प्राध्यापक ४, कर्मचारी २, विद्यार्थी ०

काठमाडौं, १२ चैत । त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य छ । तर, विद्यार्थी नै नभएको विभागमा चार प्राध्यापक र दुई कर्मचारी ‘कार्यरत’ छन् । यी भाग्यमानीहरू हाजिर गरेको भरमा खुरुखुरु तलब खान्छन् ।
विद्यार्थी नै नभएको केन्द्रीय विभागमा हालै विभागीय प्रमुखसमेत नियुक्त गरिएको छ । अघिल्लो वर्ष दुई विद्यार्थी रहेकामा उनीहरूको पढाइ सकिएपछि विद्यार्थी शून्य भएका हुन् । विभागको कार्यालयमा न प्राध्यापक बस्छन् न त कर्मचारी नै  तर, उनीहरूका लागि वार्षिक करिब ५० लाख रुपिया खर्च हुने गरेको छ ।
सो केन्द्रीय विभागमा प्राध्यापक दुई, सहप्राध्यापक एक र उपप्राध्यापक दुईको नियुक्ति रहेको छ । एक सहायक प्रशासक र एक कार्यालय सहयोगी पनि छन् । शुक्रबार सौर्य संवाददाता कार्यालय पुग्दा प्राध्यापक तथा कर्मचारी कोही भेटिएनन् । कार्यालय सहयोगीसमेत त्यहा“ थिएनन् ।
थोरै विद्यार्थी संख्या भएको दुई तीनवटा केन्द्रीय विभागको आर्थिक कारोबार एकैठाउबाट हुने गरेको छ । संस्कृत विभागको पनि लेखापालको जिम्मेवारी सम्हालेकी सिर्जना सिंहले यो वर्ष विद्यार्थी नै नभएपछि प्राध्यापक तथा कर्मचारीले हाजिर गरेर हिड्ने गरेको बताइन् । ‘संस्कृतका शिक्षक हाजिर गर्नचाहि आउनुहुन्छ,’ लेखापाल सिंहले भनिन्, ‘आन्तरिक आम्दानी छैन, केन्द्रबाट निकासा आएपछि मात्र तलब खानुहुन्छ ।’
विद्यार्थीविनाको केन्द्रीय विभागमा प्राध्यापक भर्ना भने रोकिएको छैन । विभागीय प्रमुख रामचन्द्र झाले अवकाश पाएपछि हालै मात्र प्राध्यापक शशिनाथ ठाकुर विभागीय प्रमुखमा नियुक्त भएका छन् । सो विभागमा सहप्राध्यापक नारायणप्रसाद गौतम तथा उपप्राध्यापक जनार्दन घिमिरे र माधवप्रसाद उपाध्यायको नियुक्ति छ । सहायक प्रशासक दुर्गा शर्मा र कार्यालय सहयोगी ईश्वरी अधिकारी छन् ।
उपप्राध्यापक घिमिरेले भने विद्यार्थी शून्य नभएको दाबी गरे । ‘विद्यार्थी संख्या न्यून छ, तर हुदै नभएको होइन,’ उनले भने, ‘यो संस्कृतको मात्र नभएर मानविकी संकायका थुप्रै विषयको समस्या हो ।’
त्रिविमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएका केन्द्रीय विभाग अरू पनि छन् । कम विद्यार्थी भएका विभागलाई गाभेर खर्च कम गर्न सकिने भए पनि त्रिविले यसमा ध्यान नदिएको कर्मचारीको गुनासो छ । इतिहास केन्द्रीय विभागमा विद्यार्थीभन्दा प्राध्यापकको संख्या धेरै छ । सो विभागमा १३ प्राध्यापक छन् भने प्रथम र दोस्रो वर्षमा पा“च विद्यार्थी रहेका छन् । विभागमा तीन कर्मचारी कार्यरत छन् ।
आधा दर्जनजति केन्द्रीय विभागमा विद्यार्थी संख्या न्यून छ । हिन्दी, भाषाविज्ञान, बुद्धिस्ट, साइकोलोजीलगायत केन्द्रीय विभागमा विद्यार्थी संख्या थोरै छ । यस्ता केन्द्रीय विभाग त्रिविलाई भार मात्र भएका छन् । त्रिवि मानविकी संकायका डिन प्रा.डा. नवराज कडेलले स्नातकोत्तर तहमा एउटा विषयमा विभाग स्थापना गरेपछि बन्द गर्न अप्ठ्यारो रहेको बताए । ‘विद्यार्थी नै नभएको विभाग बन्द गर्ने हो भने किन बन्द गरेको भनेर राजनीति हुन्छ,’ डिन प्रा.डा. कडेलले भने, ‘एमए लेभलमा संस्कृतको प्राध्यापकलाई मर्ज गरेर अंग्रेजी पढाऊ भन्न मिल्दैन ।’ त्रिविमा संस्कृत, हिन्दी, कल्चरलगायत केही विषयमा धेरै समस्या रहेको उनले बताए ।

प्रतिक्रिया