पुलिस दोस्रोपटक सेमिफाइनलमा

काठमाडौं, १० वैशाख । गोलरहित बराबरीको अवस्थालाई टाइब्रेकरमा ४–३ ले चिर्दै आइतबार नेपाल पुलिस क्लब नेपाल आर्मीलाई पाखा लगाएर ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि अन्तिम सुटरको रूपमा आएका गोलकिपर विकास मल्लको प्रहार बारको साइडबाट बाहिरिएको थियो । त्यसपछि आएका पुलिसका रविन श्रेष्ठले गरेको प्रहार नै निर्णायक बन्न पुग्यो र पुलिस लगातार दोस्रोपटक अन्तिम चारको प्रतिस्पर्धी बन्न पुग्यो ।
निर्धारित तथा अतिरिक्त समय प्रतिस्पर्धात्मक रहेको खेलको टाइब्रेकर पनि रोमाञ्चक बन्यो । पुलिसको तर्फबाट योगेश श्रेष्ठले गरेको पहिलो प्रहार नै बाहिरिएको थियो तर दोस्रो, तेस्रो र चौथो प्रहार भने पुलिसले खेर जान दिएन । आर्मीले गरेका पहिला तीनवटै प्रहार सफल रहे पनि टेकबहादुर बुढाले गरेको टोलीको चौथो प्रहारलाई पुलिसका राष्ट्रिय गोलकिपर रितेश थापाले दाहिने साइडबारतर्फ डाइभ गर्दै बचाएका थिए ।
आर्मीका तीन सुरुआती प्रहार राजु तामाङ, हिरण्य मगर र नवयुग श्रेष्ठले गरेका थिए । योगेशको प्रहार क्रसबारभन्दा माथिबाट गए पनि पुलिसका लागि बाँकी प्रहार गरेका पर्वत पाण्डे, सुमन सुवेदी र भोला सिलवाल सफल रहेका थिए ।
विगत केही वर्षयताकै स्तरीय प्रदर्शन गरेको आर्मीले खेलअवधिमा गोल गर्न भने सकेन । १३आं मिनेटमा डिबक्सभित्र ‘अनमार्कड’ आर्मीका दीप लामाले वनभर्सेस वनको स्थितिमा पनि बललाई साइडबारभन्दा बाहिर प्रहार गर्न पुगे । निर्धारित समयको अन्तिम समय र अतिरिक्त समयमा दुईपटक आर्मी गोलनजिक पुगेको थियो तर पुलिसका गोलरक्षक रितेश थापा उनीहरूका लागि महँगो सावित भए ।
एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) प्रेसिडेन्ट्सकपका लागि अन्तिम तयारीमा रहेको लिगविजेता पुलिसले पहिलो हाफमा कमजोर प्रदर्शन गरे पनि मध्यान्तरपछि त्यसलाई सुधार गर्दै केही अवसर सृजना गर्‍यो तर कमजोर तालमेल र फिनिसिङका कारण गोल गर्न भने सकेन ।
गत संस्करणको सेमिफाइनलमा मनाङ–मस्र्याङदी क्लबविरुद्ध टाइब्रेकरमा पराजित हँदै बाहिरिएको पुलिसले यसपटक पनि सोही चरणमा साविक प्रतिद्वन्द्वीलाई नै भेट्ने सम्भावना देखिएको छ । पुलिसले फाइनल प्रवेशका लागि मंगलबार भिड्ने मनाङ–मस्र्याङदी र फ्रेन्ड्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया