटक विशालले तीन रक्षक छलाउँदै गोलपोस्टमा प्रहार गर्ने अवसर पाए पनि फितलो प्रहार गरेका थिए ।
राष्ट्रिय लिगको उपविजेता हिमालयनले भने खेलको सुरुआतदेखि नै केही दबाब सृजना गरेको थियो । २५औं मिनेटमा दीपकले डिबक्सछेउबाट प्रहार गर्दै भाग्यपरीक्षण गरे पनि हिमालनयका गोलरक्षक विनय श्रेष्ठले सहजै त्यसलाई निगरानीमा लिए । ३३औं मिनेटमा गणेश खड्काले दुई रक्षकलाई कटाएर जांगु शेर्पालाई पास दिए पनि मच्छिन्द्रका गोलरक्षक दिनेश थापाले नियन्त्रणमा लिंदै संकट टारेका थिए । ५६औं मिनेटमा गणेशको कर्नरमा दिनेशले डिबक्सको एजबाटै प्रहार गरे पनि त्यसले सही दिशा लिन सकेन ।
जसबहादुरले मैदान प्रवेश गर्नेबित्तिकै मच्छिन्द्रका रक्षक हेम गुरुङलाई छलाए पनि फिनिसिङ भने कमजोर रहयो । सोमबारको खेलको म्यान अफ द म्याच हिमालयनका डिफेन्सिभ मिडफिल्डर रूपेश केसी भए । हिमालयनले अब सेमिफाइनलमा मेगा थ्रीस्टार क्लबसँग खेल्नेछ ।
आइतबार मात्र लक्ष्मी हुन्डाई कम्पनीसँग प्रायोजन सम्झौता एक वर्षका लागि लम्ब्याएको मनाङ–मस्र्याङदी क्लबले मंगलबार फ्रेन्ड्स क्लबसँग खेल्नेछ । आइतबार हुन्डाईका निर्देशक अञ्जन श्रेष्ठ र मनाङका अध्यक्ष टासी घलेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया