एकै झट्काले थलिएको जिन्दगी

काठमाडौं मोडेल अस्पतालको न्युरो सर्जरी वार्ड । कुनामा रहेको ३२३ नम्बर क्याबिन । झुस्स दाह्री मात्रै ‘आँखा लाग्ने’ एउटा ढलिरहेको युवा । सिरानीबाट एक इन्च टाउको उठाउँछ र ‘चुइँक्क’ आवाज आएको ढोकातिर नियाल्छ । अनायासै कसैको आगमनले सायद उसको मनमा आशाको फिलिंगो धिपिक्क उज्यालियो- ‘कोही आफन्त पो आयो कि ?’
‘दाइ नमस्कार !’ मेरो अभिवादनले ऊ अलमलिन्छ । आँखाको इसारामा अभिवादन स्विकार्दै भन्छ, ‘मैले ठम्याउन सकिनँ त ?’ अनेकथरी औषधि मिसिएको गन्धले कोठा गुम्सिएको छ । बेडमा लमतन्न परेका २६ वषर्ीय अनील प्रधानको छेवैमा टुलभरि थुपारिएका झन्डै दुई माना औषधिमा मेरा
आँखा अडिन्छन् । मैले सोधेँ, ‘केको उपचार गराइरहनुभएको ?’ अनीलले म भएतिर घाँटी भाँच्दै भने, ‘सबै थोकको भनौँ कि ?’ उनी अहिले सुत्दासुत्दा ‘बेडसोयर’को बिमारीले झन् थला परेका रहेछन् । त्यसैका औषधि टेबुलभरि थुपारिएका थिए ।
इलामको समालबुम-१, मिलनचोकमा २०४२ पुस २२ गते जन्मिएका अनीललाई ‘दाइ’ भनेर गरेको सम्बोधन अब आफैँलाई गहु्रँगो लाग्न थाल्यो । श्रीजन माविबाट एसएलसी गरेर महेन्द्र क्याम्पसबाट १२ कक्षा पास गरेका दिन अनीलका आँखामा सप्तरंगी सपनाहरू सिमलको भुवाझैँ उडेका थिए । गाउँमा बुबाआमाले गर्दै आएको अदुवा, कुचो र चियापत्तीको खेतीलाई आधुनिक शैलीमा गर्छु भन्ने योजना थियो । ‘ती सारा सपना २०६८ असार २ गते मसँगै बजारिए,’ अनीलले भने, ‘आज म आफैँ अरूको सहारामा बाँच्नुपरेको छ ।’
२६ वषर्ीय अनीलको उम्दो जवानीजस्तै असार २ गतेको दिन पनि भरिलो हुँदै थियो रे । उनी बिगि्रएको विद्युत्को तार जोड्न पोलमा चढेछन् । तर, त्यस दिनदेखि घरको आँगनै टेक्न पाएनन् । उनले भने, ‘धेरै दिनदेखि अन्धकार घरलाई उज्यालो बनाउन पोेलमा उक्लिएँ, जिन्दगी नै अँध्यारो भयो ।’ चार दिनपछि भारतको सिलिगुडीस्थित आनन्दलोक अस्पतालमा होस खुलेका अनीलले धेरैबेर त ‘मलाई के भयो ?’ भन्नेसम्म हेक्का पाउन सकेनन् । ‘केहीछिनपछि टाउको मुसार्दा ‘हाइभोल्टेज’ले पारेको भ्याङ हात लाग्यो’, अनीलले त्यो क्षण सम्भिmँदै भने, ‘अनि त सबै कुरा होसमा आए ।’
करेन्ट लागेर भुइँमा पछारिएका अनील १० महिनादेखि कहिल्यै ठाडो उठ्न सकेनन् । बरु अस्पतालको बेडमा सुत्दासुत्दै ‘बेडसोयर’ ले सताएको छ । शरीर मरेको छ । रहर ताजा भएका छन् । कुरा गर्दागर्दै भक्कानिए उनी । नजानिँदो गरी बगेका आँसु राम्ररी नतंगि्रएका हातले सुटुक्क पुछे । अनि भने, ‘खै डाक्टरले निको हुन्छ त भनेका छन् तर कहिलेसम्म हुने हो थाहा छैन ।’
सिलिगुडीको अस्पतालमा पाँच महिना बस्दा जलेको घाउसम्म ठीक भएछ । त्यसपछि दार्जिलिङको पानीट्यांकीमा तीन महिना बसेछन् । माघ ५ गतेदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका अनील बेडबाट उठ्नसम्म पाएका छैनन् । ‘फर्किन त अरूले फर्काइदिनुपर्छ, अन्त त कसरी जानु र ?’ अनीलले फेरि आँसुसँगै नुनिलो पीडा अलाप्दै पाइप समातेर भने, ‘दिसापिसाब पनि यही पाइपको भरमा गर्छु ।’
आफू कहिले निको हुँला र घर जाउँला भन्नेबाहेक अस्पतालसँग कुनै गुनासो छैन उनको । भन्छन्, ‘डाक्टरले पनि सक्नेजति गर्ने न हुन् । निको हुने चिजलाई ननिको कुन डाक्टरले बनाउला र !’ अनीललाई अब त मोडेल अस्पतालका डाक्टर, नर्स पनि परिवारकै मान्छेजस्ता लाग्न थालेका छन् । भने, ‘तपाईं एकछिन आउने मान्छे त आफ्नैजस्तो लाग्छ । तीन महिनादेखि जसले मलाई निको पार्न खोजिरहेको छ, ऊ किन पराई लाग्थ्यो र ?’
विडम्बना ! उनको भाँच्चिएको मेरुदण्डभन्दा पनि अहिले थला परेर पाकेको जिउकै उपचार भइरहेको छ । घरखेत आधा बेचेर, आधा धितो राखेर आमाबाबुले उपचार गराइरहेका अनीलको अचल शरीर सम्हाल्न भाइ कुशल, साथीहरू प्रकाश र विवेकले पालैपालो साथ दिइरहेका छन् ।
‘गरिबी भन्ने पनि गजब चिज रहेछ सर !,’ आँसु अझै चुहिरहेकै छ, ‘सिलिगुडीमा पाँच महिना बस्दा आमाबाबुको मुख त देख्न पाइन्थ्यो । काठमाडौं आएपछि त्यो पनि छुट्यो, इलामबाट यहाँ आउनजान लाग्ने पैसाले एक-दुई हप्ता औषधि खान पुग्छ भनेर आमाबाबु नआउनुभएको ।’
जिन्दगीले जतिसुकै थला पारे पनि मन दह्रो पारेका छन् उनले, ‘निको भए जग्गा त फेरि पनि कमाइएला भन्ने आँट छ ।’ तर, उठ्न नमान्ने शरीरले उनको आँटलाई निरीह बनाइदिइहाल्छ । आँसुले पुरिएका आँखा निचोर्दै भने- ‘सर ! कतिबेला जुरुक्क उठ्न पाइएला र आमाबा भएठाउँ जान पाइएला !’

प्रतिक्रिया