“अहिलेको राजनीति घीन लाग्छ”

कसरी बित्दै छन् दिनहरू ?
जन्मँदा एक्लै, हुर्कंदा पनि एक्लै । एक्लै बाँच्न सक्ने वातावरण बनाएकी छु । ध्यान, लेखपढ गरेर दिन बित्छन् । आफ्नै जीवनको सिंहावलोकन लेख्न व्यस्त छु ।
 एक्लो जीवन अत्यास लाग्दैन ?
अहँ, लाग्दैन । मीठोमीठो कल्पना गरेर जीवन बिताउँछु । आफूले गरेका सकारात्मक कुरा मात्र सम्झन्छु ।
नामबाहेकको आफ्नो परिचय कस्तो देख्नुहुन्छ ?
नेपाली आमाले जन्माएकी संघर्ष गरेर बाँच्न जानेकी नेपाली ।
राजनीतिमा कसरी लाग्नुभयो ?
रुचिले होइन, जबर्जस्ती राजनीतिमा ल्याएका थिए । जनकपुरका तत्कालीन अञ्चलाधीश दिलबहादुर श्रेष्ठले टीका लगाइदिएर नेपाल महिला संगठनको अञ्चल सभापति बनाए । यत्तिको पढेलेखेकी महिलाले जिम्मा लिनुपर्छ भनेर विधान थमाइदिए । नलाग्नु लागिसकेपछि तनमन दिएरै लाग्ने मान्छे म । त्यहीँबाट सुरु भएको राजनीतिक जीवनमा चार पटक राष्ट्रिय पञ्चायत सदस्य र मन्त्री भएँ ।
सामाजिक काममा कत्तिको रुचि राख्नुहुन्छ ?
वाचनालय, पुस्तकालय, संग्रहालय बनाएकी छु । घरमा चित्र बनाउ‘छु । चित्र बनाउ‘दा महँगो रङ प्रयोग गर्दिनँ । टुकी बाल्छु, त्यसमाथि एउटा भाँडो राख्छु, त्यसमा जम्मा भएको कालोलाई रङका रूपमा प्रयोग गर्छु । यी सबै मेरा सामाजिक काम हुन् ।
समाजसेवाको प्रेरणा कसरी आयो ?
भारतको गान्धी आश्रममा पॉच वर्ष पढ्दा त्यहीँबाट सामाजिक काममा मेरो जग बस्यो । त्यहाँ हामी पत्रिका प्रकाशन गथ्र्यांै ।
भारतमा पढ्ने अवसर कसरी पाउनुभयो ?
बुबा हुनुहुन्नथ्यो, आमासँग के पैसा माग्नु ? आफैँ कमाएर पढ्नुपर्छ भन्ने थियो । नेपाल सरकारको छात्रवृत्तिमा भारत जान भनसुन गरे । बबरशमशेरका छोरा अमिरशमशेर घरेलुका डाइरेक्टर थिए । तुलसी मेहरजीले  ‘यो रोगी छ, हुंदैन सरकार’ भनिदिए । अनि त डाइरेक्टरले ‘तिमीलाई पछि पठाउँला’ पो भन्न लागे । म पनि के कम, हुन्न सरकार पछिको कुरो पछि हुन्छ, म त यही लटमा जाने हो भन्दै सबैका अगाडि ग्वाँ..ग्वाँ रुन थालेँ । केही नलागेपछि मलाई पठाए ।
राजनीति र समाजसेवा कुन राम्रो ?
राजनीति पनि कहीँ गर्ने काम हो † समाजसेवा र साहित्यले त बाँच्ने प्रेरणा दिन्छ । राजनीतिले न सन्तोष दिन्छ, न त आनन्द । तनाबै तनाब ।
समाज परिवर्तन त राजनीतिले नै गर्छ भन्छन् नि ?
खोइ त अहिले देश बनाएको, समाज परिवर्तन भएको ? मुलुक बनाउने मान्छेले हो, राजनीतिले होइन । अहिलेको राजनीति देख्दा घीन लागेर आउँछ । गान्धी, स्टालिन, माओजस्ता मान्छे ठाउ‘मा पुगे मात्र देश बन्छ ।
कसलेचाहिँ सक्ला त यो मुलुक समृद्ध बनाउन ?
माओवादीलाई नै केही समय काम गर्न दिने हो भने एउटा ट्रयाकमा ल्याएर छाड्लाजस्तो लाग्छ । कांग्रेस र माओवादीको सिद्धान्तै नमिल्ने, एमालेचाहिँ कहिले माओवादी त कहिले कांग्रेससँग मिलेर च्याँखे थाप्ने । नेतृत्व गर्न सक्ने कोही देख्दिनँ । प्रचण्डले पार्टीभित्र विरोध हुँदाहुँदै पनि पेलेर नै शान्तिका लागि केही गर्न खोजेका हुन् । काठमाडौंको बाटो चौडा हुँदै छ नि, त्यो योजना त राजा महेन्द्रको हो ।  त्यतिबेलै विदेशी योजनाकार ल्याएर काम गर्न खोजेको हो । कसैले हिम्मत गरेनन् । कुनै प्रधानमन्त्रीले नगरेको हिम्मत अहिले बाबुरामले गरे ।
पहिलो पटक मन्त्री हुँदा कस्तो महसुस भएको थियो  ?
