पत्रकार महिला र पुरुष सहकर्मीबीचको दुरी बढ्दैछ

दाङ, १० वैशाख । क्रियाशिल पत्रकार महिलाले आजदेखि दाङमा सन्डे क्लवको सुरुवात गरेका छन् । सञ्चारमा क्रियाशिल पत्रकार महिलाहरुका बिषयबस्तुलाई छलफल एवम् सम्वोधन गर्न सन्डे क्लवको सुरुवात गरिएको महिला पत्रकारहरुले बताएका छन् ।
क्रियाशिल पत्रकार महिला एवम् सन्डेक्लवकी संयोजक बसुन्धरा गौतमले सञ्चार क्षेत्रमा पत्रकार महिलाले भोग्नु परेको समस्यालाई संस्थागत गर्न सन्डेक्लवको सुरुवात गरेको बताएकी छन् । ‘आफ्ना कुरा खुलेर राख्न क्लवको सुरुवात गरिएको हो ।’ उनले भनिन्, ‘जहाँ पत्रकार महिलाले भोग्नुपरेका सम्वेदनशिल समस्याका विषयमा गहिरिएर छलफल एवम् निकास निकालिने छ ।’
सन्डेक्लवको पहिलो दिन आज जिल्लाका करिव दुइदर्जन बढी पत्रकार महिलाहरुले समग्र जिल्लामा महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल गरेका छन् ।
सन्डेक्लवमा पत्रकार महिलाका बिषयमा बोल्दै क्रियाशिल महिला पत्रकार मध्यपश्चिम संयोजक लिला शाहले  जिल्लामा पत्रकार महिलाको गुणात्मक र संख्यात्मक विकास जरुरी रहेको बताइन् । उनले भनिन्, ‘महिला पेसागत रुपमा सक्षम हुन जरुरी छ ।’ संयोजक शाहले मोफसलको पत्रकारिताबाट प्राप्त हुने न्यून पारिश्रमिक एवम् स्रोत साधनको अभावमा क्रियाशिल पत्रकार महिलाहरुले पेसालाई निरन्तरता दिन नसकेको धारणा राखिन् ।
पत्रकार महिलाहरुले जिल्लामा आफूहरुले भोगेका साझा समस्यालाई संस्थागत रुपमा छलफल गर्नु आवश्यक्ता रहेको बताए । उनीहरुले संचार गृहमा महिलाले भेदभावपूर्ण व्यवहारको सामना गर्नुपरेको भन्दै पत्रकार महिलाको समस्या सम्बोधनका लागि निरन्तर छलफल र साझा फोरमको आश्यकता रहेको बताए ।
महिलाले सञ्चार गृहमा आफ्ना पुरुष सहकर्मीबाट भोग्नुपरेको हिंसाको घटनालाई बाहिर सुनाउने ठाउँ नभएको भन्दै  पत्रकार महिलाको साझा समस्या समाधानको लागि एक जुटहुनुको विकल्प नभएको कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया