दाहाल बसेको घरको छानबिन गरिने

काठमाडौं, ९ वैशाख । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल बसिरहेको लाजिम्पाटस्थित घरबारे छानबिन अघि बढाउने भएको छ । गत साउनमा ललितपुर निवासी शिशु अर्यालको नाममा सो घर खरिद गर्दा स्रोत खुलाउनुपर्ने महल खाली छोडिएको थियो ।
प्रचलित कानुनअनुसार एक करोड रुपियाभन्दा बढीको घरजग्गा कारोबारमा स्रोत देखाउनुपर्छ तर पा“च करोड २० लाखमा खरिद सो घर कारोबारमा स्रोत लुकाइएको थियो । ‘छानबिन गर्छँ,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक मुक्तिनारायण पौडेलले भने, ‘यो विषय अब अनुसन्धानको प्रक्रियामा जान्छ ।’ उनले स्रोत नखुलाई भएको सो कारोबारलाई चाडै शुद्धीकरण विभागमा दर्ता गरी अनुसन्धान थालिने बताए ।
सूचना सार्वजनिक हुदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने भन्दै शुद्धीकरण विभागले यस विषयमा गोप्यरूपमा अनुसन्धान गर्ने भएको छ । स्रोतका अनुसार शुद्धीकरणले यस विषयमा छानबिन गर्न अनुसन्धान अधिकृत तोक्नेछ र सूचना निकालेर सम्बन्धितकहा जानकारी पठाइन्छ । ‘सबै प्रक्रिया नखुलाऔ,’ पौडेलले भने, ‘यति मात्र भनौ समय लाग्न सक्छ ।’
अनुसन्धान संवेदनशीलतालाई दृष्टिगत गर्दै विभागले यस विषयलाई गोप्यरूपमा अघि बढाउने बताएको हो । ‘सबै कुरा मिडियामा आयो भने मान्छे भाग्ने र अपराध लुकाउने अन्य हथकण्डा हुन सक्छन्,’ पौडेलले भने, ‘यी सबै विषयमा हामी सचेत छौ ।’ पौडेलले छानबिनपछि नै यथार्थ खुलाइने बताए । उनले लहरो तान्दा पहरो थर्किन सक्ने संकेत गर्दै भने ‘बाहिर देखिने व्यक्ति एउटा र वास्तविक घरधनी अर्को पनि हुन सक्छ । हामी यसको तथ्य बाहिर ल्याउछौ ।’
यसैबीच स्रोत नखुलाई कारोबार गराउने मालपोत कार्यालय डिल्लीबजारलाई भूमिसुधार विभागले वास्तविकता खुलाउन पत्राचार गरेको छ । ‘फलोअप भएको छ’ विभागका महानिर्देशक जितबहादुर थापाले भने, ‘जवाफ पर्खेर बसेका छौ ।’ डिल्लीबजार मालपोतले गत साउनमा भएका कारोबारको स्रोत विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई हालसम्म पनि पठाएको छैन ।

प्रतिक्रिया