के भन्नु, मलाई त सूर्यबहादुर थापाले थाङ्ना बनाए नि त्यतिबेला । नयाँ श्रम तथा समाजकल्याण मन्त्रालय खोलेर त्यसैको मन्त्री बनाए । ६ महिनासम्म न कार्यालय न त कुर्सी । आफैंले त्यसलाई मन्त्रालयको संरचनामा ल्याएँ । अर्थ मन्त्रालयमा गएको त चिटिक्क परेको सोफा । सचिवलाई ‘ल मलाई पनि यस्तै सोफा चाहियो’ भनेर मगाइहालेँ ।
पहिले र अहिले महिलाको अवस्थामा कस्तो फरक पाउनुहुन्छ ?
आकाश–जमिनको फरक छ । शिक्षा र चेतना त वृद्धि भएको छ तर अहिले आफ्नो स्वार्थका लागि जे पनि गर्दा हुन्छ भन्ने मानसिकता बढेको छ । पहिलेको जस्तो आदर्श अहिलेका महिलामा देखिँदैन । नैतिकतामा ह्रास आएको छ ।
महिला भएका कारण हेपिएको महसुस पनि भयो कि ?
म कहॉ त्यस्तो हेपिने खालकी थिएँ र ? राजा महेन्द्रले लालमोहर लाएर ल्याएको भूमिसुधार ऐन हाउसकै अगाडि फालिदिएँ, महिलालाई अधिकार नै नभएको मान्य हुँदैन भनेर । थाहा थिएन, लालमोहर लागेपछि माननीयले बोल्न पाइँदो रहेनछ । झन्डै जेल हालेका । पञ्चायती व्यवस्थाकी जल्दीबल्दी महिलालाई थुन्दा राम्रो सन्देश जाँदैन भन्ने कारणले बचेँ ।
सामाजिक रूपमा अरू अप्ठ्यारा कस्ता थिए ?
कदम–कदममा गाह्रो थियो । म पहिला एक्लै हिँड्दा चक्कु बोक्थेँ । पछि पेस्तोल बोक्न थालेँ । हतियार हुँदा आत्मबल बलियो हुन्थ्यो । कोही आए भ्याटभ्याट पार्छु भन्ने हुन्थ्यो । तीन दिनको बाटो पनि रातरातभर हिँडेर एकै दिन पुग्थेँ । तर, बन्दुक चलाउनचाहिँ परेन है †
दरबारसँग खुब नजिक हुनुहुन्थ्यो रे नि ?
मैले दरबारलाई मानेको त हो तर निकट सम्बन्ध थिएन । पदीय रूपमा जानैपर्ने अवस्थाबाहेक चाकडी–चाप्लुसी गर्न कहिल्यै गइनँ । अहिले पनि चाडबाडमा शुभकामना कार्ड पठाउँछु । पहिलो पटक माननीय हुँदा ‘मुमा बडामहारानी’को हीरकजयन्ती आयो । मञ्चमै पुगेर धुमधामसँग शुभकामना दिएँ । पछि पार्टीमा महेन्द्र सरकार र रत्न आएर मलाई धन्यवाद दिनुभयो ।
राजनीतिक अवस्था हिजोको ठीक कि आजको ?
सुरक्षा, इमान, नैतिकताको कुरा गर्दा हिजोको ठीक थियो । सामाजिक सुरक्षा थियो, आज छैन । एक्लै हिँड्ने वातावरण थियो  तर राजनीतिक परिवर्तन समयको माग हो, स्वीकार गर्नुपर्छ । मैले पनि गरेकी छु, त्यसैले हिजो पनि ठीक आज पनि ठीक ।
समकालीन साथीहरूसँग भेटघाट हुन्छ कि हुँदैन ?.
किन नहुनु ? त्यसकै लागि भनेर भद्रकुमारी घले सेवा सदन बनाएको छु । पचास लाखको कोष छ । यो समाजसेवाका लागि हो । धन भएर होइन, मेरो मनले राखेको हो । हिजो अठार हजार आनामा किनेको जमिन आज पॉच लाख आना भयो । त्यो एक्लै खान भएन नि भनेर सामाजिक काममा लगाएको हो । मेरो सफलतामा सबै भगवान्को देन छ ।
धर्ममा कत्तिको विश्वास छ ?
धेरै छ तर अरूलाई देखाउने गरी होइन । शिवपुरी बाबालाई धेरै मान्छु । सबै मन्दिरमा जान्छु ।
प्रस्तुति : चमिना

प्रतिक्रिया