खोजखबर

अझै पनि जवानीकै फुर्ती

सौर्य अनलाइन २०६९ वैशाख ४ गते ३:२६ मा प्रकाशित

नातिनातिनाको हातको सहारामा हिँड्नुपर्ने उमेरमा छन्, कलाकार भीमबहादुर थापा । तर, चार बीस काटिसक्दाको बुढ्यौलीलाई उनको सक्रियताले बारम्बार चुनौती दिइरहेको हुन्छ- सक्छस् भने रोकेर देखा त मलाई !  ‘उमेर पचपन दिल बचपन’ भनेजस्तै रौसिलो दैनिकीमा रहेका उनी सुनाउँछन्- कतै मादल बज्यो कि उठेर नाचूँनाचूँ लाग्न थालिहाल्छ अहिले पनि । ओखलढुंगामा बाल्यकाल बिताएका उनले सेनानी भीमबहादुर थापाका नाममा दोस्रो विश्वयुद्धलाई छोए । राणाजीको चौबीस पल्टन हुँदै मेजर पदबाट सैनिक जीवन पूरा गरे । त्यो अवकाश उनलाई उमेरसम्बन्धी सरकारी हदबन्दीले गराएको थियो । तर, उनले सक्रिय जिन्दगीबाट अवकाश कहाँ लिएका छन् र ? कलाक्षेत्रमा एउटा आर्मी ठिटोको जस्तै ठाँट र रबाफ जमाइरहेछन्, अभिनयमार्फत ।  बिहान ४ बजे उठेर नित्यकर्म सकेपछि सुरु हुन्छ उनको दैनिकी । दैनिक नुहाउने बानी रहेनछ उनलाई । ‘म ढाँट्दिनँ, शनिबार एक दिन मात्रै नुहाउँछु । तर, सरर हरेगंगे भन्दै पानी छर्केर निस्किने बाहुन नुवाइ होइन, मज्जैले नुहाउँछु ।’ बिहानै उठेर घरअगाडिको मैतीदेवी दर्शन गर्छन्, जसप्रति उनलाई अगाध विश्वास छ । भन्छन्- ‘यिनैका कृपाले यहाँसम्मको सफलता मिलेजस्तो लाग्छ ।’
मैतीदेवीबाट फटाफट पशुपतितिर हान्निन्छन् ८६ वर्षे ठिटा । चाडबाडबाहेकको दिनमा बाहिरैबाट दर्शन गर्छन्, र्फकन्छन् । ६ बजेको रेडियो खबर सुन्न त्यहाँबाट घरै फर्किसकेका हुन्छन् । पत्नीले दूधमा एक चम्चा हर्लिक्स मिलाएर तयार पारिदिन्छिन् । खाइसकेर उनी पत्रिका पढ्न थाल्छन्, अक्षर खुट्याउन चस्मा लगाउनु पर्दैन । सुनाउँदै थिए- ‘सबैका हातका शंखचक्र मज्जाले छुट्याइदिन सक्छु ।’ बूढाबूढीका खबर पढ्दा यी पनि मैसँगका रहेछन्, ऊ पनि मैसँगका रहेछन् भन्दै हिसाबकिताब गर्दा रहेछन् । खाने, सुत्ने र मनोरञ्जनमा बिताउने रुटिन फिक्स हुन्छ उनको, आर्मी जीवनको अनुशासनजस्तै ।
कहिलेकाहीँ अलिअलि प्रेसर बढ्नुबाहेक अरू रोग अहिलेसम्म यी चर्को स्वभावका पूर्वमेजरसँग डराएरै बसिरहेका रहेछन् । दंग पर्छन्- ‘डाक्टरले केही ठूलो रोग छैन भन्छन् ।’ दोस्रो विश्वयुद्धका क्रममा चार वर्ष बर्माको मणिपुरमा लडेका उनी सुनाउँदै थिए- ‘लडाइँको कुरा सुन्न मजा, लड्न गाह्रो । हिमाल हेर्न राम्रो चढ्न गाह्रो ।’ लाहुरबाट घर र्फकंदा आफ्नो हातको घडी हेरेर गाउँका मान्छे दंग परेको उनलाई आजैजस्तो लाग्छ रे ! ००२ सालमा नेपाल फिरेका रे उनी । त्यसपछि राणाजीको चौबीस पल्टनबाट जागिरे जीवन सुरु गरेका । ‘फुर्तीसाथ विश्वयुद्ध लडेर छातीभरि तक्मा लिएर आएको, यहाँ त भांग्राको टोपी र खागीको कट्टु लगाएर हिँड्दा ज्यापुको बारीमा राखेको लाखेजस्तो देखियो नि !’ विगत सम्झेर हाँसिरहेका उनीसँग गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्टजस्ता पदकका खुसी पनि छन् ।
ठूला-साना गरी तीन सय बढी सिनेमामा अभिनय गरेका उनी तिनै भूमिकामा जस्तै रसिक स्वभावका छन् । अहिले त पाए अर्की ल्याउलान् जस्तो छ, जवानीमा झन् कति युवती झुम्मिँदा हुन् उनका वरिपरि ? उत्साहित हुँदै ठट्टा गरे- ‘अहिले त यस्तो छु, उमेर घटाउँदै बीस पच्चीसमा लानुस्, कस्तो देखिउँला ! भँगेरा खस्थे भँगेरा मलाई देख्दा, ती सबैलाई आऊ भनेको भए कति पुग्थे कति ! गाउँमा सबैले जिब्रो टोक्थे मलाई देख्दा ।’ जवानीको फुर्ती झिके यी बूढाले ।
उनलाई लाउन, खानमा त्यति सोख छैन । माछामासु कमै खान्छन् । कालो दाल, भात, मसिनो गरी पिसेको टमाटरको अचार र मौसमी तरकारी हो उनको दैनिक खाना । रक्सी, चुरोट जमानामा खुब पिएछन् । हिजोआजचाहिँ पार्टीतिर एक-दुई पेग नै काफी हुँदो रहेछ । ठट्यौली पारा निकाले- ‘घरमा ए … ढोका खोल् भन्न नपर्ने गरी खान्छु ।’
समकालीन साथीभाइ उनको फुर्तिलो शरीर र जाँगरको तारिफ गर्छन् रे । कताकता डाह पनि पो गर्छन् कि ! सोध्दारहेछन्- ए भीमबहादुर के खान्छौ हो तिमी, आर्मीको खान्कीले दिएको तन्दुरुस्ती बाँकी होला होइन अझै ?  ‘हुन त उपर वालेका लीला’, उनले रहस्य खोले- ‘तैपनि खाने, सुत्ने, उठ्ने र कामको रुटिङमा सन्तुलन मिलाउन सके तन्दुरुस्त भइन्छ  ।’
अभिनय उनको सोख हो, पेसा होइन । काठमाडौंका चारभन्ज्याङभित्र चित्त बुझ्दो रोल पाए मात्र गर्छु भन्छन् । ‘टाढा त के जानु र खोइ, उमेर ढल्किँदै छ । त्यही कारण जटिल रोग लागिहाल्यो,’ भने । यस्ता तर्कनाले अलिअलि सजगचाहिँ गराउँदो रहेछ ।  सुनाए- ‘पूजापाठ, जप गर्ने बेलामा केको हाहा र हुहु गरेर हिरोनीसँग लाप्पा खेल्नु अब !’ त्यसैले हिजोआज पूजापाठमा निकै समय बिताउँदा रहेछन् । मनले कहिलेकाहीँ अब कति उप|mने, पुग्यो पनि भन्दो रहेछ । तर, किन मान्थे र उनी, कसैले अभिनयका लागि बोलायो कि पुगिहाल्छन् उनी । मादल बज्नासाथ उठेर नाच्न थालिहालेजस्तै ।

प्रतिक्रिया