ओलम्पिक टर्चको शाही स्वागत हुने

लन्डन, ६ वैशाख । लन्डन ओलम्पिक टर्चको शाही स्वागत हुने भएको छ । राजकुमार विलियम्स र राजकुमारी केटले बकिंघम दरबारमा ओलम्पिक उद्घाटन हुनु अघिल्लो दिन अर्थात् २६ जुलाईमा टर्चलाई स्वागत गर्ने दरबारस्रोतले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विलियम्स दम्पतीलाई अर्का राजकुमार हयारीले पनि त्यस अवसरमा साथ दिनेछन् ।
१० जुलाईमा महारानी एलिजावेथ द्वितीयले टर्च ज्योति हेर्ने कार्यक्रम रहेको जनाइएको छ । मंगलबार दरबारले दिएको जानकारी अनुसार विन्डसर क्यासलमा महारानीले सो टर्चको दृश्यावलोकन गर्नेछिन् । पूर्वी लन्डनस्थित ओलम्पिक मैदानमा टर्च पुर्‍याउनुअघि १३ हजार किलोमिटरदेखि ल्याइएको सो टर्च बेलायतका चारवटा दरबारमा लगिनेछ । आठ हजार उत्साही मानिसद्वारा बोकिने ओलम्पिक टर्चलाई बेलायतमा मात्र ७० दिन घुमाइनेछ ।
महारानी एलिजावेथ द्वितीय र उनका श्रीमान् फिलिपले लन्डनमा हुन गइरहेको आसन्न गृष्मकालीन ओलम्पिकको २७ जुलाईमा उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया